झ्याप–झ्याप बत्ती जाने समस्याले कुलमानलाई पनि पिरल्यो, समाधान के ?

    नेपाल विद्युत प्राधिकरणको दोस्रो कार्यकालको दोस्रो वर्ष पूरा गरिरहँदा कुलमान घिसिङ थप तनावमा छन् । विद्युत व्यवस्थापनमा सफल देखिएका कुलमान पूर्वाधार निर्माण र दिगो विकासमा सफल हुन सकेका छैनन्, जसका कारण उनको प्रशस्त आलोचना हुने गरेको छ ।

    बिहीबार आफ्नो दोस्रो कार्यकालको दोस्रो वर्ष पूरा गरेको उपलक्ष्यमा उपलब्धि सुनाउन आयोजित पत्रकार सम्मेलनमै पटकपटक बिजुली गयो । प्राधिकरण प्रमुखका रुपमा उनको ६ वर्षको कार्यकालको एउटा महत्वपूर्ण उपलब्धि यो पनि हो । अर्थात् बिजुलीको लोड व्यवस्थापनमा कुलमानले जति दक्षता प्रदर्शन गरेका छन्, प्रसारण र वितरणका पूर्वाधार निर्माणमा त्यति नै असफल छन् । त्यही कारण बेला–बेलामा झ्याप–झ्याप बिजुली गइरहने समस्याले जनता चिढिई नै रहेका थिए । प्राधिकरणको मुख्यालयमै यसरी पटक-पटक लाइन काटिए पनि कुलमान स्वयम् ‘इरिटेटेड’ हुन पुगे ।

    कुलमानले सिस्टममा गडबडी आएका कारण यो समस्या दोहोरिएको बताए । त्यसो त यो समस्या जनताले लामो समयदेखि भोगिरहेकोमा उनी सचेत छन् । आफ्नो सम्बोधनका क्रममा घिसिङले भने, ‘समय समयमा विद्युत गएको भन्ने उपभोक्ताको गुनासोलाई सम्बोधन गर्ने प्रणालीका पूर्वाधार संरचनाहरु सुधार र सुदृढीकरण अगाडी बढाइएको छ ।’

    किन यसरी गइरहेको छ बिजुली ?

    वर्षायाममा धेरै ठाउँमा ठूलो वर्षात् हुँदा रुखहरूले प्रसारणलाइनमा छुने र त्यसले बिजुलीमा गडबढी हुने गरेको उनको स्पष्टोक्ति छ । खिम्ती–ढल्केबर प्रसारणलाइनमा रातको समयमा बाँसको झयाङ नै खसेर ठूलो विष्फोट भएको र पूरै सिस्टममा ठूलो समस्या आएको उनले जानकारी दिए । प्रसारणलाइन आसपासका सबै रुख काट्न सहमति नआउने हुनाले यो समस्या दोहोरिने उनले बताए ।

    अर्को समस्या सिस्टम भोल्टेज अकस्मात डाउन हुने समस्याले समेत यस्तो अवस्था आउने उनले बताए । उनका अनुसार यस्तो बेला सिस्टम स्वतः बन्द हुने हुन्छ । तराई क्षेत्रमा अति गर्मी हुने बेला धेरै मोटरहरु, धेरै उद्योगहरुमा माग बढी हुँदा भोल्टेज डाउन हुने समस्या रहेको उनले जानकारी दिए । ‘यसो हुँदा प्रणालीले धान्न सक्दैन र पुरै सिस्टम जान्छ,’ उनले भने ।

    अर्को कारण प्रणालीमा ट्रान्समिसन लाइनमा ‘बोटल नेक’ रहेको उनी बताउँछन् । मस्र्याङ्दीबाट भरतपुर जाने प्रसारणलाइन यस्तै बोटल नेकको समस्या रहेको उनले बताए । उनका अनुसार हेटौँडाबाट पथलैया जाने प्रसारण लाईनमा समेत यस्तै समस्या छ । यो बोटल नेकमा अलिकति पनि क्षमता भन्दा ओभरलोड हुँदा तत्काल सिस्टम बन्द हुने अवस्था रहेको बताए । ‘प्रसारणलाइनको ओभरलोडेडले समय यो समस्या आएको हो,’ उनले भने ।

    सबै ठूला परियोजना राष्ट्रिय ग्रिडमा जोडिएका हुन्छन् । त्यसबेला एउटा ठूलो परियोजनामा समस्या आयो भने त्यसले पुरै प्रणालीमा समस्या उत्पन्न हुने उनले बताए । ‘तत्काल समस्या समाधान गर्न सकिएन भने यसले पूरै प्रणालीमा प्रभाव पार्छ’, उनले भने । अहिले पूर्वको सिस्टममा भन्दा पश्चिम भेगको सिस्टममा धेरै समस्या रहेको उनको भनाइ छ । पश्चिम भेगमा काठमाडौं उपत्यकासमेत पर्छ ।

    सबस्टेसनको समस्याले समेत यसरी लाइन जाने उनले जानकारी दिए । अब निर्माणाधीन प्रसारणलाइनको काम सम्पन्न भएसँगै यो समस्याबाट मुक्ति मिल्ने उनको भनाइ छ । धेरै प्रसारणलाइन अहिले निर्माणको चरणमा रहेको उनले बताए । हेटौंडा–भरतपुर–बर्दघाटसम्मको २२० केभी प्रसारणलाइन निर्माणको अन्तिम चरणमा रहेको उनले बताए ।

    पूर्व–पश्चिम ४०० केभी प्रसारण लाइनहरु निर्माण सम्पन्न भएपछि भने प्रणालीमा हुने समस्याले बिजुली जाने समस्या धेरै नै समाधान हुने उनको भनाइ छ । प्रसारणलाइन, वितरण लाइनमा नेपालले ठूलो लगानी गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

    दीर्घकालीन समस्या समाधानमा के हुँदैछ ?

    नेपाल विद्युत प्राधिकरणले संघीय राजधानी काठमाडौंसहित देशका प्रमुख ११ शहरको सन् २०५० सम्ममा हुने विद्युत्को माग प्रक्षेपण गरी चरणबद्ध रुपमा ४००, २०० र १३२ केभीका प्रसारण लाइन तथा सबस्टेसनको निर्माण अगाडि बढाइएको कार्यकारी निर्देशक घिसिङले बताए । उनका अनुसार काठमाडौंमा मात्र ७० अर्ब रुपैयाँभन्दा माथि लगानी गर्ने योजना उनको भनाइ छ । यसका लागि गुरुयोजना बनिसकेको छ । विगत २ वर्षमा मात्र प्राधिकरणले आफ्नै स्रोतबाट ४८ अर्ब रुपैयाँ बराबरको रकम प्रसारण तथा वितरण प्रणाली बिस्तार र सुधारमा लगानी गरिएको घिसिङले जानकारी दिए ।

    पछिल्लो २ वर्षमा करिब ९ सय सर्किट किमि प्रसारण लाइन निर्माण सम्पन्न भएको र अब ९ हजार ३०० सर्किट किमि निर्माणाधीन अवस्थामा रहेको समेत प्राधिकरणले जनाएको छ । अहिले देशभर ५ हजार ७४२ सर्किट किमि प्रसारणलाइन र ८ हजार ८६७ एमभीए क्षमताका सबस्टेसन सञ्चालनमा छन् । देशभर २५ सय एमभीए क्षमताका १७ वटा सवस्टेशन निर्माण सम्पन्न भइसकेको र १० हजार ५ सय एमभीए क्षमताका ५४ वटा सबस्टेसन निर्माणाधीन रहेको उनको भनाइ छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *