जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय

    डिप्रेसन ठूलो जनस्वास्थ्य समस्या हो। सबै मानिस खुसी हुन चाहन्छन्, आनन्दको खोजीमा दौडिरहेका छन्। माया गाँस्न र माया गर्न चाहन्छन्। जिन्दगी रमाइलोसँग बिताउन चाहन्छन्। तर, डिप्रेसन भएपछि मन नै खुसी हुँदैन, रमाइलो लाग्दैन र आनन्द नै आउँदैन।

    एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्, ‘मलाई कसैको माया लाग्दैन। न श्रीमान्–श्रीमतीको, न बच्चाको। आफ्नै माया लाग्दैन। जे कुरा पनि झर्को लाग्छ।’

    उनीहरुको भनाइ हुन्छ– फ्रेस होउँ, राम्रा ड्रेसहरु लगाउँ, शृंगारपटार गरुँ, साथीभाइहलाई भेटुँ, घुम्न जाउँ, बाहिर गएर डिनर खाउँ, फिल्म हेर्न जाउँ, घरमै टिभी हेरौं, गीत सुनौं आदि कुनै कुरामा पनि चाख लाग्दैन। परिवारले हेर्दा न ज्वरो, न दुखाइ, केही पनि त छैन। किन यस्तो भएको होला भन्ने लाग्छ। डिप्रेसन भएको व्यक्तिलाई भने कुनै कुरामा रमाइलो नलाग्ने हुनाले समस्या देखिएको हो।

    डिप्रेसन हुने कारणह धेरै छन्। केही शारीरिक रोगका कारण, थाइरोइडको समस्या, मधुमेह, हृदय रोग, वाथ वा अन्य दीर्घ रोगमा डिप्रेसन हुनसक्छ। केही औषधि सेवन गरेका कारण पनि डिप्रेसन हुन सक्छ। शारीरिक यातना, यौन शोषण र बलात्कार भएका कारण पनि डिप्रेसन हुन सक्छ। भावनात्मक चोटका कारण। बाल्यावस्थामा भएका, अनुभव गरेका अप्रिय घटनाका कारण डिप्रेसन हुन्छ। कुनै पनि कारण नभइ आफू भित्रैबाट पनि डिप्रेसन हुन्छ।

    Dr_Kapildev_Uppadhaya-1702694417.jpgडा कपिलदेव उपाध्याय
    हामी जाडोमा हुने डिप्रेसनको कुरा गर्दैछौं। यो हुने कारण हाम्रो जैव–चक्रीय आवर्तनमा गडबडी भएर हुन्छ भन्ने छ। यो सरकाडीयन रिदमलाई इन्टरनल क्लक पनि भनिन्छ। हामी राति जाग्यौं भने अन्दाजी यति बज्यो होला भनेर अनुमान यसको मद्दतले गरिन्छ। बिहान ४ बजे नै जागेर तयार हुनु छ भने पनि यसले नै ४ बजे जगाउँछ । निद्रा ठिक समयमा लाग्ने र बिहान ठिक समयमा खुल्ने पनि इन्टरनल क्लकले गर्छ। सरकाडियन रिदम गडबड भयो भने समयमा निद्रा नआउने वा साँझपख नै निद्रा लाग्ने वा ज्यादै बढी निद्रा लाग्ने जस्ता समस्याह हुन्छन्।

    जाडो याममा हुने डिप्रेसन कात्तिक मंसिरतिर सुरु हुन्छ र चैत, बैशाखतिर हराउँदै जान्छ वा निको हुन्छ। यदि कसैलाई पहिलेदेखि नै डिप्रेसन छ भने जाडो महिनामा बढ्छ। जाडो याममा हुने डिप्रेसनलाई सिजनल डिप्रेसन पनि भनिन्छ र यसका लक्षणहरु केही फरक खालका हुन्छन्।

    डिप्रेसनमा भोक नलाग्ने र निद्रा नपर्ने हुन्छ, तर जाडो यामको डिप्रेसनमा भोक बढी लाग्ने र निद्रा पनि बढी लाग्ने हुन्छ। धेरै खाना खाएका कारणले वजन बढ्न समेत सक्छ। डिप्रेसनले वा जाडोयाममा हुने डिप्रेसनले काममा बाधा पर्छ, पढाइमा बाधा पार्छ र आफ्नो दैनिकीमा असर पारेकै हुन्छ।

    सरकाडियन रिदम वा इन्टरनल क्लक सकभर गडबड नहोस् भन्ने हो भने सधैंजसो एउटै समयमा सुत्ने र ठिक समयमा उठ्ने गर्नुपर्छ। आधा घन्टा अगाडि–पछाडि भएर फरक पर्दैन अर्थात् आधा घन्टा छिटो वा ढिलो सुत्न सकिन्छ र त्यसरी नै बिहान उठ्न सकिन्छ। जतिबेला मन लाग्यो सुत्ने र उठ्ने बानीले इन्टरनल क्लकमा गडबडी आउँछ।

    ‘सिक्स बेस्ट डक्टर्स’को महत्त्व
    जाडो याममा हुने डिप्रेसनको कारण सूर्यको प्रकाशसँग पनि जोडिएको छ। जाडोमा घाम ताप्न कति आनन्द आउँछ, सबैले अनुभव गरेकै कुरा हो। डिप्रेसनको औषधिको अलावा लाइट थेरापीले पनि जाडो यामको डिप्रेसनको उपचार गरिन्छ।

    सूर्य र सूर्यको ताप तथा प्रकाश वनस्पती, बिरुवा, फूलहरु र समस्त प्राणी जगतको लागि अति आवश्यक मानिन्छ। आरामले ऊर्जा दिन्छ, रोगसँग लड्ने क्षमता बढ्छ। शारीरिक व्यायाम: डिप्रेसन लगायत धेरै रोगबाट बचाउँछ र स्वास्थ्य राम्रो राख्छ।

    खानपिन वा आहारलाई व्यवस्थित बनाउन सकियो भने पनि डिप्रेसनबाट मुक्ति पाइन्छ। हाम्रो स्वास्थ्य राम्रो राख्न महत्वपूर्ण योगदान स्वस्थ्यकर आहारले गर्छ।

    डिप्रेसनको अवस्थाबाट आफूलाई उठाउन आत्मविश्वास पनि चाहिन्छ। म गर्न सक्छु र गरेर देखाउँछु भन्ने विश्वासले अगाडि बढाउँछ। आफ्ना दुःख–सुख बाँड्ने, एकअर्कालाई सहयोग गर्ने, घरको परिवार लगायत साथीहरु, बालकदेखि वृद्धावस्थासम्म ठूलो महत्त्व राख्छ। डिप्रेसनबाट मुक्त हुनलाई पनि साथीभाइदेखि आफन्त र परिवारका सदस्यको साथ र सहयोग महत्त्वपूर्ण हुन्छ। समग्रमा ‘सिक्स बेस्ट डक्टर्स’को महत्त्व बुझ्ने हो र सही उपयोग गर्ने हो भने स्वास्थ्य राम्रो हुन्छ र धेरै रोगबाट जोगिन सकिन्छ।