युवतीसँग इन्गेजमेन्ट गरेका पिटरलाई बेहुली बन्ने रहर

युवतीसँग इन्गेजमेन्ट गरेका पिटरलाई बेहुली बन्ने रहर

काठमाडौँ, ८ मंसिर । आफ्नो लैङ्गिक पहिचान कसले गर्ने–समाज, विज्ञान वा आफैँले ? प्रश्न जटिल छ तर प्राकृतिक रुपमा वा आत्म सम्मानका लागि आफ्नो पहिचान आफैँ गर्न हाम्रो समाज स्वतन्त्र मानिन्छ । व्यक्तिगत रुची, आत्मसन्तुष्टि वा स्वभावले मानिसलाई एकाएक बदलिदिन्छ । कुनैबेलाका ‘अनुज’ अर्थात् ‘अशोक राई’ ‘पिटर’ मा रुपान्तरित हुँदाको कथा निकै रोचक छ ।

उहाँको नागरिकतामा नाम अनुज थियो, घरमा बोलाउने नाम अशोक । तर, हिजोआज उहाँ पीटर राईबाट चर्चित हुनुहुन्छ । पहिचानको लडाइँका क्रममा उहाँको नाम बदलिएको छ । उहाँ हुनुहुन्छ ट्रान्सजेन्डर महिला । जन्म पुरुष तर अहिले महिलाको स्वरुप, घर परिवार र समाजसँग नभएर सुरुदेखि आफैँसँग जुधेर आफ्नो पहिचान बदल्नुभएको हो ।

छोराको अंग लिएर जन्मिए पनि स्वभाव र हाउभाउ छोरीको जस्तो भएकाले उहाँ सानैबाट परिवारमा फरक नै हुनुहुन्थ्यो । खोटाङमा जन्मिएर काठमाडौँमा उच्च शिक्षा अध्ययनका क्रममा उहाँले लैङ्गिक पहिचान बदल्न निकै ठुलो संघर्ष गर्नपर्‍यो ।

‘म परिवारको जेठो सन्तान, जन्मिँदा छोराको अंग लिएर जन्मिए पनि आफूलाई सानैदेखि छोरीको स्वभावमा उतार्थेँ, फुटबल भन्दा भाडाँकुटी खेल्ने रहर, छोरीकै पहिरन मन पराउँने, बाल्यकाल अलिअलि याद छ,’ ३७ वर्ष अघिको आफ्नो बाल्याअवस्था सम्झँदै अहिले आफूलाई पिटर भन्न रुचाउँने उहाँले सुनाउनुभयो, ‘टिनएज हुँदै गएपछि फुपुहरु मलाई अशोक धेरै केटीसँग संगत गरेर केटीजस्तै भयो भन्नुहुन्थ्यो,’उहाँले अघि भन्नुभयो,‘जब बाल्यकालबाट म टिनएजमा लागेँ, सायद ११ वर्ष जतिको थिएँ होला, अरु केटाहरु देख्दा जिउ सिरिङ्ग हुन्थ्यो, त्यसरी नै बाल्यकाल बित्यो।’

काठमाडौँको धुम्बाराहीमा रहेको नीलहिरा समाजको केन्द्रीय कार्यालयमा भेटिनुभएका उहाँले २०२१ मा मात्रै आफूले आफू के हुँ भन्ने जानकारी पाएको बताउनुभयो ।

‘अहिले म यो स्वरुपमा छु, यसै आज पिटर बनेको होइन, अंग एउटा तर चाहना अर्को हुँदा पहिले त आफैँसँग लडेँ । त्यसपछि समाज र परिवारसँग । धेरै समय म कोहुँ भन्ने मलाई नै थाहा भएन, यहाँ (नील हिरा समाज २०१२ तिर) आएपछि मात्रै म को हुँ भन्ने थाहा पाएँ, आफ्नो अंग र चाहनाको वास्तविकता बुँझे,’ उहाँले सुनाउनुभयो ।

