भारतले नेपाल जाने चामल नरोक्ने ‘मोदीको आश्वासन’

    भारतले बासमतीबाहेक अरू प्रकारका चामलको निर्यातमा रोक लगाए पनि नेपालको हकमा नरोकिने आश्वासन भारतबाट पाएको प्रधानमन्त्रीका सल्लाहकारहरूले बताएका छन्।

    शनिवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको टेलिफोन कुराकानीमा चामल निर्यातको प्रसङ्ग उठेको जानकारी प्रधानमन्त्री प्रचण्डका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले दिए।

    “उहाँहरूले हाम्रो आग्रहलाई सकारात्मक रूपमा लिन्छौँ भन्ने कुरा भएको छ। नेपालको सन्दर्भमा हामी खुकुलो हुन्छौँ भन्ने कुरा छ,” गजुरेलले बीबीसीलाई बताए।

    प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले पनि उक्त कुराकानीमा नेपालको हकमा चामल रोकिएको होइन भन्ने कुरा भएको पुष्टि गरे।

    तर सो टेलिफोन वार्ताको मुख्य विषय चाहिँ दुई महिनाअघि प्रधानमन्त्री प्रचण्डले गरेको भारत भ्रमणका बेला दुई प्रधानमन्त्रीबीच भएका सहमतिको अवस्थाबारे केन्द्रित भएको उनले बताए।
    टेलिफोन वार्ताबारे भारत सरकारले जारी गरेको छोटो विज्ञप्तिमा चामलको विषय उल्लेख छैन।

    त्यसमा दुई देशका सम्बन्धको समीक्षा गरिएको र मे ३१ देखि जुन ३ सम्म नेपालका प्रधानमन्त्री प्रचण्डले गरेको भारत भ्रमणका बेला गरिएका छलफललाई अघि बढाउन सो कुराकानी केन्द्रित भएको उल्लेख छ।

    उत्पादनमा नेपाल अझै पूर्ण आत्मनिर्भर हुन नसकेकाले नेपालमा आपूर्ति हुने चामलको उल्लेख्य भाग भारतबाट आउँछ

    आपूर्ति मन्त्रालयले पठायो चिठी

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतसँग नेपालमा चामलको निर्यात नरोक्न आग्रह गरिसकेको बताइएको छ।

    “हामीले परराष्ट्र मन्त्रालयमार्फत् भारतीय दूतावासलाई नेपालको हकमा १० लाख मेट्रिक टन धान, एक लाख मेट्रिक टन चामल र ५०,००० मेट्रिक टन चिनीको आपूर्ति गरिदिन लेखिपठाएका छौँ,” उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बीबीसीलाई जानकारी दिए।

    मन्त्री रिजालले यसबारे भारतीय राजदूतसँग भएका अनौपचारिक कुराकानीमा सकारात्मक उत्तर पाएको बताए।

    नेपालका व्यवसायीहरूको अनुरोधमा भारतबाट आपूर्तिमा धानलाई बढी प्राथमिकता दिइएको उनले बताए।

    “धान ल्याएमा यहाँ भुस तथा अन्य सामग्री उत्पादनमा समेत सघाउ पुग्ने भएकाले धानको परिमाण धेरै राखेका हौँ,” उनले भने।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *