काठमाडौं । भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी बेटी हुन्’ भन्ने आशयको संवादलाई लिएर काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले महानगर क्षेत्रभित्र भारतीय फिल्मको प्रदर्शनमा रोक लगाए । उनको यो निर्णयलाई चुनौती दिंदै नेपाल चलचित्र संघ उच्च अदालत पाटन पुग्यो ।
अदालतले पनि अल्पकालीन अन्तरिम आदेश दिंदै भारतीय फिल्मको प्रदर्शन नरोक्न आदेश दियो । अदालतको फैसलाले बाटो खुला गरेपछि भारतीय फिल्मको प्रदर्शन अहिले भइरहेको छ । यस्तोमा मेयर शाहले भारतीय सञ्चारमाध्यम भाष्कर दैनिकलाई अन्तर्वार्ता दिंदै ‘आदिपुरुष’को विरोध भारतको विरोध नभएको टिप्पणी गरेका छन् ।
यस्तो छ बालेनसँग भाष्कर दैनिकको संवाद :
के कारणले हिन्दी फिल्मलाई प्रतिबन्ध लगाउनुपर्यो ? तपाईं मेयर हुनुहुन्छ, तपाईंसँग त त्यो गर्ने पावर पनि छैन होइन ?
मलाई त यो प्रश्न ठीक लागिरहेको छैन । म कसरी मेरो अधिकार क्षेत्र बाहिर गएँ, तपाईं पहिले मलाई भन्नुहोस् ।
नेपालको संविधान बमोजिम कुनै पनि फिल्मलाई प्रतिबन्ध लगाउने अधिकार स्थानीय निकायलाई नभएकोले यो प्रश्न उठेको हो । यसका लागि सेन्सर बोर्ड छ । किन प्रतिबन्ध लगाइयो ?
हामीले पूरै नेपालमा फिल्म रोकेका छैनौं । देशैभरि कुनै पनि फिल्म बन्द गर्न त सक्दैनौं, तर हाम्रो स्थानीय सरकारको मातहतमा आउने हलमा कस्तो फिल्म देखाउने, के देखाउने भन्ने कुरा हामी निर्णय गर्न सक्छौं ।
महानगरपालिकाको काम सहरको व्यवस्थापन हेर्ने र कर उठाउने हो । फिल्म प्रतिबन्ध लगाउने निर्णय किन गर्नुभयो ?
संविधानको धारा ४८ मा नागरिकका कर्तव्य उल्लेख छ । देशको पहिचान, स्वाधीनता र इतिहास जोगाउनु हरेक नागरिकको दायित्व हो, यो मेयरको मात्रै कर्तव्य होइन । आदिपुरुष रामायणमा आधारित आधिकारिक फिल्म हो । यो संसारभर चलिरहेको छ । यति ठूलो जनसंख्यालाई असर गर्ने फिल्ममा अर्को देशकी विभूति सीतालाई भारतकी भनिएको छ । यो नेपालको मात्रै विरोधको विषय होइन ।
यो फिल्म संसारमा जहाँ जहाँ चलिरहेको छ, प्रतिबन्ध लगाउनुपर्छ । नेपालमा त मेयरको हिसाबमा म बोल्दै छु । यसतर्फ हाम्रो सरकार, संस्कृति मन्त्रालय र सञ्चार मन्त्रालयले ध्यान दिनुपर्छ । नेपालमा मात्रै सेन्सर गर्नुको कुनै अर्थ छैन । यसले पटक्कै फरक पार्दैन ।
यसरी सोच्नुहोस्, बलिउड फिल्ममा पाकिस्तानमा गोली मात्र चल्छ, बम मात्रै विस्फोट हुन्छ । त्यो देखेर श्रीलंका र नेपालका नागरिक पाकिस्तान जान डराउँछन् । पाकिस्तानमा आतंकवादी मात्रै बस्छन् भन्ने मानिसलाई लाग्छ । फिल्मले मात्र यस्ता तस्वीर बनाउँछ ।
फिल्म यति शक्तिशाली हुन्छ कि यसले मानिसको सोच परिवर्तन गर्न सक्छ । यदि कुनै फिल्मले सीतालाई भारतीय भनेर वर्णन गर्छ भने मानिसले यसलाई सामान्य रूपमा लिन थाल्छन् । नेपाली नागरिकका अनुसार यसको विरोध गर्नुपर्छ । नेपालमा यसको विरोध किन भइरहेको छ भने नेपालमा भारतको व्यापार छ । यो सही होइन भन्न सक्ने क्षमता यहाँका नागरिकमा हुनुपर्छ । हामीले भारतको हितको लागि आफ्नो स्वतन्त्रता त्याग्नुपर्छ, यो हुनेछैन । भारतमा पनि सेन्सर बोर्ड छ । उसले पनि यस्ता कुरा बन्द गर्नुपर्छ ।
भारत सरकारले यसलाई रोक्दैन । त्यसैले हामीले यस्ता कुराहरू बन्द गर्नुपर्छ । व्यापार आफ्नो ठाउँमा छ, तर त्यसका कारण हामीले नेपालको स्वतन्त्रतामा सम्झौता गर्न सक्दैनौं । यसअघि पनि यस्तो भएको थियो । चाँदनी चोक टु चाइना फिल्ममा बुद्धका बारेमा गलत कुराहरु भनिएको थियो । अनिल कपुरको फिल्म घरवाली बहारवाली थियो । त्यसमा पनि गलत देखियो । त्यसपछि पनि चलचित्र प्रतिबन्धित भएको थियो । भारत सरकारले आफ्नो सेन्सर बोर्डलाई यस्तो गल्ती गरे दुई देशबीचको व्यापार र सम्बन्ध बिग्रन सक्छ भन्ने कुरा बुझाउनुपर्छ ।
जुन संवादका कारण तपाईंले आदिपुरुषलाई प्रतिबन्ध लगाउनुभयो, त्यो फिल्ममा छैन । यसलाई नेपाल सेन्सर बोर्डले हटाएको छ । यस्तो प्रतिबन्ध किन चाहियो ?