शिक्षित परिवारमा जन्मिएका त्यसबेलाका अनुजको स्कुले नाम अनुज राई र घरको नाम अशोक थियो। घरमा अशोक भनेर बोलाउने, स्कुलमा साथीहरु पनि उहाँलाई कहिले अनुज त कहिले अशोक भन्ने गर्थे। फुपु र बहिनीहरुका बीचमा हुर्किनुभएका उहाँलाई स्कुलमा आफ्नै बाबा ममीसमेत पढाउने भएकाले असहज भएन ।

‘म त फुपुहरुका बीचमा हुर्किएँ, बहिनी र भाइहरु पनि थिए, स्कुलमा बाबा प्रिन्सिपल र ममी पनि स्कुल पढाउने भएकाले मलाई सानोमा त असहज भएन, साथीभाइहरुले मलाई हेप्नै सक्दैनथे, हेड सर को छोरा म,’ विगत सम्झँदै हाँसोसहित उहाँले भन्नुभयो । स्कुले जीवन (प्लसटु) सकेपछि त्यतिबेलाका अनुजलाई परिवारले काठमाडौँमा पढाउने निधो गर्‍यो । आफूभन्दा कान्छी बहिनी र भाइहरुकोसमेत रेखदेख उहाँको काँधमा आयो । काठमाडौँमा उहाँ अभिभावकीय जिम्मेवारीमा बाँधिनुभयो ।

‘मलाई घरमा पनि विभेद् थिएन, हामी एकदमै नियममा हुर्किएका थियौँ, स्कुल जानेदेखि, खाना खाने र बेलुकी टिभी हेर्नसम्म रुल्स थियो,’ उहाँले पारिवारिक अवस्थासँगै आफूलाई जोड्दै लग्नुभयो,‘बाबा शिक्षक भएकाले एउटै मात्रै कन्सेप्ट थियो पढ्नुपर्छ, मलाई स्कुल सकिएपछि बाबा ममीले स्नातक पढाउन काठमाडौँ राख्नुभयो, मेरो जिम्मेवारी त्यसपछि थपियो।’

त्यतिबेलासम्म अहिलेकी पिटर अनुज नै थिए । काठमाडौँमा कलेज जीवन थियो । भर्खरै कलेज पढ्न थालेकाले उत्साह पनि, नयाँ जोश पनि । त्यसबेलाका अनुज कलेज र बानेश्वरको डेरा आउजाउ गर्न थाल्नुभयो । कलेजमा साथी बने । साथीका साथीहरुसँग पनि चिनजान भयो । उहाँले अगाडि भन्नुभयो, ‘त्यो बेला कलेजमा सबैका ब्वाइफ्रेण्ड थिए, म चाहिँ केटा भएर केटा नै मन पराउन थालेँ, मलाई त्यस बेलादेखि केटाहरुप्रति आकर्षण बढ्दै गएको थियो, स्वभाव महिलाको जस्तो भए पनि त्यो बेला म केटै थिएँ, केटा भएर केटा नै मन पराउन थालेछु ।’

पिटरले त्यसपछि फेरि खोटाङ रहँदाका प्रसंगमा आफूलाई खुलाउनुभयो, ‘त्यसबेला भूमिका श्रेष्ठले टिभीमा कार्यक्रम चलाउनुहुन्थ्यो, त्यो कार्यक्रम म लुकीलुकी हेर्थेँ, भूमिकालाई देख्दा मान्छे चाहिँ कति राम्री स्वर चाहिँ केटाको जस्तो भन्ने लाग्थ्यो, त्यही क्रममा म पढ्दै गर्दा काठमाडौँ आएँ,’ उहाँको कथा फेरि काठमाडौँतर्फ नै मोडियो।

‘काठमाडौँ आएपछि मैले भाइबहिनीलाई पढाउनुपर्ने थियो, म अभिभावककै रुपमा बस्नुपर्ने भयो, त्यो समय मैले आफूलाई टाइम दिन भ्याइन, ब्याच्लर्सको पढाइ सकेँ,’ उहाँले अगाडि भन्नुभयो ‘त्यही दौरानमा मैले मास्टर्स पढ्न सुरु गरेँ, त्यो बेलासम्म पनि मैले म आफूलाई के हुँ भनेर चिन्न पाइन, त्यो समय नै मलाई प्राप्त भएन,’ उहाँ यसरी २०१५ अघि तिरै फर्किनुभयो ।

