हालको सरकारप्रति जनता सन्तुष्ट छैनन् : डा.संग्रौला

बुटबल, ९ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.डिला संग्रौलाले वर्तमान सरकार सञ्चालनले जनता सन्तुष्ट नभएको टिप्पणी गर्नुभएको छ ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटबलमा आयोजना गरेको साक्षात्कारमा नेतृ संग्रौलाले जुन उद्देश्यका साथ सरकार गठन भएको हो, त्यो उद्देश्य पूरा गर्न सफल नभएको जिकिर गर्नुभयो । तत्काल संविधान संशोधनको प्रक्रिया अगाडि बढाउनुपर्ने कुरामा नेतृ संग्रौलाको जोड थियो ।

कांग्रेसले सञ्चालन गरेको १०० दिने अभियानको क्रममा जनतासँग पुग्दा जनताले विकासको अनुभूति नगरेको, सरकार सञ्चालनमा भएकाहरु अल्मलिएको बताउनुभयो । कांग्रेसले सञ्चालन गरेको अभियान संगठनलाई मजबुद बनाउन, जनतासँग नेताहरु पुगी समस्या पहिलाउन र समाधान गर्नका लागि देशभर प्रतिनिधि खटिई क्रियाशील वितरण पनि अगाडि बढाएको बताउनुभयो ।

क्रियाशील वितरणको काम सुरु भएसँगै महाधिवेशनको तयारी सुरु भएको बताउनुहुँदै समयमै कांग्रेसको महाधिवेशन हुने कुरामा विश्वस्त भएको बताउनुभयो । वर्तमान सत्ता गठबन्धन सत्ताका लागि मात्र होइन, अस्थिरता अन्त्यसँगै संविधान संशोधनकै लागि कांग्रेस–एमाले एक ठाउँमा सत्ता सहकार्य गर्न पुगेको संग्रौलाले बताउनुभयो ।

पूर्वसांसद समेत रहनुभएकी नेतृ संग्रौलाले कांग्रेसको आगामी निर्वाचनमा पार्टीको नेतृत्व गर्नका लागि उत्तराधिकारी कसैको कोही नहुने बताउनुहुँदै भिजन र मिसन भएको व्यक्तीले पार्टीको नेतृत्व गर्ने बताउनुभयो ।

यो सरकार २०८४ सालसम्म नै एमालेसँगको सहकार्यमा सञ्चालन हुने भएकाले सहमतिअनुसार नै चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने बताउनुहुँदै माओवादीले जनतालाई पटक–पटक धोका दिएकाले माओवादीसँग सहकार्य नहुने स्पष्ट पार्नुभयो ।

संविधान संशोधनमा महिलाको अधिकार प्राप्तिका लागि प्रत्यक्षतर्फ ४० प्रतिशत उम्मेदवार बन्न पाउनेगरी र महिलाको अधिकारका लागि लडिरहने बताउनुभएकी संग्रौलाले कांग्रेसको पदाधिकारीमा पनि ३३ प्रतिशत महिलाले नेतृत्व गर्न पाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रम रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ लु्म्बिनी प्रदेश उपाध्यक्ष मिना ढकाललाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *