कसरी पुनर्स्थापित भयो इन्टरनेट सेवा ?

    कसरी पुनर्स्थापित भयो इन्टरनेट सेवा ?

    २१ वैशाख काठमाडौं । बिहीबार अवरुद्ध भएको इन्टरनेट सेवा चल्न थालेको छ ।

    वर्ल्डलिंक, सुबिसु, भायानेट सहितका सेवा प्रदायकहरुले इन्टरनेट सेवा पुनर्स्थापित भएको सूचना जारी गरेका छन् । तर यो स्थायी हो वा अस्थायी समाधान हो भन्ने उनीहरुले खुलाएका छैनन् ।

    विहीबार दिउँसोदेखि अन्तर्राष्ट्रिय ब्याण्डविथ प्रदायकले  इन्टरनेट सेवा अवरुद्ध गरिदिएका थिए । त्यसबाट सेवाग्राहीहरु मर्कामा परेका थिए ।

    आइएसपीकै सक्रियतामा खुल्यो इन्टरनेट सेवा

    भारतीय ब्याण्डविथ बिक्रेतालाई तिर्न बाँकी बक्यौता यथाशक्य चाँडो भुक्तान गर्ने नेपालका आईएसपीहरुको सामूहिक प्रतिबद्धतापछि मध्यरातिबाट इन्टरनेट सेवा सुचारु भएको हो ।

    ‘प्रभावित सबै आईएसपीहरुले रोकिएको भुक्तानी यथाशक्य चाँडो गरिदिने भन्दै प्रतिबद्धता पत्र पठाएपछि उनीहरु सेवा सुचारु गर्न तयार भएका हुन्’ ,भायानेट कम्युनिकेसनका प्रबन्ध निर्देशक विनय बोहोराले भने ।

    ९ महिनादेखिको ब्याण्डविथको पैसा पठाउन नेपाल सरकारले रोकेपछि भारतीय कम्पनीहरुले हिजो अपरान्ह ४ बजेदेखि ब्याण्डविथ सप्लाई बन्द गरेका थिए ।

    सरकार र आईएसपीहरुबीच विवादले उपभोक्तालाई दुःख भएको भन्दै उनले ग्राहकलाई दुःख नदिउँ भन्दै अनुरोध गरेपछि केही दिनका लागि सेवा सुचारु गर्न भारतीय कम्पनीहरु तयार भएको उनले बताए ।

    वर्ल्ड लिंक नेपालका सीईओ केशव नेपालले पनि इन्टरनेट सेवा अवरुद्ध नगर्न आग्रह गर्दै पत्र पठाएपछि सेवा पुनर्स्थापित भएको जानकारी दिए । ‘तिमीहरुले यसरी इन्टरनेट बन्द गर्न पाउँदैनौं भनेर चेतावनीयुक्त पत्र पठाएपछि सेवा सुचारु भयो,’ उनले भने ।

    विहीबार बेलुका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञप्ति जारी गरी नियमानुसार शुल्क तथा रोयल्टी बुझाउन र इन्टरनेट जस्तो अत्यावश्यक सेवा अवरुद्ध नगर्न सेवा प्रदायकलाई अनुरोध गरेको थियो । मन्त्रालयले कानुनी व्यवस्था सम्झाउँदै उक्त अनुरोध गरेको केही घण्टापछि नै इन्टरनेट चल्न थालेको थियो ।

    नेपालमा प्रमुख ब्याण्डविथ प्रदायकले एयरटेल, टाटा, रिलायन्स लगायत कम्पनीबाट ब्याण्डविथ आयात गर्दछन् र नेपालमा इन्टरनेट सेवा उपलब्ध गराउँछन् । नेपालमा इन्टरनेट सेवा प्रदायक कतिपय कम्पनीहरुले सरकारलाई सेवा शुल्क र रोयल्टी वापतको रकम बुझाएका छैनन् ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मर्मत सम्भार शीर्षक अन्तर्गतको बेरुजु बक्यौता नतिरेको भन्दै तिर्न ताकेता गरिरहेको छ । तर, इन्टरनेट सेवा प्रदायकहरूले मर्मत सम्भार दूरसञ्चार सेवा अन्तर्गत नपर्ने अडान राख्दै आएका छन् । उनीहरूले दूरसञ्‍चार प्राधिकरणले मर्मत सम्भारबाट लिएको शुल्क बाहेकको आम्दानीबाट रोयल्टी र आरटीडीएफ (ग्रामीण दूरसञ्चार विकास कोष) दस्तुर मात्र बुझाउँदै आएका छन् ।

    सरकार र इन्टरनेट सेवा प्रदायकबीचको यही विवादका कारण अन्तर्राष्ट्रिय ब्याण्डविथ प्रदायकले भुक्तानी पाएका छैनन् । नेपालका इन्टरनेट सेवा प्रदायकहरुले भारतको एयरटेलबाट लिएको ब्याण्डविथको एक वर्षदेखि पैसा तिर्न नपाएकाले उसले ताकेता गरिरहेको र जुनसुकै बेला इन्टरनेट अवरुद्ध हुन सक्ने बताउँदै आएका थिए ।

    विहीबार अपराह्न करिब चार बजेतिर नेपालभर इन्टरनेट सेवा प्रभावित भएपछि गएराति नेपाल दुरसञ्चार प्राधिकरणका कर्मचारीहरु भायानेट लगायतको कार्यालयमा पुगेर त्यसको कारणबारे सोधपुछ गरेका थिए । उनीहरुले यतैबाट इन्टरनेट काटिएको हो कि विदेशबाटै हो भन्नेबारे जिज्ञासा राखेका थिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *