युवालाई स्वदेशमै रोजगारी र सीपमुलक शिक्षा दिनुपर्छ: राष्ट्रपति

    राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र रोजगारीका लागि दैनिक हजारौँ संख्यामा विदेशिरहेका नेपालीहरुलाई रोक्न स्वदेशमै रोजगारी र सीपमुलक शिक्षा दिनुपर्ने बताएका छन्।

    मंगलबार सरस्वती बहुमुखी क्याम्पसको ६५औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। राष्ट्रपति पौडेलले कुनै पनि देशको शिक्षा त्यस देशको सामाजिक, आर्थिक अवस्था र देशको आवश्यकताअनुरुप निर्धारण हुनुपर्ने बताए।

    उनले बदलिँदो परिस्थितिमा देश विकासमा टेवा पुर्‍याउने र विश्व बजारमा पनि प्रतिस्पर्धी हुनसक्ने शिक्षा नीति र कार्यक्रम आजको आवश्यकता भएको बताए।

    राष्ट्रपति पौडेलले लोकतन्त्रपछि मुलुकको शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युतीकरणको क्षेत्रमा भएको विकासका बाबजुद यसको उपभोग गर्ने मानिसको अभाव हुनेगरी गाउँ रित्तो भएको भन्दै चिन्ता व्यक्त गरे। उनले गाउँ किन रित्तिँदै छ भन्नेबारेमा नीति निर्माण र शासन सत्तामा बस्नेहरुको चासो र चिन्ता हुनुपर्ने बताए।