आर्थिक विकासका लागि कानुन संशोधन गरेका छौँ : गृहमन्त्री लेखक

काठमाडौँ, २८ पुस । गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक विकासका लागि सरकारले अध्यादेशमार्फत् केही कानुन संशोसन गरेको बताउनुभएको छ ।

शनिबार नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २५औँ वार्षिक साधारण सभालाई सम्बाधन गर्नुहुँदै मन्त्री लेखकले सरकारले बढी मूल्य परे पनि स्वदेशी उत्पादन प्रयोग गर्ने नीति लिएको बताउँदै मुलुकमा उद्योगको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हिजो रात्री अबेरसम्म बसेर सरकारले महत्त्वपूर्ण निर्णयहरु गरेको छ । समृद्धि र आर्थिक विकासका लागि केही महत्वपूर्ण कानुनहरुलाई संशोधन गरेका छौँ ।’

चाँडोभन्दा चाँडो कानुन संशोधनका लागि अध्यादेशमार्फत् संशोधन गर्ने सरकारले निर्णय लिएको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘शासकीय सुधारसँग सम्बन्धित कानुनहरु, उद्योग व्यवसाय सहज सञ्चालन हुने कानुनहरु र सुशासनलाई प्रत्याभुत गर्ने कानुनहरु छन् । थप पनि उद्योगहरुको वातावरण निर्माणका लागि सरकारले हमेसा निजी क्षेत्रसँग मिलेर काम गर्न तयार छ ।’

उहाँले मुलुकमा लगानीको वातावरण बनाउन गैरआवासिय नेपालीका निमित्त महत्त्वपूर्ण निर्णय गरेको समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आइटीको क्षेत्रमा विदेशमा समेत सेवा निर्यात गर्न सक्ने व्यवस्था गरेका छौँ । विदेशमा सेवा गरेर उद्योगलाई प्रोत्साहित हुने गरी कानुन निर्माणमा सरकार लागेको छ ।’

यसको साथै, उहाँले कानुन बन्ने तर कार्यान्वयन नहुने समस्यालाई सरकारले सचेततापूर्वक निर्णय गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सात दिनभित्र निर्णय गर्ने निर्णय नभए कारबाही हुने व्यवस्था गरेका छौँ । सात दिनभित्र हुने भए हुन्छ नहुने भए हुँदैन भन्ने निर्णय गरिसक्नुपर्ने कानुन बनाएका छौँ ।’

उहाँले सरकारले आर्थिक समृद्धिको बाटोमा देशलाई लैजान कानुन निमार्ण गरेर कार्यान्वयन गर्ने कुरामा सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अब आइटी कम्पनीहरुले विदेशमा लगानी गर्न, विदेशमा शाखा कार्यालय खोलेर पैसा कमाउन र त्यसरी कमाएको पैसा कानुनी रुपमा भित्र्याउन सहज हुने कानुन निमार्ण गरेका छौँ । ढुक्क भएर तपाईहरु लगानी गर्नुहोस् सुरक्षा दिने कुरामा सरकार प्रतिवद्ध छ ।’

उहाँले सरकारले निजी क्षेत्रसँग सरकार्य गर्न सधैँ तयार रहेको बताउँदै ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *