भारतमा डुंगा दुर्घटना हुँदा १२ बालबालिकासहित १४ जनाको मृत्यु

    भारतमा डुंगा दुर्घटना हुँदा १२ बालबालिकासहित १४ जनाको मृत्यु

    भारतको गुजरातको बडोदरामा रहेको हरनी तालमा डुंगा डुब्दा १२ बालबालिकासहित १४ जनाको मृत्यु भएको छ ।

    घटनालगत्तै गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल बिहीबारै घटनास्थलमा पुगेर खोजी तथा उद्धार कार्यको जानकारी लिएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

    मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘दु:खको यस घडीमा शोकसन्तप्त परिवारजनमा मेरो समवेदना छ । घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । स्थानीय प्रशासनले पीडितलाई सबै सम्भव सहयोग गरिरहेको छ ।’

    उनले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकका आफन्तलाई दुई लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ प्रदान गरिने घोषणासमेत गरेका छन् ।

    केन्द्रीय गृहमन्त्री अमित शाहले पनि राज्यका मुख्यमन्त्रीसँग कुरा गरेर घटनाबारे जानकारी लिएका छन् ।

    कसरी भयो घटना ?

    स्थानीय रिपोर्टअनुसार- डुंगा खचाखच भरिएको थियो । यी बालबालिका आफ्ना शिक्षकसँग बिहीबार हरनी ताल पुगेका थिए ।

    रिपोर्टका अनुसार- बोटिङ गर्दा बच्चाहरूको सुरक्षाका लागि ‘लाइफ ज्याकेटहरू’ पूर्ण रूपमा लगाइएको थिएन ।

    घटनास्थलमा पुगेका गुजरातका विधायक बालकृष्ण शुक्लाले सम्पूर्ण घटनाको जानकारी दिँदै विद्यालयमा अध्ययनरत बालबालिका शिक्षकसँगै आएका थिए ।

    घटनास्थलमा रहेका एक अभिभावकले भने, ‘डुंगामा ३० बालबालिका थिए । हामीलाई पहिले सबै कुरा भनिएको थिएन । भर्खरै भनियो कि तपाईंको बच्चा डराएको छ । त्यही भएर हामी यहाँ आएका हौँ ।’

    बडोदराका पार्सद शीतल मिस्त्रीले घटनाको जानकारी संकलन गरी डुंगामा १५ जना बालबालिका रहेको थाहा पाएको जनाए ।

    शीतल मिस्त्रीलाई डुंगामा लाइफ ज्याकेट छ ? भन्ने प्रश्न सोध्दा उनले भने, ‘यो अनुसन्धानको विषय हो । तर ठेकेदारले लाइफ ज्याकेट उपलब्ध गराएको दाबी गरेका छन् ।

    के भन्छन् अमित शाह ?

    यस घटनापछि केन्द्रीय गृहमन्त्रीले राज्यका मुख्यमन्त्री भूपेन्द्र पटेलसँग कुरा गरेका छन् ।

    उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘बडोदराको हरनीको मोटनाथ तालमा विद्यालयका बालबालिकाको डुंगा डुबेको घटना हृदयविदारक छ । मैले यस सम्बन्धमा मुख्यमन्त्रीसँग कुरा गरेको छु । एनडीआरएफ टोलीहरू राहत र उद्धार कार्यमा संलग्न छन् ।’

    ‘म यस दुःखद घटनामा ज्यान गुमाएका बालबालिकाका परिवारप्रति समवेदना व्यक्त गर्दछु र घाइते बालबालिकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’