हप्तामा ३० मिनेट भन्दा बढी मोबाइलमा कुरा गर्नेलाई उच्च रक्तचापको जोखिम !

कुनै व्यक्तिले प्रति हप्ता ३० मिनेट वा सोभन्दा बढी समय मोबाइल फोनमा कुरा गर्दा उच्च रक्तचाप हुने जोखिम १२ प्रतिशतले बढ्ने पाइएको छ । युके बायोबैङ्कको डेटा प्रयोग गरी मोबाइल फोनमा कुरा गर्ने र उच्च रक्तचाप सुरु हुने बीचको सम्बन्ध अध्ययन गर्दा सो कुरा पत्ता लागेको हो ।

युरोपियन हार्ट जर्नल, डिजिटल हेल्थमा प्रकाशित गरिएको रिपोर्टका अनुसार उच्च रक्तचाप नभएका ३७ देखि ७३ वर्षका कुल २ लाख १२ हजार ४६ जनालाई अध्ययनका लागि सामेल गराइएको थियो ।

उनीहरूलाई मोबाइल फोनमा कुरा गर्न थालेको कति वर्ष भयो, प्रति हप्ता कति घण्टा कुरा गर्छन्, कुरा गर्न ह्यान्ड्स-फ्रीमा वा इयरफोन प्रयोग गर्छन् जस्ता कुरा सोधिएको थियो । एक दशक बढी समय लगाएर गरिएको सो अध्ययनमा उनीहरूलाई १२ वर्षसम्म फलोअपमा गर्दा १३,९८४ सहभागी (७ प्रतिशत) उच्च रक्तचापको विरामी भएका थिए ।

हप्तामा एक पटक मात्र फोनमा कुरा गर्नेलाई, नगर्नेको तुलनामा उच्च रक्तचापको ७ प्रतिशत सम्भावना हुने अध्ययनले देखाएको छ । त्यस्तै हप्तामा ३० मिनेट वा सोभन्दा बढी मोबाइल फोनमा कुरा गर्नेलाई त्यसो नगर्नेको तुलनामा उच्च रक्तचापको सम्भावना १२ प्रतिशत बढी हुने रिपोर्टमा उल्लेख छ ।

त्यस्तै प्रति हप्ता ३० देखि ५९ मिनेट, १ देखि ३ घण्टा, ४ देखि ६ घण्टा र ६ घण्टा भन्दा बढी समय मोबाइल फोनमा कुरा गर्नेलाई क्रमशः ८ प्रतिशत, १३ प्रतिशत, १६ प्रतिशत र २५ प्रतिशत उच्च रक्तचापको जोखिम हुने देखिएको छ ।

यो सँगै अध्ययनले मोबाइल फोनमा कुरा गर्ने समय मुटु रोगसँग समेत जोडिने फेला पारेको छ । जति धेरै फोनमा कुरा गर्यो, त्यति नै धेरै मुटु सम्बन्धी रोग लाग्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

यद्यपि कति वर्षबाट फोनमा बोल्न सुरु गरेको, ह्यान्ड्स-फ्री वा स्पिकरफोन जस्ता कुराले भने उच्च रक्तचापको सम्भावनामा फरक नपार्ने देखाएको छ । यससँगै यो अध्ययनमा संलग्न अध्ययनकर्ताहरूले उमेर, लिङ्ग, बडी मास इन्डेक्स (बीएमआई), उच्च रक्तचापको पारिवारिक इतिहास, शिक्षा, धुम्रपानको अवस्था, रक्तचाप, रगतमा ग्लुकोजको मात्रा, कोलेस्ट्रोल वा रगतमा ग्लुकोजको स्तर कम गर्न औषधिको प्रयोग, मृगौलाको अवस्था आदिसँग मोबाइल फोनको प्रयोगको पनि विश्लेषण गरेका थिए ।

मोबाइल फोनमा कुरा गर्दा रेडियो वेभ उत्पन्न हुनेगर्छ, जुन रक्तचाप बढाउनमा कारक हुने अध्ययनको निष्कर्ष छ । त्यस्तै यस बाहेक आनुवंशिक उक्त रक्तचाप जस्ता अन्य कुराले समेत फरक पार्ने अध्ययनमा लेखिएको छ । हाल विश्वभर ३० देखि ७९ वर्ष उमेरका १.३ अर्ब जनसंख्यालाई उच्च रक्तचापको समस्या छ । यो हृदयघातको प्रमुख कारक पनि भएको अध्ययनले औंल्याएको छ ।

त्यस्तै विश्वको कुल जनसङ्ख्याको दुई तिहाइसँग मोबाइल फोन भएकाले उच्च रक्तचापको जोखिम कम गर्न यसमा कुरा गर्ने समयलाई विचार गर्नुपर्ने अध्ययनले सुझाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *