राउटेको स्वास्थ्य बिमा हुने, योगदान रकम सरकारले बेहोर्ने

    राउटेको स्वास्थ्य बिमा हुने, योगदान रकम सरकारले बेहोर्ने

    लोपोन्मुख जाति राउटे समुदायका व्यक्तिलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गर्ने प्रक्रिया अघि बढाइएको छ। योगदान रकम सरकारले नै बेहोर्ने गरी राउटे समुदायलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउन लागिएको हो।

    स्वास्थ्य बिमा बोर्डको शुक्रबार बसेको बैठकले ऐनले तोकेको लक्षित वर्ग बाहेक थप पहिलो चरणमा राउटे जातिलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउने निर्णय गरेको हो। बोर्डले राउटेको बिमा रकम सरकारले बेहोर्ने प्रस्ताव गर्दै स्वीकृतिका लागि प्रक्रिया अगाडि बढाउने निर्णय गरेको बोर्डकी सूचना अधिकारी ओमकुमारी कँडेलले जानकारी दिइन्।

    ‘स्वास्थ्य बिमा ऐन २०७४ मा तोकिएको लक्षित वर्ग बाहेक थप पहिलो चरणमा लोपोन्मुख राउटे जातिलाई नेपाल सरकारले योगदान रकम बेहोर्ने गरी स्वास्थ्य बिमा कार्यक्रममा आवद्धता गर्न नेपाल सरकारको स्वीकृतिका लागि प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ,’ कँडेलले भनिन्।