काठमाडौँ, २४ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियालाई माओवादीलाई सिध्याउने हतियार बनाइएको बताउनुभएको छ ।
बुधबार ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिक सार्वजनिकीकरणको सवाल’ कार्यक्रममा बोल्नुहुँदै उहाँले राजनीतिक कारणले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन कठिन भएको भन्दै नेकपा (एमाले)ले टुंगिन लागेका बेला गएर रोक्ने गरेको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो, ‘टुंग्याउन कठिन भएको राजनीतिक कारणले नै हो । त्यहाँ कन्फ्युजन हुनुपर्ने कुरा केही पनि छैन । एउटा प्रवृत्ति नहोस् भन्ने नै छ । अझ गम्भीर प्रवृत्ति के छ भने माओवादीलाई तह लगाउने अन्तिम यहीँ छ किन टुङ्ग्याउनु माओवादी सिध्याएर मात्रै अनि के गर्नुपर्छ गरौँला भन्ने राजनीतिक सोच र प्रवृत्तिका मान्छे पनि छन् । यो कुरा आवेग पनि होइन, सेन्टिमेन्ट पनि होइन एउटा राजनीतिक नेतृत्व र प्रवृत्ति त्यस्तो छ । टुंगिन लागेका बेला गएर रोक्छ त्यसले । माओवादीलाई तह लगाउने सिध्याउने अन्तिम हतियार यही नै हो टुङ्ग्याउन हुन्न भन्ने सोच भएको प्रवृत्ति छ ।’
त्यस्तै, पीडितहरु एकतावद्ध भएर राज्यलाई र राजनीतिक नेतृत्वलाई अब त नसोचे बर्बाद हुने भयो भन्ने ठाउँमा नपुर्याएसम्म अर्को १८ वर्षसम्म शान्ति प्रक्रिया टुंगो नलाग्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘यसको समाधान पीडितहरुले बेलाबेलामा यो कुरा उठाइराख्नु, जरुरी पर्दा सडकमा पनि जाने तयारी गर्नु किनकी अन्तिममा सडक नै हुने हो कि जस्तो मलाई लागेको छ । यो विषय कानुनी भन्दा पनि बढी राजनैतिक नै छ । पीडितहरु एकतावद्ध भएर राज्यलाई र राजनीतिक नेतृत्वलाई अब त नसोचे बर्बाद हुने भयो भन्ने ठाउँमा नपुर्याएसम्म यो अर्को १८ वर्ष जान नि बेर छैन ।’