नेपालमा फिल्म हेर्नेले संवाद हेर्न पाएनन् । यसलाई सेन्सर बोर्डले काटेको थियो । भारतको मूलप्रति यहाँ कसैले देखेका छैनन् । यो कुरा भारतीय पक्षबाट कसैले उठाएनन् । नेपाली जनताले संवाद पनि सुनेका छैनन्, त्यसो भए कसरी भन्ने ?
तपाईं लगातार भारत विरोधी भनाइहरु दिइरहनुभएको छ, त्यसलाई सच्याउनुपर्छ जस्तो लाग्छ ?
होइन, मलाई त्यस्तो लाग्दैन । आदिपुरुषका लेखक मनोज मुन्तशिरले पनि माफी मागेनन् ।
एक पटक ऋतिक रोशनको बयानलाई लिएर काठमाडौंमा हिंसा भयो । केहीले ज्यान गुमाए । पछि थाहा भयो कि ऋतिक रोशनले त्यस्तो कुनै बयान दिएका छैनन् । यस्ता विषयमा बोल्दा संवेदनशील हुनुपर्छ जस्तो लाग्दैन ?
मैले निराधार कुरा गर्थें भने सोच्नुपर्ने जरुरी थियो । फिल्मका लेखकले नै यो कुरालाई पुष्टि गरेका छन् । यदि त्यो दृश्यमा यस्तो केही थिएन भने सेन्सर बोर्डले किन काट्यो ? यस्तो अवस्थामा मेरो भनाइको आधार छ । यसो भन्नुको अर्थ भारत विरोधी हुनु होइन । यो भारतीय जनताको विरुद्धमा हुनु पनि होइन । यसलाई ऋतिक रोशनको मामलासँग जोड्न सकिंदैन किनभने त्यसबेला हामी पूरै भारतको विरुद्धमा थियौं ।
पाटन उच्च अदालतले भारतीय फिल्ममाथिको प्रतिबन्ध फुकुवा गर्न आदेश दिएपछि तपाईंले न्यायपालिका र नेपाल सरकार भारतको गुलाम भएको लेख्नुभयो । के तपाईं आफूलाई उनीहरुभन्दा माथि ठान्नुहुन्छ ?
म आफूलाई त्यो तहको राजनीतिज्ञ होइन, नागरिक मान्छु ।
कुनै नागरिकले यसरी अदालतलाई चुनौती दिन सक्छ ?
मैले चुनौती दिएको छैन । सजाय भोग्न तयार छु भनेर मैले भनेको छु । यसको मतलब म अदालतमा विश्वास गर्दिन भन्ने होइन । जब देश, स्वतन्त्रता र इतिहासको कुरा आउँछ, म सहमत छैन ।
नेपाल–भारत सम्बन्धको बारेमा तपाईंलाई के लाग्छ ?
म पनि नेपाल र भारतबीच राम्रो सम्बन्ध चाहन्छु । नेपालमा पर्यटनको प्रशस्त सम्भावना छ । यहाँ भारत र चीनका पर्यटक आए भने पुग्छ । त्यसो हुँदा युरोपबाट पर्यटक नआए पनि खास फरक पर्दैन । त्यसैले सांस्कृतिक-धार्मिक र पर्यटनका हिसाबले सुमधुर सम्बन्ध आवश्यक छ ।
भारतीय संसदमा नक्साको जवाफमा तपाईंले आफ्नो कार्यालयमा ग्रेटर नेपालको नक्सा राख्नुभयो । भारतले केही गरेपछि तुरुन्तै किन प्रतिक्रिया दिनुहुन्छ ?
भारतले संसदमा राखेको नक्सालाई सांस्कृतिक नक्सा भन्यो । हामीले बृहत्तर नेपालको नक्सालाई पनि ऐतिहासिक राखेका छौं ।
काठमाडौंमा हिन्दी फिल्म प्रतिबन्धित भए । नेपालमा हिन्दी फिल्मको व्यवसाय गर्नेलाई प्रतिबन्ध फिर्ता लिने आश्वासन दिनुहुन्छ ?
अदालतले प्रतिबन्ध हटाएको छ । म भन्न चाहन्छु कि नेपाल सरकारले भारत सरकार र यसको सेन्सर बोर्डलाई कुनै पनि देशको इतिहासलाई विकृत गर्न नदिन भन्नुपर्छ ।