वीर अस्पतालमा किन सुरु भएन जलन उपचार वार्ड?

    वीर अस्पतालमा किन सुरु भएन जलन उपचार वार्ड?

    वीर अस्पतालमा जलन उपचार कक्ष (वर्न वार्ड) सञ्चालनमा ल्याउने भनेर घोषणा भएको १० महिनाभन्दा बढी समय भइसकेको छ। तर दश महिनासम्मको अवधिमा पनि वीरमा वर्न वार्ड सञ्चालनमा आउन सकेको छैन।

    सरकारले वार्ड सञ्चालनका लागि बजेट समेत दिएको अवस्था छ। तर पनि किन वीरमा वर्न वार्ड सञ्चालनमा आउन सकेको छैन त? वीर अस्पतालका निर्देशक डा सन्तोष पौडले भन्छन् ‘आवश्यक जनशक्ति नहुँदा सञ्चालनमा ल्याउन सकिएको छैन।’

    डा सन्तोष पौडेलका अनुसार १२ शय्याको जलन उपचार कक्ष सञ्चालनको तयारी अगाडि बढाइएको छ। जसमा पाँच शय्याको आइसीयू र सात शय्याको वार्ड हुने छ।

    १२ शय्या क्षमताको जलन उपचार कक्ष सञ्चालनका लागि कूल ५२ जना नर्सिङ जनशक्तिको खाँचो पर्नेछ। जलन उपचार सेवा सञ्चालनका लागि अस्पतालसँग हालसम्म वीर र ट्रमाका गरी पाँच जना चिकित्सक छन्। अझै चार चिकित्सक आवश्यक रहने डा पौडेल बताउँछन्। अस्पतालले उक्त सेवा सञ्चालन लागि मन्त्रालयसँग जनशक्ति माग पनि गरिसकेको छ। तर मन्त्रालयले त्यसको सम्बोधन नगर्दा सेवा सुरु गर्न नसकिएको डा पौडेल बताउँछन्।

    डा पौडेलले गत फागुनमा अस्पताल निर्देशकको जिम्मेवारी पाएसँगै वीर अस्पतालमा जलन उपचार कक्षको स्थापना गर्ने निर्णय गरेका थिए। तर गत वर्ष बजेटको व्यवस्था नहुँदा उक्त काम अगाडि बढ्न सकेको थिएन। चालु आर्थिक वर्षमा सरकारले २ करोड ५० लाख बजेट विनियोजन गरेको छ। बजेट विनियोजन भए पनि आवश्यक काम समयमा नै अगाडि नबढ्दा र जनशक्तिको व्यवस्था नहुँदा वार्ड सञ्चालनमा आउन नसकेको डा पौडेलले जानकारी दिए।

    पूर्ण रुपमा जलन उपचार कक्ष स्थापनाका लागि करिब ७ देखी ८ करोड अनुमानित बजेटको माग अस्पतालले स्वास्थ्य मन्त्रालयसँग गरेको थियो। तर त्यस अनुसारको बजेट भने यस वर्ष पनि आएको छैन। थोरै बजेटबाट भएपनि अस्पतालमा उक्त वार्ड सञ्चालन गर्ने तयारी अस्पतालले गरेको डा पौडेलले जानकारी दिए।

    जलन उपचार कक्ष स्थापनाका लागि आवश्यक औजार तथा उपकरण खरिदका लागि प्राविधिक समितीले पेश गरिसकेको अवस्थामा उक्त सामान खरिदका लागि अस्पताल टेन्डरको प्रक्रियामा रहेको डा पौडेल बताउँछन्।

    ‘औजार उपकरण खरिदको प्रक्रियामा भएपनि जनशक्ति अभावकै कारण अस्पतालमा जलन उपचार कक्ष स्थापना गर्न नसकिएको हो,’ डा पौडेलले भने।

    वीर अस्पतालले प्लास्टिक सर्जरी वार्डबाट जलनका बिरामीहरुको उपचार सुरु गरेपनि जनशक्ति नहुँदा प्लास्टिक सर्जरी वार्डसमेत बन्द भएको छ। स्वास्थ्यमन्त्री मोहन बस्नेतको निर्देशनपछि करारका चिकित्सक तथा नर्सिङ गरी २७५ जना जनशक्ति हटाउँदा प्लास्टिक सर्जरी सेवा बन्द भएको हो।

    जनशक्तिको परिपूर्ति हुन सकेको अवस्थामा प्लास्टिक सर्जरी सेवा पुन: सञ्चालन गर्न सकिने डा पौडेल बताउँछन्। हाल भएका औजार उपकरणहरुबाट समेत केही सीमित सेवा दिन सकिने स्थिती रहँदा समेत जनशक्तिको अभावमा भइरहेको प्लास्टिक सर्जरी सेवा बन्द हुन पुगेको तथा जलन उपचार कक्ष सञ्चालनमा चुनौती थपिएको उनले बताए।

    वीरमा जलन उपचार कक्षको स्थापनाको विषय सरकारको नीति तथा कार्यक्रममा नै उल्लेख छ। तर मन्त्रालयले उक्त विषयलाई प्राथमिकतामा नराख्दा समस्या देखिएको छ।

    विशेषगरी जलन उपचारमा कक्षमा आइसियू, शल्यक्रिया तथा वार्ड सेवा दिनुपर्ने हुन्छ। ५ शय्याको आइसियू सहितको जलन उपचार कक्ष सञ्चालन गर्नका लागि कम्तीमा आइसियूमा २४ जना, वार्डमा १४ जना र शल्यक्रिया कक्षमा १४ जना नर्सिङ जनशक्ति चाहिन्छ।