काठमाडौँ, २९ कात्तिक । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा कसैले काम गरेको भए आफूहरुले नै गरेको दाबी गर्नुभएको छ ।
बिहीबार नेपाल नेवा राष्ट्रिय संघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मुलुकमा परिवर्तन पनि आफूहरुले नै गरेको र देशमा गणतन्त्र पनि आफूहरुले नै ल्याएको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘हामीले नगरेको होइन, गरेका छौँ । काम नगरेकाहरुसँग हामीलाई एउटै लाइनमा राख्न मिल्दैन । हामीले गर्वका साथ भन्न सक्नुपर्छ । यो मुलुकमा कसैले काम गरेको छ भने त्यो हामीले गरेका छौँ । परिवर्तन कसैले गरेको छ भने त्यो हामीले गरेका हौँ । गणतन्त्र कसैले ल्याएको छ भने त्यो हामीले ल्याएका छौँ । गणतन्त्र आउँदैन नेपालमा भन्नेहरु यहीँ पार्टीभित्र थिए । गित गाएर मात्र हिँडेका होइनन् विरोध गरेर हिँडेका थिए । उत्साह बढाउने होइन उल्साह घटाउने काम गरिरहेका थिए । हामीले टेरेनौँ, वास्ता गरेनौँ र राजतन्त्रको बारेमा अरु पार्टीले पनि मतलब गरेनन् ।’
साथै उहाँले देशको मूल समस्या सरकारको अस्थिरता नभएको बताउनुभयो । उहाँले आफूहरु ९ महिना सरकारमा रहँदा उदाहरण पेश गरेको भन्दै सो अवधिमा गफ नभइ काम गरेर देखाएको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो देशको समस्याको मूल कारण के हो, त्यहाँबाट जानुपर्छ । मूल कारण भनेको सरकारको अस्थिरता होइन । ९ महिना हामी सरकारमा हुँदाखेरी (नौ महिना) उदाहरण पेस गरेका छौँ । गफ होइन, काम गरेर देखाएका छौँ, नौ महिनाभित्र सारा देशमा तरंग पैदा गरिदियौँ ।’