गौशालाबाट अपहरित दुई वर्षीया बालिकाको भक्तपुरबाट उद्धार, एक जना पक्राउ

    गौशालाबाट अपहरित दुई वर्षीया बालिकाको भक्तपुरबाट उद्धार, एक जना पक्राउ

    गौशालास्थित पशुपति मन्दिरको १ नम्बर गेट नजिकैबाट हराएकी २ वर्षीया बालिका आकिशा सुनुवारलाई प्रहरीले उद्धार गरेको छ ।

    उनकी आमाले चलाउँदै आएको चिया पसलबाट एक जना व्यक्तिले बालिकालाई अपहरण गरेको भन्दै प्रहरी कहाँ उजुरी परेको थियो । लगत्तै जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरले खोजी थालेको थियो ।

    त्यसक्रममा बिहीबार बालिकालाई भक्तपुरबाट उद्धार गरेर एक जना व्यक्तिलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीले बताए । उनले भने, ‘पक्राउ परेका व्यक्तिलाई स्वास्थ्य जाँचका लागि पठाएका छौं ।’

    पक्राउ परेका व्यक्ति चिया पसलमा नियमित आइराख्थे । उनले प्रहरीसँग बालिका आफ्नो छोरी भएको दाबी गरेका छन् । अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘उनको मानसिक अवस्था ठीक नभएको जस्तो बुझिन्छ, स्वास्थ्य जाँचपछि केही थाहा होला ।’

    बालिका लिएर उनी पठाओमा गएको देखिएको थियो । पछि सीसी टीभी क्यामरालगायतको सहयोगमा बालिकालाई भक्तपुरबाट उद्धार गरिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान जारी छ ।