आरजुको नाम लिएको शर्माको अडियो मिल्यो, अब के हुन्छ ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु देउवा राणाको नाम लिइएको अडियो सन्देश शर्माको आवाजसँग मिलेको प्रहरीले जनाएको छ ।

प्रहरी महानिरीक्षकको सचिवालयको तर्फबाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुवेर कठायतले आइतबार राणालाई ‘उजुरी छानबिनको प्रगति जानकारी’ दिँदै सामाजिक सञ्जालमा सार्वजनिक अडियो शर्माको आवाजसँग मेल खाएको उल्लेख गरेका हुन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु भन्दै कराडौं असूली गरिएको प्रकरणको अनुसन्धान गरिरहेका बेला दुई महिना अघि कांग्रेस सांसद् आरजु राणा र मञ्जु खाँणको नाम जोडिएको अडियो सार्वजनिक भयो । त्यो अडियो सम्वादमा दाङका सन्देश शर्माले अर्का व्यक्तिसँग आरजुलाई साढे २ करोड र मञ्जुलाई ६ करोड रकम बुझाएको जिकिर गरेका थिए ।

प्रहरीका अनुसार पीडितहरुले डेढ वर्षअघि उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरमा जाहेरी दिँदा उपलब्ध गराएको ८ मिनेट २० सेकेण्डको अडियोमा आरजु र मञ्जु जोडिएको ‘क्लीप’ पनि बुझाएका थिए । चैत २०७९ मा आरोपितहरु पक्राउ गरेर अनुसन्धान थालेपछि एकाएक राणा र खाँणको नाम उल्लेख भएको अंश बाहिरियो ।

यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले छानबिन गर्न भन्दै प्रहरीको साइबर ब्यूरोमा निवेदन दिइन् । आफूलाई जोडेर फेक अडियो बदनियतपूर्ण ढंगबाट रेकर्ड गराइएको भन्दै उनले २७ वैशाखमा प्रहरीमा उजुरी दिएकी थिइन् । र, अडियोबारे ‘अत्याधुनिक प्रविधिको प्रयोग गरेर सत्यतथ्य व्यहोरा तत्काल सार्वजनिक गरेर दोषीमाथि कारबाही’ गर्न माग गरेकी थिइन् ।

त्यो अडियो शरणार्थी प्रकरणका आरोपी सन्देशको भएकोमा अनुसन्धान अधिकृतहरुमा कुनै शंका थिएन । तर पैसा लिएको वा गिरोहलाई प्रत्यक्ष सहयोग गर्ने गरी काम गरेको खुल्ने आधारहरु नभेटिएको भन्दै प्रहरीले बयान समेत लिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *