हिमालहरू हाम्रो पहिचान हो, यसको रक्षा सबैले मिलेर गर्नुपर्छ : डा.नारायणप्रसाद रेग्मी

काठमाडौँ, ५ मंसिर । पर्यटन विभागका महानिर्देशक डा.नारायण प्रसाद रेग्मीले सरकारले हिमाली क्षेत्रमा हुने फोहोर नियन्त्रणको लागि धेरै कदमहरु चालिसकेको बताउनुभएको छ ।

बुधबार काठमाडौँमा विश्व शौचालय दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले गाँउ, सहरहरुमा सरसफाई गर्ने र शौचालय बनाउने काम सजिलो भएपनि हिमाली क्षेत्रमा यस्तो काम गर्न गाह्रो हुने भन्दै सरकारले आवश्यक कदमहरु चालेको बताउनुभयो ।

यस्तै, उहाँले यो काम सरकार एक्लैले गर्न नसक्ने भन्दै यसको लागि बृहत् सहकार्य आवश्यक पर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारले यसका लागि हिमाली क्षेत्रमा हुने फोहोर नियन्त्रणका लागि धेरै नै कदमहरु चालिसकेको छ । र गर्वका साथ भन्न सक्छु कि सरकार सधैँ तयार छ, हिमाललाई सफा गर्ने कुरामा तर हामीलाई अन्य संस्थाहरुको सहयोग पनि चाहिन्छ । सरकार एक्लैले सबै कामहरु गर्न सक्दैन । गाउँ र सहरहरुमा सरसफाइ गर्ने र शौचालय बनाउने काम सजिलो हुन्छ तर हिमाली क्षेत्रमा यस्तो काम गर्न अलि गारो नै हुन्छ त्यही कारण हामीलाई यो काम गर्नको लागि बृहत् सहकार्यको आवश्यकता पर्छ । सरकार यसको लागि सधैँ तयार छ ।’

यसवर्ष कार्यक्रमको नारा ‘हाम्रो हिमालय सफा रहिरहोस्, भविष्यका नागरिक र सँगी आरोहीहरूले हिमालयलाई स्वच्छ राख्ने जिम्मेवारी लिनुपर्छ’ भन्ने रहेको छ ।

यसको साथै, उहाँले हिमालहरु भनेको हाम्रो पहिचान भएको भन्दै यसको रक्षा सबै मिलेर गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘तपाईंहरुले जुन हिमालको बारेमा कुराहरु उठाउनुभएको छ त्यसमा म र मेरो संस्था एकदमै सचेत छ । म पनि के विश्वास गर्छु भने हिमालयहरु हिमालको रुपमा मात्र होइन की यो हाम्रो जीवन, संस्कारको प्रतीक पनि हो । हामी नेपाल मात्र होइन पूरै विश्व नै हिमाल र हिमालयन संस्कारबाट प्रभावित भएका हुन्छन् । त्यसैले हिमालहरु भनेको हाम्रो पहिचान हो र हामीले यसको रक्षा गर्नुपर्छ ।’

कार्यक्रममा आरोही, आरोहण सञ्चालक र पर्यटनकर्मीहरु लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *