गाजाको अल-शिफा अस्पतालमा ‘रगतको खोलो’: डब्लूएचओ

    गाजाको अल-शिफा अस्पतालमा ‘रगतको खोलो’: डब्लूएचओ

    विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले इजराइली बमबारीबाट ध्वस्त उत्तरी गाजाको अल–शिफा अस्पतालको आपत्कालीन विभागमा ‘रगतको खोलो’ बगेको र यसको ‘पुनरुत्थानको खाँचो’ रहेको बताएको छ।

    डब्लूएचओ र अन्य संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूको एउटा टोली प्यालेस्टिनी क्षेत्रको सबैभन्दा ठूलो अस्पतालमा चिकित्सा आपर्ति पुर्‍याउन सक्षम भएको छ। ‘हजारौँ विस्थापितहरू आश्रयका लागि अस्पतालको भवन र मैदान प्रयोग गरिरहेका छन्, पिउने पानी र भोजनको ‘चरम अभाव’ छ,’ डब्लूएचओले आइतबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘टोलीले आपत्कालीन विभागलाई ‘रगतको खोलो’ का रूपमा वर्णन गरेको छ, उक्त विभागमा सयौँ घाइते बिरामी थिए र प्रत्येक मिनेटमा नयाँ बिरामी आइरहेका थिए, आघातबाट घाइते बिरामीहरूलाई जमिनमा टाँका लगाइरहेको थियो र दुखाइ कम गर्ने कुनै व्यवस्था थिएन।’

    अस्पतालले अत्यन्त कम कर्मचारीहरूका साथ न्यूनतम स्तरमा काम गरिरहेको भन्दै डब्लूएचओले गम्भीर बिरामीहरूको शल्यक्रियाका लागि अल–अहली अरब अस्पतालमा सार्ने काम भइरहेको बताएको छ। अक्सिजन र आपूर्तिको कमीका कारण अपरेटिङ थिएटरले काम नगरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ। डब्लूएचओले भनेको छ, ‘यो पुनरुत्थानको आवश्यकता रहेको अस्पताल हो।’ अस्पतालमा दैनिक ३० बिरामीले मात्र डायलासिस गर्न पाउँछन्।

    अक्टोबर ७ मा इजराइली क्षेत्रमा हमासले गरेको अभूतपूर्व हमलापछि इजराइली सेनाले गरेको बमबारी र स्थल कारबाहीबाट गाजापट्टीमा सबै स्वास्थ्य पूर्वाधारमा व्यापक क्षति भएको छ।

    इजराइली अधिकारीहरूको पछिल्लो आँकडाअनुसार हमासको हमलामा अधिकांश सर्वसाधारणहित करिब एक हजार एक सय ४० मानिसको मृत्यु भएको थियो। हमासले दुई सय ४० जनालाई बन्धकसमेत बनाएको थियो। हमासका अनुसार गाजामा इजराइलको जवाफी हमलामा अधिकांश महिला तथा बालबालिकासहित १८ हजार आठ सयको मृत्यु भएको छ।