ब्रेकफास्टमा के खाने ?

    सबैको घरपरिवारमा बिहान चिया नास्ता खाने बानी नहुन पनि सक्छ । तर धेरै जनाको बिहान चिया–नास्ता गर्ने गर्छन् । तर चिया –नास्ताको सवालमा हामी के खाने के नखाने भन्ने विषयमा सोच्दैनौ ।

    जे होस् चियाको साथमा नास्ता केही हुनुपर्‍यो । हामीले साँझ खाना खाएर सुतेपछि रातभर केही खानेकुरा खाँदैनौ । यसकारण ईनर्जीको लागी खाली पेटमा केही खाएर दिनको आरम्भ गर्ने प्रचलन छ ।

    ब्रेकफास्टको प्रचलन विश्वभर छ । यसलाई शारीरिक स्वास्थ्यको एक अपूरणीय हिस्सा पनि मानिन्छ । यसकारण चिकित्सकहरु सुझाउँछन् कि ब्रेकफास्ट अनिवार्य रूपमा गरेको राम्रो हो ।

    तर अहिले ब्रेकफास्ट गर्नहुन्न भने तर्कमा पनि ठूलो जमात समावेश छ । खासगरी १६ वा १८ घण्टे फास्टिङको प्रचलनसँगै बिहानको नास्ता गर्न अनुपयुक्त हुने उनीहरूको तर्क छ ।

    यस्तो तर्कमा सहमत हुनेहरू दिउँसो १२ वा १ बजेपछि सोझै खाना खाने गर्छन् । यस्तोमा ब्रेकफास्टबारे ठूलो द्विविधा छ ब्रेकफास्ट गर्नु स्वास्थ्यको लागि फाइदाजनक हो कि होइन ? आउनुहोस् यो विषयमा बुझौँ ।

    शरीरलाई दिनभरका लागि आवश्यक ऊर्जाको स्रोत भनेको बिहानको नास्ता–खाना हो । त्यही नास्ता नै हामीले छुटाए स्वास्थ्यमा समस्या देखिन सक्ने चिकित्सक बताउँछन् ।

    हाम्रो शरीरको आन्तरिक घडीलाई चलायमान राख्न ब्रेकफास्ट खानु महत्त्वपूर्ण हुन्छ । शरीरमा जति पनि हर्मोन निस्कन्छ, त्यो  बिहान ४ देखि ८ बजेको समयमा निस्कन्छ ।  यसकारण शरीरलाई सन्तुलनमा राख्नका लागि  आवश्यक पर्ने थाइराइड, इन्सुलिन लगायत हर्मोनहरु बिहान ४ देखि ८  बजेको समयमा निस्कन्छ ।

    यो समयमा खाँदा त्यो खाना पचाउन शरीरको मेटाबोलिज्मले राम्ररी काम गर्छ र शरीरले त्यसलाई राम्ररी पचाउँछ । त्यसैले बिहानको नास्ता गर्ने बानी बसाल्नुहोस् ।

    बेलुका ७ बजे खाना खाएर सुतियो अनि बिहान ब्रेकफास्ट नगरी १६ वा १८ घण्टासम्म भोकै बसेर काममा गइयो भने शरीरमा ऊर्जा नपुगेर रिँगटा लाग्ने, लड्ने समेत सम्भावना हुन्छ । बिहान हाम्रो पाचन प्रक्रियाले राम्रो काम गर्छ, सूर्यास्तपछि पाचन प्रक्रिया सुस्त हुन्छ । त्यसैले पाचन प्रक्रियालाई गति दिन र दिनभर गतिविधि गर्न आवश्यक ऊर्जा प्राप्त गर्न बिहान हल्का नास्ता गर्नु उपयुक्त हुने स्वास्थ्यविद् बताउँछन् ।

    तर बिहान छिट्टै ८ बजेको तालीकामा खाना खाने व्यक्तिहरूको लागी भने अनिवार्य नास्ता गर्नुपर्छ भन्ने छैन । कार्यालय, कामका कारण प्रायले ८–९ बजे नै बिहानको खाना खाने गर्छौँ । उनीहरूको लागी यो नै लागि बिहानको नास्ता जस्तै हुने गर्छ ।

    बिहान उठ्नासाथ नास्ता खाने, फेरि ८–९ बजे खाना खाने गरियो भने त्यति फाइदाजनक नहुन सक्छ । बिहानको खाना १२ देखि १ बजे खानेहरूका लागी भने ब्रेकफास्ट गर्नु राम्रो हुन्छ ।

    बिहानको नास्ता गर्नुपर्छ कि पर्दैन भन्ने कुरालाई व्यक्तिको दिनचर्या, खानपान शैली काम व्यवहारले निर्धारण गर्छ । यो सबैमा एकरूपले लागु  हुनुपर्छ भन्ने छैन ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *