चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसी आजदेखि गेटा मेडिकल कलेज धनगढीमा अनसन बस्ने भएका छन्।
सरकारसँग विगतमा पटक–पटक भएका सहमतिलाई कार्यान्वयन नगरेको भन्दै डा केसीले शुक्रबार बेलुकी ५ बजेदेखि गेटा मेडिकल कलेज धनबढीमा तीन दिने अनसन सुरु गर्दैछन्।
डा केसीले विगतमा भएका सम्झौता, सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्ने माग राखेका छन्।
यस्तै, १०० शय्याभन्दा बढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत अन्य स्वास्थ्यसम्बन्धी विषयका कार्यक्रम सुरु गर्ने, विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिको मापदण्डसहित कानुनी व्यवस्था गर्ने, ऐन जारी नहुँदासम्म दलीय भागवण्डा निषेध गर्दै यस अगाडि सम्झौता भए बमोजिमका मापदण्डअनुसार तुरुन्त विश्वविद्यालयहरुमा नियुक्ति गर्ने र एकीकृत प्रतिष्ठान ऐन शीघ्र जारी गर्ने माग उनले राखेका छन्।
यसैगरी सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्याउने, गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनमा ल्याउने, चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्याउने, जनसंख्या र भौगोलिक अवस्थितिअनुसार यस अगाडि सम्झौता भए बमोजिम इलाम, उदयपुर, डडेल्धुरारामा सरकारी मेडिकल कलेजहरु खोल्ने माग अगाडि सारेका छन्।