धर्म के हो..?

धर्म भन्ने बित्तिकै सबैको मनमा झट्ट आउँछ हिन्दु, इसाई, बौद्ध, इस्लाम या अरू यस्तै केही । यी सबै धर्मको मर्मलाई पालना गराउनका निमित्त बनाइएका अथवा बनेका सम्प्रदाय मात्रै हुन भन्ने मेरो बुझाई हो ।

धर्म कुन हो भन्ने सुन्ने बित्तिकै मान्छेको सोझो प्रतिक्रिया हुन्छ म हिन्दु हु । म बौध्दिष्ट हु । म इसाई हुँ या यस्तै केही, तर मेरो अन्तस्करणले भन्छ धर्म भनेको मान्छे जन्मी सकेपछि अपनाउने स्वभाबिक गुण हो जुन गुणले मान्छेलाई पहिचान समेत दिलाउने गर्छ । राम्रो गुण र असल चरित्र हुने मान्छेहरू धार्मिक हुन् । त्यस्तै समाजको नजरमा अनैतिक काम गर्ने मान्छे अरूको कुभलो चिताउने मान्छे अधर्मी हुन् यो मेरो बुझाई हो ।

हिन्दु धर्मको पालना गर्नेलाई हिन्दु भएकै कारण अवहेलना गर्नु वा अन्य कुनै धर्म मान्ने परिवारमा जन्मिएकै कारण मान्छेलाई हेय भावले हेर्नु चाही पाप हो । धर्म हुँदै हैन । जस्तो परिभेषमा मान्छे जन्मिन्छ त्यही परिभेषमा आएपछि मान्छे हिन्दु, बौध्दिष्ट, इसाई वा अरू कुनै धर्मलम्बि भएर चिनिन्छ । माता पिताले अङ्गाल्ने धर्म नै उसको पहिचान हो । जन्मजात पाएको पहिचानलाई पछि लोभ र प्रलोभमा परेर पहिचान फेर्न लग्नु मेरो बुझाइमा मति भ्रष्ट हुनु हो ।

धर्मको सीमा छैन । धर्म भनेको सकारात्मक भावना हो । धर्मको नाममा राजनीति गर्नु र धर्म परिवर्तनको पासो थापेर मान्छेको अस्तित्व समाप्त गर्न तर्फ लाग्नु अधर्मी पन हो । धर्म जन्मजात माता पिताको पासबाट आउने भएका कारण यसले मान्छेको पहिचान दिन्छ ।

धर्म परिवर्तन गरेर हुने चिज हैन । हिन्दु मान्छे इसाई बनेर अर्थात अन्य कुनै धर्मको मान्छे हिन्दु बन्दैमा आकाश नै खस्ने धनधान्यले पूर्ण हुने कदापि हुनै सक्दैन । धर्म परिवर्तन गराउँछु भन्दै हिँड्नु, धर्म परिवर्तन गरेर आफ्नू पहिचान र अस्तित्व मेटाउन लालायित बन्नु अधर्मीपनको पराकाष्ठा हो ।

धर्मको बारेमा व्याख्या गर्न सहज भने छैन, किनभने हिन्दु भएर तर्क गरियो भने इसाईहरू मान्न तयार हुँदैनन् त्यस्तै बौद्ध भएर व्याख्या गरियो भने इस्लामहरू मान्न तयार छैनन् । एकले अर्को धर्मको अस्तित्व स्वीकार गर्न असम्भव प्राय बनाइएको छ । यस्तो कुनै एक निश्चित धर्मको नजरियाले धर्मलाई व्याख्या गरेर यो नै धर्मको व्याख्या ठिक हो भनेर भन्न हुँदैन भन्ने मेरो ठहर हो ।

अहिले धर्मलाई राजनीतिमा घुसाएर मैले मान्ने धर्म पो धर्म तैँले मान्ने धर्म त सैतान हो भन्ने दूषित मानसिकता बोकेका अधर्मीहरूले क्लेश फैलाउँदै छन् । मान्दै आएको धर्ममा विकृति छन् भने त्यसलाई सुधार्नु पर्छ । सुधार्न तर्फ लाग्नु सकारात्मक कुरा हो तर धर्मलाई परिवर्तन गरेर मात्रै सुध्रिन्छ भन्नु दूषित मानसिकताको उपज हो ।

धर्मलाई विभिन्न सम्प्रदाय सँग जोडेर व्याख्या गर्नाले धर्मको मर्मलाई गलत व्याख्या गरिएको जस्तो मलाई लाग्छ । जुन परिवेशमा मान्छे जन्मिन्छ जुन रहनसहनमा मान्छे हुर्किन्छ मान्छे त्यही अनुसारको संस्कारलाई अपनाउँछ । मैले मान्दै आएको धर्म सत्य हो तैँले मान्दै आएको धर्म सैतान धर्म हो भन्ने किसिमको व्याख्यानै गलत हो । सर्व धर्म सम भाव राख्नु पर्छ तर जसले जे मान्छ त्यसलाई लोभ र प्रलोभमा पारेर परिवर्तन गर्न खोज्नु अर्को अधर्मी कार्य हो।

धर्म भनेको यही हो भनेर ठ्याक्कै भन्ने धार्मिक गुरुहरू पनि छन् तर विभिन्न धर्म मान्नेहरूका आफ्ना-आफ्नै तर्क छन् । उनीहरूको तर्क र बुद्धिलाई गलत हो भन्ने विद्वानहरू पनि प्रशस्तै भेटिन्छन् ।

विभिन्न कालखण्डमा बहु जनले स्विकार्ने विभिन्न धर्मगुरु तथा विद्वानहरूले धर्मलाई व्याख्या गरेको पाइन्छ तर त्यो व्याख्यालाई पनि सही र सत्य यही हो भन्ने अवस्था छैन । तर समग्रमा सर्वमान्य विद्वान हरूले भनेका कुरालाई स्वीकार गर्नु र आफूले मान्दै आएको संस्कार र धार्मिक मान्यतालाई सही बाटोमा हिँडाउनु हाम्रो कर्म हो भन्ने मेरो निष्कर्ष हो ।

कुनै एउटा त्यस्तो शब्द खोज्ने हो, जुन जनबोलीमा अत्यन्तै प्रचलित छ भने, त्यो सायद धर्म भन्ने सब्द नै होला । दैनिक जीवनमा धर्मको प्रयोग धेरै हुने गर्छ । धार्मिक मान्छे बन्नलाई कुनै युनिभर्सिटीको प्रमाणपत्र पेस गरी रहन पर्दैन । धर्म भन्ने बित्तिकै असल काम अरूको भलाई हुने काम अथवा अरूको मन नदुखाउने कामनै धर्म हो र धार्मिक मान्छेहरू सबैका प्रिय हुन्छन् ।

नेपालमा बहुसङ्ख्यक हिन्दु धर्मालम्बिहरु छन् । हिन्दु धर्मका अनुसार मौरीले मह बनाउनु, गाईले दूध दिनु, नदिहरु बग्नु, सुर्यले ताप दिनुलाई धर्म भनिएको छ । यस अर्थ धर्म भनेको जन्मिएपछि जस्तो परिवारमा मान्छे जन्मन्छ उसले देख्ने परिभेष भित्रको स्वभाबिक आउने सकारात्मक गुण हो भनेर भन्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *