गर्भनिरोधक साधन मानवको प्रजनन् क्षमतालाई नियन्त्रणमा राख्ने एक भरपर्दो साधन हो । यसको जानकारी पाठ्यपुस्तकमै समावेश गरिएको कारण युवामा यसबारे जानकारी छ । तर, विभिन्न तथ्यांक र खोजलाई हेर्ने हो भने धेरै मानिसले यसलाई गर्भ रोक्ने साधनको रुपमा मात्र बुझेका हुन्छन् । यसले कसरी काम गर्छ र शरीरमा केही हानि पुर्याउँछ कि पुर्याउँदैन भनेर बुझेकै हुँदैनन् । त्यसैले यसको प्रयोग अव्यवस्थित रुपमा गरिरहेका हुन्छन् । जसले गर्दा दीर्घकालीन समस्या वा बाँझोपनबाट ग्रसित हुन पुग्छन् ।
गर्भनिरोधक साधनका प्रकार
गर्भनिरोधक साधनको कामको हिसाबले यसलाई मुख्य तीन प्रकारमा बाँड्न सकिन्छ ।
१. स्थायी गर्भनिरोधक साधन : यसअन्तर्गत विभिन्न प्रकारका बन्ध्याकरण (भ्यासेक्टोमी, मिनी ल्याप, ल्याप्रोस्कोपी) गरिन्छ । यसमा पछि गर्भ बस्ने सम्भावना हुँदैन ।
२. अस्थायी गर्भनिरोधक साधन : यसअन्तर्गत कन्डम, मिश्रित चक्की (पिल्स), डिपोप्रोभेरा–तीनमहिने (सुई), नरप्लान्ट, पाठेघरमा राख्ने साधन (कपर–टी), आईयूडी, इम्प्लान्ट्स आदि पर्छन् । अस्थायी गर्भनिरोधक साधनले डिम्ब निष्कासनमा कमी ल्याएर वा महिलाको योनी रसलाई वीर्यका लागि प्रतिकूल पारेर वा भ्रूणलाई पाठेघरमा टाँसिन नदिएर गर्भ रोक्ने काम गर्छ । प्राकृतिक हर्मोनलाई औषधि वा सुईको माध्यमबाट प्रतिकूल बनाइराखिने भएकाले नै गर्भ बस्न नसक्ने हो । यसको असर अस्थायी साधनको प्रयोग गरिरहँदासम्म मात्र हुने भएका कारणले पनि डाक्टरहरु यसको नियमित प्रयोग गर्न सल्लाह दिन्छन् ।
अस्थायी गर्भनिरोधक साधनको प्रयोग छोड्नेबित्तिकै गर्भधारण हुनसक्छ र बाँझोपनसँग यसको कुनै सम्बन्ध हुँदैन । कतिपय अवस्थामा महिलाहरुले अस्थायी गर्भनिरोधक साधनको प्रयोग गर्न छोडेको केही महिनाभित्रै गर्भ बसेन भने चिन्तित हुन थालिहाल्छन् र बाँझो पो भइयो कि भन्ने चिन्ता लिन्छन् । तर, यो युक्तिसंगत होइन । अस्थायी गर्भनिरोधक साधन प्रयोग गर्न छोडेको एक वर्षभित्र नै सम्पूर्ण कुरा सामान्य भइसकेको हुन्छ । त्यसपछि यसको असर रहँदैन ।
बरु, सबैले के बुझ्नु जरुरी छ भने बढ्दो उमेर र तनावले पनि गर्भ बस्न गाह्रो हुने गर्छ । त्यसैले सन्तान प्राप्तिको इच्छा भए २२–३५ वर्षभित्रै सन्तान प्राप्त गर्नु उचित हुन्छ । केही कारणवश ३५ वर्षपश्चात सन्तान प्राप्त गर्ने इच्छा भएमा डिम्ब (महिलाको अन्डा) वा भ्रूणलाई फ्रिजिङ गरेर राख्न सकिन्छ र पछि सजिलै गर्भधारण गर्न सकिन्छ ।
कतिपय मानिस अस्थायी गर्भनिरोधक साधनले पाठेघरलाई कमजोर बनाउँछ भन्ने गर्छन् । तर, यसको पुष्टि नभएको कारण यसमा विश्वास नगर्नु नै उचित हुन्छ ।
३. आकस्मिक गर्भनिरोधक साधन : आकस्मिक गर्भनिरोधक साधन असुरक्षित यौनसम्पर्कबाट गर्भ बस्न नदिन महिलाले खाने चक्की हो । यसअन्तर्गत अनवान्टेड ७२, आइपील, ई–७२ म्याक्स, इकोन, ओके, एमटीपी प्रिग्नो, एमटी पिल्सजस्ता विभिन्न प्रकारका चक्की पर्छन् । यसको सेवन असुरक्षित यौनसम्बन्धको ७२ घण्टाभित्र गरिसक्नुपर्ने भएकाले यसलाई ७२ घण्टे चक्की पनि भनिन्छ ।
आकस्मिक गर्भनिरोधक चक्कीमा लिभोनोरजेस्ट्रेल वा युलिप्रिस्टल एसिटेट नामक एउटा हर्मोन हुन्छ । जसले गर्भ बस्न आवश्यक हर्मोनलाई नष्ट गरिदिन्छ र गर्भ बस्न दिँदैन । यो हर्मोनले पुरुष हर्मोन र महिला हर्मोनको बीचमा द्वन्द्व गराएर गर्भ बस्न दिँदैन । जसकारण अनिच्छामा गर्भ बस्न सक्दैन भन्ने मान्यता हो । यो हर्मोनले महिलाको डिम्बाशयबाट निस्कने डिम्बलाई रोक्ने, यदि डिम्ब निस्किसकेको छ भने शुक्रकीटसँग सेचन भई भ्रूण बन्न नदिने र यदि भ्रूणसमेत बनिसकेको छ भने पाठेघरमा टाँसिन दिँदैन । यस साधनको प्रयोगले शतप्रतिशत गर्भ रहँदैन भन्नेचाहिँ हुँदैन । यसको प्रयोग उचित तरिकाले गरे यसको प्रभाव राम्रै हुन्छ । अन्यथा, विभिन्न समस्या र बाँझोपनसमेत हुनसक्छ ।
आकस्मिक घटनामा एक–दुईपटक प्रयोग गर्नाले यसले खासै फरक पार्दैन । यसको प्रयोगले वाकवाकी लाग्ने, बान्ता हुने, रिंगटा लाग्ने, टाउको दुख्ने, थकान महसुस हुने, स्तन भारी महसुस हुने भए पनि केही समयमा आफैँ हराएर जान्छ । धेरैपटक वा अव्यवस्थित प्रयोगले भने निम्न समस्याहरु आउन सक्छन् ।
छोटो अन्तरालमा अर्थात् धेरैपटक आकस्मिक गर्भनिरोधक साधनको प्रयोग गरेमा महिनावारी गडबड हुनसक्छ । त्यस्तै, कतिपयमा महिनावारीको समयमा धेरै रगत बग्ने, पेट दुख्ने र समयमा महिनावारी नहुने समस्या देखिन सक्छ । विस्तारै महिलाको प्रजनन् स्वास्थ्यमा पनि विभिन्न नकारात्मक असर देखिन सक्छ ।
आकस्मिक गर्भनिरोधक साधनको प्रयोग नियमित गर्ने महिलामा पछि गएर चाहेको बेलामा गर्भ नरहन सक्छ । कतिपयमा बाँझोपनको समस्यासमेत देखिन्छ ।
आकस्मिक गर्भनिरोधक साधन धेरै प्रयोग गरे हर्मोन असन्तुलित भई मुड परिवर्तन भइरहने, तौल बढ्ने, टाउको दुखाइ वा माइग्रेनको समस्या हुनेजस्ता समस्या देखिन सक्छ ।
कार्डियोभास्कुलर समस्या जस्तै, हृदयाघात, स्ट्रोक, रगत जम्नेलगायत दीर्घकालीन समस्या देखिन सक्छ ।
विभिन्न अध्ययनानुसार आकस्मिक गर्भनिरोधक साधनले एस्ट्रोजोन हर्मोनमा गडबडी ल्याइदिन्छ । जसले गर्दा शरीरमा क्यान्सरका कोष वृद्धि हुने जोखिम बढ्छ । भविष्यमा स्तन क्यान्सर, ओभरियन क्यान्सरजस्ता जटिल समस्या देखिन सक्छ ।
गर्भ रोक्नका लागि आकस्मिक गर्भनिरोधक साधनको प्रयोग गर्नेले कन्डमको प्रयोग गर्दैनन् । जसकारण यौनरोगको जोखिम बढ्छ ।
आकस्मिक गर्भनिरोधक साधनको धेरै प्रयोगले पाठेघरको भित्ता (uterine lining) पातलो बनाइदिन्छ । जसका कारण गर्भ तुहिने (miscarriage) सम्भावना बढेर जान्छ ।
गर्भनिरोधक साधनको उचित प्रयोग गरे यसले इच्छा नगरिएको समयमा गर्भ बस्नबाट रोक्छ । तर, यदि तपाईं भविष्यमा सन्तान प्राप्त गर्ने सोचमा हुनुहुन्छ भने कुनै प्रकारको गर्भनिरोधक साधन प्रयोग गर्दा चिकित्सकको सल्लाह अवश्य लिनुहोस् र आफ्नो शरीर र उद्देश्यअनुकूल हुने साधन प्रयोग गर्नुहोस् ।
कतिपय अवस्थामा महिनावारीलाई सन्तुलित बनाउन पनि यस्ता साधनको प्रयोग गर्न चिकित्सकहरुले सल्लाह दिन्छन् । आईभीएफ गराउँदा पनि धेरै र गुणस्तरीय डिम्ब उत्पादन गराउन यस्ता साधन प्रयोग गरिन्छ । त्यसैले यसबारे भ्रम राख्नुभन्दा चिकित्सकसँग परामर्श लिनु जरुरी हुन्छ, खासगरी आकस्मिक साधनको प्रयोगमा ।
धेरै चिन्ता र बढ्दो उमेरले प्रजनन् क्षमतामा प्रतिकूल असर पार्ने भएको कारण पनि यस्ता साधनको प्रयोग सुनियोजित हुनु जरुरी छ ।
सन्तान प्राप्तिको समस्या भोग्दै आउनुभएको छ, विभिन्न प्रयासपश्चात पनि सफल हुन सक्नुभएको छैन भने विभिन्न आधुनिक उपचारका लागि ९८०१८२३४०२/०४ मा वात्सल्यका प्रजनन् विशेषज्ञको सल्लाह लिन सक्नुहुन्छ । वात्सल्यमा सन्तान प्राप्तिका लागि प्रयास गरेका करिब ६०– ७० प्रतिशत दम्पतीले सफलता प्राप्त गर्न सफल भएका छन् । जुन अन्तर्राष्ट्रिय मापदण्डभन्दा करिब दोब्बर हो ।