भूकम्प प्रभावित जाजरकोट पुगे राष्ट्रपति पौडेल, घाइतेहरुसँग गरे भेट

    राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित जिल्ला जाजरकोट पुगेका छन्। जाजरकोट पुगेर राष्ट्रपति पौडेलले भूकम्पका घाइतेहरुसँग भेट गरेका छन्।

    घाइतेहरु उपचाररत जिल्ला अस्पताल जाजरकोट पुगेर राष्ट्रपति पौडेलले घाइतेहरुको अवस्था बुझ्नुका साथै उपचारको व्यवस्थाबारे समेत जानकारी लिएका छन्।

    जिल्ला अस्पताल पुगेर राष्ट्रपति पौडेलले भेरी नगरपालिका – १ की ६३ वर्षीया सितली कामी र भेरी नगरपालिका– ३ का वीरे पुनलाई भेटेर स्वास्थ्य अवस्था तथा उपचारको प्रबन्धबारे जानकारी लिएका थिए।

    राष्ट्रपति पौडेल आफ्नो पूर्वनिर्धारित युरोप भ्रमण स्थगित गरेर मंगलबार भूकम्प प्रभावित क्षेत्रको निरीक्षण भ्रमणमा निस्किएका हुन्। जाजरकोट पुगेका राष्ट्रपति पौडेल मंगलबार नै भूकम्पबाट प्रभावित अर्को जिल्ला रुकुम पश्चिम पनि पुग्ने कार्यक्रम छ।