साधारण भाषामा भन्ने हो भने एन्जाइटी भनेको डर हो । भविष्यमा केही होला कि भन्ने डर लागिरहनु नै एन्जाइटी हो । एन्जाइटी सबैमा हुन्छ तर लक्षण धेरै छैन भने समय क्रमसँगै बिस्तारै निको हुँदै जान्छ । तर दैनिक जीवन र काम गर्ने क्षमतामा नै प्रभाव पार्छ भने समस्या भएको बुझ्नुपर्छ ।
एन्जाइटी एक मानसिक समस्या हो । साइकोसिस र न्युरोसिस्ट गरी यो दुई प्रकारको हुन्छ । मलाई रोग लागेको छ भन्ने जानकारी बिरामीलाई छैन भने साइकोसिस र छ भने न्युरोसिस्ट भनिन्छ ।
एन्जाइटीका संकेत
बिना कारण आत्तिने : एन्जाइटी भएका व्यक्ति बिना कारण सानो कुरालाई लिएर धेरै नकारात्मक कुरा सोचेर आत्तिने गर्छन् । डरलाग्दा कुनै घटना वा वस्तु नभए पनि घर बसेकै बेला डराउँछन् ।
हृदयघातको जोखिम : एन्जाइटीको समस्या भएका व्यक्तिको मुटुको धड्कन र श्वासप्रश्वास तीव्र हुन्छ । यस्ता व्यक्तिलाई हृदयघात समेत हुन सक्छ । मुटुको समस्या छ भने डरले मनमा घर बनाएको हुन्छ । छाती भारी भएको जस्तो हुन्छ ।
निद्रा नलाग्नु : एन्जाइटी भएमा कुनै आवाजले पनि छिनछिनमै ब्युँझिने हुन्छ । खलखल पसिना आउँछ ।
मुख सुक्नु : एन्जाइटी भएमा डरले मुख सुख्खा हुने समस्या हुन्छ । छटपट छटपट भइराख्नु एन्जाइटीका संकेत हुन् ।
आत्मविश्वासको कमी : जुनसुकै कुरालाई नकारात्मक रुपमा सोच्नु एन्जाइटीको लक्षण हो । जे पनि मैले गर्न सक्दिन, म खस्छु, मर्छु भन्ने सोच मनमा आउँछ भने एन्जाइटी भएको बुझ्नुपर्छ । साथै टाउको दुख्नु, कमजोरी महसुस हुनु, चक्कर लाग्नु, हातखुट्टा काँप्नु पनि यसकै संकेत हो ।
कसलाई हुन सक्छ एन्जाइटी ?
एन्जाइटी जसलाई पनि हुन सक्छ । त्यसमध्ये पनि सानो सानो कुरामा डराउने, मदिरा, चुरोट धेरै खाने, राति अनिंदो बस्ने, एक्कासि आर्थिक अवस्था र पारिवारिक सम्बन्ध बिग्रिएका व्यक्तिमा एन्जाइटी हुने सम्भावना धेरै हुन्छ । कतिपयलाई वंशाणुगत कारणले पनि एन्जाइटीको समस्या हुन सक्छ ।
उपचार के छ ?
एन्जाइटीले दैनिक काममा प्रभाव पारेमा, परिवार नातागोताको सम्बन्धमा समस्या उत्पन्न गरेमा, डरलाई नियन्त्रण गर्न नसकेमा, डर सँगसँगै मानसिक समस्या पनि थपिएमा चिकित्सकलाई देखाउनुपर्छ ।
एन्जाइटी व्यायाम र औषधिबाट पनि निको पार्न सकिन्छ । धेरै एन्जाइटी भएमा उनीहरुले मनोपरामर्शदातालाई जाँच गराएर नियमित परामर्शअनुसार औषधि खानुपर्छ । सामान्यतया ६ देखि ९ महिना औषधि खानुपर्ने हुन्छ । औषधि खाइसकेपछि बीचमा निको भइसक्यो भनेर चिकित्सकको परामर्श बिना छाड्नु हुँदैन, पूरै मात्रा खानुपर्ने हुन्छ ।
साथै यसलाई मनोपरामर्शदाताले मनोवैज्ञानिक थेरापीको माध्यमबाट उपचार गर्छन् । यसमा मानिसको व्यवहारको अध्ययन गरिन्छ । उसले के सोच्छ, कस्तो व्यवहार गर्छ ? त्यो अवलोकन गरेर आवश्यक परामर्श दिइन्छ । बिरामीलाई प्रोत्साहित गर्न मद्दत पुर्याउँछ ।
एन्जाइटीको मात्रा केही कम भइसकेपछि विस्तारै योग, ध्यान तथा प्राणायामलाई नियमित गर्नु लाभदायक हुन्छ । यसले सकारात्मक सोचको क्षमता विकास गर्छ ।
एन्जाइटी हुनबाट बच्न सन्तुलित भोजन खानुपर्छ । रक्सी, चुरोट, सुर्ती तथा अन्य लागुपदार्थबाट टाढा रहनुपर्छ । दैनिक व्यायाम गर्ने र सकारात्मक सोच राख्ने गर्नुपर्छ ।