तपाईंले सडकमा हरेक सवारी साधनको एक अर्कालाई उछिन्ने होड चलेको दृश्य बाक्लै देखेको हुनुपर्छ । तर केही सवारी यस्ता संवेदनशील प्रकृतिका हुन्छन्, सडकमा तिनीहरूले उच्च प्राथमिकता पाउने अधिकार राख्छन् । एम्बुलेन्स, दमकल, प्रहरी भ्यान, ठूलाबडाका बाहन, स्कुले सवारीलाई राज्यले नै प्राथमिकतामा राखेको हुन्छ । त्यसमध्ये मानव जीवनसँग जोडिएको एम्बुलेन्स सेवाप्रति भने नागरिकको गुनासो रहेको पाइन्छ । काठमाडौंमा चल्ने केही एम्बुलेन्स छोडेर अधिकांश एम्बुलेन्स नाम मात्रका छन् । अझ आश्चर्य त एम्बुलेन्सले भन्दा उच्च प्राथमिकता देशका उच्च पदस्थ व्यक्तित्वहरूले चढेको गाडीले पाउँछन् ।
एम्बुलेन्स भनेको मिनी अस्पताल पनि हो । तर देशभरका एम्बुलेन्सको अवस्था हेर्याे भने मध्यम खालको बिरामी मानिस एम्बुलेन्सको यात्रापछि जटिल बिरामी भएको समाचार सुन्दा आश्चर्य नमाने हुन्छ । स्वास्थ्य चेतनाका दृष्टिले उच्च मानिने काठमाडौं उपत्यकामा चल्ने कतिपय एम्बुलेन्स बिरामी र शववाहन दुवै काममा उपयोग हुने गरेको पनि देखिएको छ ।
यथेष्ट नियम कानुन छन् । केन्द्र, प्रदेश हुँदै जिल्लासम्म एम्बुलेन्स सञ्चालन प्रक्रियाका विधि विधान छन् । तैपनि निर्धारित मापदण्ड अनुसार एम्बुलेन्स चलेका छैनन् । अझ राजधानी बाहिरबाट बिरामी बोकेर काठमाडौं छिर्ने एम्बुलेन्स त साइरन मात्र तिनीहरूको परिचय छुट्टिन्छ । स्वास्थ्य अवस्था नाजुक भएका वा गम्भीर चोटपटक लागेका बिरामीको अवस्था स्थिर राख्दै तत्काल उपयुक्त स्वास्थ्य संस्थासम्म पुर्याउने सवारीसाधनका रुपमा एम्बुलेन्सलाई बुझिन्छ ।
यसको सम्बन्ध प्रत्यक्ष रुपमा मानिसको स्वास्थ्यसँग जोडिएको छ । तर हामीलाई सेवा दिने एम्बुलेन्स कति सुरक्षित छन ? त्यसतर्फ हाम्रो ध्यान जान जरुरी छ । एम्बुलेन्स सेवा सञ्चालन गर्न जनस्वास्थ्य सेवा ऐन र नियमावलीको प्रावधानअनुसार स्वास्थ्य संस्थाले सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।
स्वास्थ्य तालिम केन्द्रबाट तालिम प्राप्त चालक, जीपीएस अनिवार्य जडान हुनुपर्ने लगायतका व्यवस्था निर्देशिकामा गरिएको छ । तर धेरैजसो अस्पतालमा बिरामी बोक्ने एम्बुलेन्स र शव वाहनको बनावट एउटै हुने गरेको पाइएको छ । त्यति मात्र होइन बिरामी र शब ओसार्ने काममा एउटै साधन प्रयोग भएको पाइन्छ । जसले गर्दा एउटा त बिरामीलाई असहज हुने नै भयो अर्को संक्रमण फैलिने सम्भावना पनि त्यत्तिकै रहन्छ । जस्तै कुनै अस्पतालमा सरुवा रोगबाट संक्रमित बिरामीको मृत्यु हुँदा त्यही शव बोकेको एम्बुलेन्समा बिरामी राखियो भने सङ्क्रमणको जोखिम धेरै हुन्छ ।
एम्बुलेन्स सञ्चालनको विधि विधान कस्तो छ ?
अन्तर्राष्ट्रिय प्रचलनअनुसार एम्बुलेन्सलाई तिनले प्रवाह गर्ने सेवाको आधारमा ‘क’ र ‘ख’ वर्ग निर्धारण गरिएको हुन्छ । स्वास्थ्य मन्त्रालयले तयार पारेको ‘एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका २०७८’ ले पनि यसैअनुसार वर्गीकरण गरेको मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले बताए ।
देशभर रहेका एम्बुलेन्सहरु छिटो छरितो रुपमा सञ्चालन गरी बिरामी–घाईतेहरुलाई अस्पतालसम्म सुरक्षित र सहज तवरले पुर्याउन कार्यान्वयनमा रहेको एकीकृत एम्बुलेन्स तथा पूर्व अस्पताल सेवा सञ्चालन निर्देशिका, २०७७ खारेज भई गत भदौ १७ गते राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८’ स्वीकृत भइ जारी भएको हो ।
नयाँ निर्देशिकाअनुसार एम्बुलेन्स सञ्चालन गर्दा ‘क’ र ‘ख’ कुन वर्गको खरिद वा प्राप्ति गर्ने हो सो स्पष्ट उल्लेख गरी निवेदन दिनुपर्नेछ । ‘क’ र ‘ख’ वर्गको एम्बुलेन्स भन्नाले निर्देशिकाको अनुसूची– ४ बमोजिमका मापदण्ड भएको हुनुपर्ने उल्लेख छ । यस्तै, सबै एम्बुलेन्सहरु अनिवार्य रुपमा फोर व्हील ड्राइभ, पावर स्टेरिङ्ग, सस्पेन्सन चेन सिस्टमको हुनुपर्ने, ‘क’ र ‘ख’ वर्गको एम्बुलेन्सका लागि मात्र राजस्व छुटको सिफारिस गरिने निर्देशिकामा भनिएको छ ।
एम्बुलेन्स सेवा सञ्चालन गर्न जनस्वास्थ्य सेवा ऐन र नियमावलीको प्रावधान अनुसार स्वास्थ्य संस्थाले सञ्चालन गर्ने व्यवस्था गरिएको छ । राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट निर्धारित तालिम लिएको चालक हुनुपर्ने प्रावधान छ । राष्ट्रिय प्रेषण केन्द्र, प्रादेशिक प्रेषण केन्द्र लगायतका प्रेषण केन्द्रहरूमा अनुसूची– ११ बमोजिमको जनशक्ति आवश्यक पर्नेछ ।
यस्तै, ‘क’ र ‘ख’ वर्गको एम्बुलेन्सका लागि मेडिकल अफिसर–एच.ए एवम् नर्स अनिवार्य हुनुपर्ने तथा त्यसमा रहने स्वास्थ्यकर्मीहरूले अनिवार्य तोकेको तालिम लिएको हुनुपर्ने प्रावधान छ । सबै एम्बुलेन्सहरु अनिवार्य रुपमा एउटै नम्बर तथा एप्लिकेसनबाट आमनागरिकले सेवा पाउन सक्ने गरी प्रेषण केन्द्रहरुसँग आवद्ध भएको हुनुपर्ने छ । निर्देशिका लागू भएसँगै एम्बुलेन्सलाई बिरामी ओसारपसार गर्ने बाहेक अन्य काममा प्रयोग गर्न पाइने छैन ।
हरेक एम्बुलेन्समा जीपीएस अनिवार्य जडान हुनुपर्ने छ । एम्बुलेन्स सेवाको गुणस्तर, भाडादर, नियमन आदिका लागि जिल्ला, प्रदेश र संघीय तहमा अनुगमन समितिहरूको व्यवस्था गरिएको छ । एकीकृत एम्बुलेन्स सञ्चालन सम्बन्धी व्यवस्थामा देशभर सञ्चालित एम्बुलेन्सहरूलाई प्रेषण केन्द्रमार्फत एकीकृत रूपमा सञ्चालन गर्नुपर्नेछ ।
देशभरका एम्बुलेन्समा मन्त्रालयको आँखा
देशभर सञ्चालित एम्बुलेन्सको निगरानी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट गर्न थालिएको छ । दशक बढी चलेका एम्बुलेन्स चलाउन नपाइने मन्त्रालयको निर्देशिकामा उल्लेख छ । यही प्रावधान टेकेर एम्बुलेन्सलाई ट्रयाकिङ गर्न थालेको प्रवक्ता बुढाथोकीले बताए ।
उनका अनुसार १० वर्षभन्दा कम चलेका हाल १ हजार ७२ वटा एम्बुलेन्सले देशभर सेवा दिइरहेका छन् । त्यसमध्ये ‘जीपीएस’ सफ्टवेयरसँग कनेक्ट भएका ५ सय १७ वटा एम्बुलेन्स छन् । जसमा कोशी प्रदेशमा ‘क’ वर्गका ६ र ‘ख’ वर्गका ३४ वटा एम्बुलेन्स छन् ।