आफैँलाई आफू के हुँ भन्ने जानकारी नभएको अवस्थाबाट आफैँसँग संघर्ष गर्नु परेको उहाँको कथाले फेरि उहाँलाई भावुक बनायो । हाल आफूलाई पिटरको नाम दिनुभएकी उहाँले आफूलाई पुरुषबाट मनदेखि आएको महिलाको आफ्नो पहिचानमा उतार्न पाइला पाइलामा संघर्ष गर्नुपरेको सुनाउनुभयो ।

‘जब मेरो बहिनीको विवाह भयो, भाइहरु बाहिर गए (भाइहरुको पेशा उनकै आग्रहमा गोप्य राखिएको), त्यसपछि म एक्लो हुन थालें, त्यो एक्लोपनले मलाई को मनपर्छ ? मेरो चाहना के हो ? भन्ने थाहापाउन लागेँ, मेरो पहिलेदेखि नै फुपु र दिदीहरुसँग संगत थियो, केटाहरु दाजुभाइहरुसँग मेरो संगत भएन नै, उनीहरु मसँग साथीजस्तो पहिलेदेखि नै थिएनन्।’

त्यसपछि उहाँलाई आफ्नो पहिचान खोज्नुपर्छ भन्ने लाग्न थाल्यो । समाजसँग कसरी खुल्ने भन्ने उहाँलाई डर पस्यो । ‘हामी घर बनाएर इमाडोल सर्‍यौँ, त्यसै समयदेखि मलाई माया, आकर्षण र प्रेमका कुरा अलि बढी थाहा हुन लाग्यो, त्यसबेला म केटाको स्वरुपमा भए पनि केटी हुन चाहन्छु भन्ने लाग्दै गयो, तर मलाई कसरी खुल्ने भन्नेमा गाह्रो हुन लाग्यो,’ उहाँले भावुक हुँदै भन्नुभयो ।

रुप एउटा चाहना अर्कै । चाहनाअनुसार आफूलाई कसरी उतार्ने ? पिटरलाई चिन्ता बढ्यो । त्यस समय भर्खरै फेसबुक आएको थियो । फेसबुकबारे त्यसबेलासम्मका अनुजलाई जानकारी भयो । आफूलाई केटी बनाउन उहाँले फेसबुकको साहारा लिनुभयो । फेसबुकमा फेक आइडी खोले र साथी बनाएर च्याट सुरु गर्नुभयो ।

‘त्यतिबेला फेसबुकमा फेक आइडी बनाउने चलन धेरै थियो, मिग थ्रीमा ब्वाइज लभ ब्वाइज भन्ने ग्रुप पनि हुन्थ्यो, त्यहाँ गएर म बोल्थे, फेक फेसबुक बनाएर बोल्न त्यहीँबाट सिकें, म त ब्याचलर पास गरिसकेको मान्छे, मास्टर्स पढ्दै थिएँ, एक जनासँग आफन्तमार्फत् विवाहको कुरा आयो,’ उहाँले दंग पर्दै भन्नुभयो ।

घरमा जेठो सन्तानका रुपमा जन्मिएको त्यसबखतको अनुजलाई विवाहको कुरा आउनु पनि अचम्म लागेन । तर, विवाह गर्ने कुरामा भने उहाँको मन नै मानेन । ‘बाहिर रहेका आफन्तमार्फत् एउटी महिलासँग इन्गेजमेन्ट गरिदिनुभयो, बाबा ममीले नभनी नै मैले आफन्तकै सल्लाहमा इन्गेजमेन्ट त गरेँ, तर उनी भएको ठाउँसम्म म आफैं जान सकिन, उनी यता नआउने म उता नजाने भएकाले विवाह रोकियो,’ उहाँले त्यसबखतको प्रसंग सुनाउँदै भन्नुभयो ।

