विधि पुर्याएर प्रयोग गरे धतुरो औषधि नत्र उपविष

विधि पुर्याएर प्रयोग गरे धतुरो औषधि नत्र उपविष

धतुरो नेपालको विभिन्न भागमा पाईने वनस्पति हो । यो सोलानेसी परिवारमा वर्गीकरण गरिएको बहुवर्षीय पोथ्रा जातको वनस्पति हो । आयुर्वेदमा यसलाई एउटा अति गुणकारी औषधि मानिएको छ । संस्कृतिमा यसलाई भगवान शिवको प्रिय नशाको रूपमा पनि लिइएको पाइन्छ ् संस्कृतमा त यसको नाम नै शिवशेखर भनिन्छ । धतुरोलाई धेरैले नशालु वनस्पतिका रूपमा मात्र बुझेको पनि पाइन्छ तर प्राचीन विष विज्ञानमा धतुरोलाई उपविष भनिएको छ । विष जत्तिकै खतरनाक नभए पनि विष जस्तै काम गर्ने क्षमता भएकाले धतुरोलाई उपविष भनिएको हो । आयुर्वेदमा धतुरोलाई शुद्ध गरी गुणकारी औषधिमा परिणत गरिन्छ । सुतशेखर रस, धतुराक्षार, कनक आसव, त्रिभुक्नकीर्ति रस, प्रलापान्तक रस, कनकसुन्दर रस, उन्माद गजाङकुश रस र ग्रन्धिशोध निवारिका वर्तिकाजस्ता आयुर्वेदिक औषधि धतुरोबाटै तयार पारिन्छ ।

प्राकृतिक रूपमा धतुरोको बीऊ विषालु हुन्छ । यसको बीऊ खाएको आधा घण्टापछि शरीरमा नकारात्मक लक्षण उत्पन्न हुन थाल्छ । जस्तो कि शरीर तात्ने अनि मानिस बोल्नै नसक्ने हुन्छ । आँखा, मुख सबै रातो हुन थाल्छ र एउटै सामानलाई पनि दुईवटा देख्दछ भने बरबराउने, कपडा लुछ्ने, उफ्रने, दौड्नेसम्मका पागलपन उसमा सवार हुन थाल्छ । यदि चौबीस घण्टाभित्र उपचार गरिएन भने त यसले मान्छेलाई मृत्युको मुखमा नै पुयाइदिन्छ । धतुरोको यस्तो दुष्प्रभाव तब उत्पन्न हुन्छ जब यसको सयभन्दा बढी बीऊ सेवन गरिएको हुन्छ अर्थात् सयभन्दा अधिक बीऊको सेवन धतुरोको घातक मात्रा मानिएको छ ।ज्यानै लिने क्षमता भएको धतुरोको बीऊलाई जब एउटा पोकामा राखेर गाईको दूधमा चार घण्टासम्म ममः पकाएझैँ बफाइन्छ र तातोपानीले धोइन्छ तब त्यो शुद्ध हुन्छ ।

सरी शुद्ध गरिएको बीऊले विष होइन अब औषधिको काम गर्न थाल्छ । शुद्ध भइसकेपछि धतुरोको बीऊलाई धूलो पारेर चूर्ण बनाइन्छ । पेट वा अन्य भित्री अङ्ग दुखेमा र छातीको रोगमा यसको सेवनले फाइदा गर्छ । ठूलो हुँदै गरेका बच्चाहरू यदि अझै ओछ्यानमै मुत्छन् भने तिनीहरूलाई पनि यो चूर्ण खुवाउन सकिन्छ । औषधिको रूपमा लाभ लिन यो चूर्ण पचासदेखि सय मिलिग्राम बिहान र बेलुका सेवन गर्नुपर्ने हुन्छ ।

धतुरोको पात विषालु हुँदैन । कपालबाट जुम्रा र लिखा भगाउन धतुरोको पातबाट निकालिएको रस लगाउन सकिन्छ । छालाको रोग भएको ठाउँमा यसको लेप प्रयोग गर्न सकिन्छ । आयुर्वेदिक औषधि निर्माताहरू धतुरोको पातलाई विशेष तरिकाले धूलो पारेर चूर्ण बनाउँछन । धतुरोको काँडेदार फलबाट निकालिएको रसले कपाल झर्ने र चायाँ पर्ने समस्या हटाउन मद्दत गर्छ । मानसिक स्वास्थ्य सन्तुलित राख्ने गुण धतुरोमा हुन्छ । त्यसैले वैद्य र कविराजहरू मस्तिष्कसम्बन्धी रोग निको पार्न धतुरोको प्रयोग गर्छन् । सदुपयोग गर्न जान्नेले विषलाई पनि अमृत बनाउँछन् । नजान्नेले अमृतलाई नै विष बनाइदिन्छन् । धतुरोको सम्बन्धमा पनि यो कुरा लागू हुन्छ । मानव कल्याणका लागि धतुरोको उपयोग गर्ने हाम्रा प्राचीन ज्ञानको प्रशंसा अचेल विदेशमा समेत हुन थालेको पाईन्छ । बहुउपयोगी धतुरोको नेपालमा व्यवसायिक खेती भने हुन सकेको देखिदैन् ।