यस्तै मधेश प्रदेशमा ‘क’ वर्ग ३ ‘ख’ वर्ग १०, बागमती प्रदेश ‘क’ वर्ग १० ‘ख’ वर्ग ७८ वटा, गण्डकी प्रदेश ‘क’ वर्ग १, ‘ख’ वर्ग १०, लुम्बिनी ‘क’ वर्ग २, ‘ख’ वर्ग ७३, कर्णाली प्रदेश ‘क’ वर्ग २, ‘ख’ वर्ग २४ र सुदूरपश्चिम प्रदेशमा ‘क’ वर्ग ६ र ‘ख’ वर्ग ३४ वटा एम्बुलेन्स सञ्चालनमा छन् ।
सातै प्रदेशमा कहाँ कुन एम्बुलेन्सले सेवा दिइरहेका छन् भन्नेबारे जानकारी लिन र बिरामीलाई सहज सेवाका लागि केन्द्रबाटै जीपीएसमार्फत एम्बुलेन्सलाई ट्रयाकिङ गरिने उनले बताए । यसबाट कुन एम्बुलेन्स कहाँ चलिरहेको छ भन्ने जानकारी हुने प्रवक्ता बुढाथोकीको भनाइ छ ।
एम्बुलेन्स सेवाका लागि १०२ नम्बरमा फोन गरेपछि जीपीएसबाट एम्बुलेन्स ट्रयाकिङ गरी बिरामी भएको ठाउँमा पुग्छ । फोन गर्दा जिल्ला, प्रदेशमा नउठेको खण्डमा मन्त्रालयको विपद् व्यवस्थापन इकाईमा उठ्ने व्यवस्था मिलाइएको उनले बताए ।
त्यसपछि बिरामीको अवस्थाका आधारमा एम्बुलेन्स पठाइने उनको भनाइ छ । सेवाका लागि एम्बुलेन्स सम्बन्धी एप तयार पारिएको र प्लेस्टोरमा राख्ने तयारी भइरहेको जानकारी मन्त्रालयले दिएको छ । त्यस्तै, शव व्यवस्थापनको पनि निर्देशिका बनाइसकेको र शव बाहनलाई निर्देशिका अनुसार मापदण्ड पूरा गरी दर्तामा आउन पत्राचार गरिसकिएको मन्त्रालयको भनाई छ ।
१०२ कत्तिको प्रभावकारी छ ?
सरकारले एम्बुलेन्सका लागि टोल फ्री नम्बर १०२ को प्रबन्ध गरेको छ । एम्बुलेन्सका लागि १०२, शव व्यवस्थापन ११४० र यसमा खटिएको टोलीबारे जानकारी १०५ बाट प्राप्त गर्न सकिने छ । सोही अनुरूप नेपाल एम्बुलेन्स सर्विस सेवा केन्द्रले १०२ टोल फ्री नम्बर मार्फत सेवा दिइरहेको छ ।
यसले प्रि हस्पिटल अर्थात अस्पताल पूर्व प्राथमिक सेवा सरह नै सुविधा दिइरहेको नेपाल एम्बुलेन्स सर्भिस सेवा केन्द्रका कार्यकारी प्रमुख अमित जोशीले जानकारी दिए । यसमा फोन लाग्दैन भन्ने गुनासो पनि आउन थालेको छ नि ? भन्ने खबरहबको प्रश्नमा कार्यकारी प्रमुख जोशीले नेपाल भन्दा बाहिरबाट खरिद गरिएका मोबाइल सेटबाट फोन गर्दा पहिले ९७७ डायल गर्नुपर्ने बताए । काठमाडौं उपत्यकामा १०२ मा फोन गर्दा बिरामीलाई निशुल्क एम्बुलेन्स सेवाको व्यवस्था रहेको र विस्तारै काठमाडौं बाहिर पनि निःशुल्क गर्ने सरकारको योजना रहेको उनले बताए ।
आफूखुशी सञ्चालन
स्वास्थ्य मन्त्रालयको निर्देशिका २०७८ को मापदण्डअनुसार एम्बुलेन्स सञ्चालनमा स्तर वर्गीकरण, रङ्गबाट फरक छुट्टिने व्यवस्था र राष्ट्रियस्तरमा संयोजन गरिएको सजिलो तीन अङ्कको हटलाइन टेलिफोन नम्बर हुनुपर्ने हो ।
तर, एम्बुलेन्सपिच्छे र तिनका चालक वा सञ्चालकपिच्छे फरक–फरक टेलिफोन वा मोबाइल नम्बर राखिएको हुन्छ । त्यसैले चाहिएको बेलामा सम्पर्क गर्न असहज अवस्था छ । टोल फ्री नम्बर १०२ राखिए पनि आवश्यक पर्दा फोन नलाग्ने कारणले नेपालको एम्बुलेन्स सेवा कसैप्रति उत्तरदायी बन्न सकेको छैन ।
सञ्चालक वा चालकको तजबिजबाट एम्बुलेन्स सञ्चालन भइरहेको छ । नेपालमा एम्बुलेन्स भन्दा बढी निजी वाहनहरू वा ट्याक्सी र मोटरसाइकलबाट पनि बिरामी ओसार्ने गरेको पाइएको छ । स्थानीय तह र त्यहाँका स्वास्थ्य संस्थाहरूलाई एम्बुलेन्स सेवाको मापदण्ड, गुणस्तरका सम्बन्धमा उत्तरदायी बनाउन भने सरकार अझै असफल छ ।
v