सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबीच पार्टनरका लागि प्रायोजन सम्झौता

काठमाडौँ, ५ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबीच टेलिकम पार्टनरका लागि प्रायोजन सम्झौता भएको छ ।

सञ्चार क्षेत्रमा नेपालको अग्रणी संस्थाको रुपमा रहेको नेपाल टेलिकम र रोयल्सबीच एक कार्यक्रममाझ सम्झौता भएको हो । सम्झौता पत्रमा रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश खड्का र नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले हस्ताक्षार गर्नुभएको हो ।

सम्झौतापछि सिइओ खड्काले टेलिकमको साथप्रति आभार व्यक्त गर्दै क्रिकेट विकासमा रोयल्सले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । खड्काले नेपाल टेलिकम यसअघि पनि नेपाली क्रिकेटलाई सहयोग गर्दै आएको र यसपटक रोयल्सलाई सहयोग गरेकोमा मैदानभित्र उत्कृष्ट प्रदर्शन गरेर टेलिकमलाई गौरव महसुस गराउन तत्पर रहेको बताउनुभयो ।

प्रबन्ध निर्देशक पहाडीले नेपालको खेलकुद क्षेत्रको बृहत्तर विकासका लागि नेपाल टेलिकमले सदैव योगदान दिँदै आएको एवम् नेपाली क्रिकेटसँग पनि लामो समयदेखि जोडिइरहेको स्मरण गर्दै सुदूरपश्चिमाञ्चल रोयल्समार्फत् एनपिएलमा जोडिन पाउँदा खुसी लागेको बताउनुभयो ।

एनपिएलमार्फत् नेपाली क्रिकेटले नयाँ उचाइ प्राप्त गर्ने र यो प्रतियोगिता नेपाली खेलकुद विकास क्रमकै महत्त्वपूर्ण कोशेढुङ्गाको रुपमा स्थापित हुने बताउँदै यसमा सुदूरपश्चिमाञ्चल रोयल्सको विशेष भूमिका रहने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।

सुदूरपश्चिम रोयल्सले यसअघि एसपिएलाई एजुकेसन पार्टनर र कुमारी जबलाई करिअर पार्टनरको रुपमा भित्र्याएको थियो । एनपिएलको अवधिभर टोलीले म्यारियट काठमाडौँमा बसोबास गर्न सहकार्य सम्झौता पनि गरिसकेको छ ।

क्यानको‌ आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गते सम्म एनपिएल हुने छ । सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी हुनुहुन्छ । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमाटा हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *