दक्षिण कोरियाले यसै वर्षदेखि नेपालबाट थप दुईवटा नयाँ क्षेत्रमा कामदार लैजाने भएको अधिकारीहरूले बताएका छन्।
कोरियाले लामो समयदेखि नेपालबाट उत्पादनमूलक र कृषि क्षेत्रमा कामदार लिँदै आएको छ।
केहीअघिदेखि पानीजहाज निर्माण क्षेत्रमा पनि कामदार लान थालेको उसले अब सेवा र वन क्षेत्रमा पनि कामदारहरू लिने भएको हो।
नेपालका लागि कोरियाली राजदूतले बुधवार सञ्चारकर्मीहरूसँग बोल्दै नयाँ क्षेत्रमा यसै वर्षभित्र कामदारहरू लान थालिने जानकारी दिएको विवरण पनि आएका छन्।उनले नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसरमा गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।
सेवा क्षेत्रमा जान पाँच हजारको आवेदन
नेपालस्थित ईपीएस कोरिया शाखाकी निर्देशक मैयाँ कँडेलका अनुसार नयाँ दुईवटा क्षेत्रमा कामदार लिने जानकारी उक्त देशले केहीअघि पठाएको थियो।
ती क्षेत्रका लागि कोरियाली भाषा परीक्षा पास गरेर बसेकाहरूलाई नै क्षेत्र परिवर्तन गरेर जान दिने उसले जनाएको थियो।
सोही अनुरूप ग्वार्कोस्थित ईपीएस कोरिया शाखाले तीन साताअघि एउटा सूचना प्रकाशित गर्दै इच्छुकहरूलाई क्षेत्र परिवर्तनका लागि निवेदन दिन भनेको थियो।
कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रमा भाषा परीक्षा उत्तीर्ण भएकाहरूलाई कोरियामा सेवा क्षेत्रमा जानका लागि आवेदन दिन भनिएको कँडेलले बताइन्।