भूकम्पले ढालेको बस्तीमा लौरो टेक्दै पुगे राष्ट्रपति

    राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोटका भूकम्प प्रभावित बस्तीहरुको अनुगमन गरेका छन्। मंगलबार जाजरकोट सदरमुकाम पुगेका राष्ट्रपति पौडेलले अस्पताल पुगेर घाइतेहरुलाई समेत भेटेका थिए। घाइतेहरुलाई भेटेपछि राष्ट्रपति पौडेल सदरमुकाम नजिकै भूकम्प प्रभावित बस्तीमा पुगेका थिए।

    भूकम्पले भत्काएका भग्नाबशेषहरु छिचोल्न राष्ट्रपति पौडेलले लौरोको सहारा लिए। भूकम्पले भत्किएका घरको गारो र काठ छिचोल्ने क्रममा उनलाई अंगरक्षकले समेत मद्दत गरेका थिए।

    भूकम्प प्रभावित बस्तीको निरीक्षण गर्दै राष्ट्रपति पौडेलले लोकतन्त्रमा जिम्मेवार सरकार कस्तो हुन्छ भन्ने अनुभूति हुने गरी भूकम्प प्रभावितहरूलाई आवश्यक अल्पकालीन र दीर्घकालीन योजना बनाएर काम गर्न जनप्रतिनिधिलाई आग्रह गरे।

    पौडेलले जाजरकोटमा जनप्रतिनिधि, सर्वसाधारण र भूकम्प प्रभावितहरूसँगको छलफलमा अहिले नै सबै कुरा सोचविचार गरेर काम गर्न ध्यान दिनुपर्ने बताए।

    उनले तत्काल बसोबासको लागि पाल, स्थायी घर नबन्दासम्मका लागि जाडो र वर्षायाममा समस्या नहुने गरी बसोबासको अस्थायी प्रबन्ध तथा दीर्घकालीन रूपमा कुनै उपयुक्त ठाउँको पहिचान गरी स्थायी घर निर्माण गर्नुपर्नेमा जोड दिए।

    राष्ट्रपति पौडेलले अहिलेको कठिन अवस्थामा भूकम्प प्रभावितलाई ठग्ने र झुकाउनेजस्ता गलत काम हुन सक्ने हुँदा त्यसबाट सचेत र सतर्क रहन पनि आग्रह गरे। ‘तपाईंहरूको समस्या समाधानका लागि म सँगै छु, चिन्ता नगर्नुस्,’ राष्ट्रपति पौडेलले भने।

    त्यसअघि जाजरकोट अस्पताल पुगेका राष्ट्रपति पौडेलले घाइतेहरुलाई भेटेर स्वास्थ्य अवस्था तथा उपचारको प्रबन्धबारे जानकारी लिएका थिए।

    घाइतेहरूले उपचार, खाद्यान्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन राष्ट्रपति पौडेलसँग आग्रह गरेका थिए। जवाफमा राष्ट्रपति पौडेलले भूकम्प प्रभावितहरूलाई आवश्यक बसोबास, खाद्यान्नलगायत सबै कुराको प्रबन्ध हुने र त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने बताए।

    जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भूकम्पबाट भएको क्षतिका बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए।

    कात्तिक २२ गतेदेखि तय भएको आफ्नो युरोप भ्रमण स्थगित गरेर राष्ट्रपति पौडेल मंगलबार भूकम्प प्रभावित क्षेत्रमा पुगेका हुन्। राष्ट्रपति पौडेलका साथमा उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, उर्जामन्त्री शक्ति बस्नेत, जाजरकोटका प्रदेश सांसद, प्रधानसेनापति सहभागी छन्।