मनले आफ्नो वास्तविक पहिचानको खोजी गरिरहेका उहाँलाई बहुतै ठिक भए जस्तो लागेछ । ‘त्यसबेला मैले एक दुई जना गे साथी बनाइसकेको थिएँ, उहाँहरु विवाहित नै हुनुहुन्थ्यो, उहाँहरुको सुझाव मलाई विवाह गर्नु पर्छ भन्ने थियो,’ उहाँले भन्नुभयो ।

समय फेरिँदै थियो, इन्टरनेटले फड्को मार्दै गयो । अनुजले त्यसबेला चाइनाका एक जना व्यक्ति इन्टरनेटमार्फत् नै भेट्नुभयो । ‘पिटर’ नामका ती चाइनीजसँग उहाँको सम्बन्ध झाँगियो । अनुजको नजिकको साथी ती चाइनिज व्यक्ति पिटर भए ।

‘मेरो चाइनाको पिटर भन्ने एक जना साथीसँग चिनजान भयो, उसँग म इन्टरनेटमार्फत् एकदमै धेरै बोल्थे, उसँग मेरो लभ नै परे जस्तै भयो, म उसलाई एकदमै मन पराउँथे, उसँग बोल्न कुरा गर्न थालेपछि आफैँलाई के हुन्थ्यो के,’ उहाँले आफ्नो अनुभवबारे खुलाउनुभयो।

उहाँले ती चाइनिज पिटरलाई गरेको मायाले कुनै सीमा नै बाँकी राखेन । तपाई साथी जस्तै भएर सबै कुरा आज गर्दैछु उहाँले आफ्ना प्रेम कथा खोल्दै भन्नुभयो, ‘उ नेपाल नआउने म चाइना जान नसक्ने, उसँग इन्टरनेटबाटै लभ पर्‍यो, भेट्न पाइन, तर आफ्नो फस्टलभको नाम नै मैले आफ्नो नाम राख्दिएँ, त्यसबेलादेखि म अशोक, अनुजहुँदै पिटर भएँ,’ उहाँले आफू स्कूलको अनुज, घरको अशोक र पीटर भएपछिको अवस्था र प्रेमबारे खुलाउँदै भन्नुभयो,‘अनी म पिटर भएँ ।’

त्यसपछि आफूले फेरि पहिले जस्तै फेक आइडी चलाउँदै गएको उहाँले बताउनुभयो । त्यही क्रममा आफूले एकजना केटा साथी भेटेको र आफू केटीका रुपमा उनीसँग भेट्न तयार भएको भन्दै उहाँले त्यस पललाई आँखामा उतार्दै भन्नुभयो, ‘मैले फेरि फेक आइडी नै चलाउँदै गएँ, एक जना केटा साथी भेट भयो, बसन्तपुरमा उसँग डेट जाने कुरा भयो, मलाई खुसी पनि लाग्यो, असजह पनि भयो,’ आफू पहिलो पटक केटी बनेर कोही केटासँग भेट्न जान गरेको प्रयास थियो त्यो उनको,’ उहाँले बेलिविस्तार लगाउनुभयो ।

‘घरबाट कसरी निस्किने भन्ने तनाब त भइनै रह्यो, मैले १२ बजेको टाइम दिएको थिएँ, २ बजेतिर मात्रै उसँग भेट भयो, म उभन्दा केही पर नै बसेँ, सबैले मलाई नै हेरेजस्तो फिल भयो, आधा घन्टा जति उसँग कुराकानी भयो, त्यसपछि उ गयो,’ फेरि एकपटक बिदाई गरेजस्तै हात माथि उठाएर हल्लाउँदै पिटरले ती केटासाथीसँगको पहिलो भेटमा गरेको हाउभाउबारे खुल्दै भन्नुभयो ।

त्यसपछि पिटरको नीलहिरा समाजको हालकी अध्यक्ष पिंकी गुरुङ, समाजकै भूमिका श्रेष्ठ तथा सिमरन शेरचनसँग देखादेख भयो । त्यही दौरान पिटरका एक जना साथीको ‘मिस्टर गे’ भाग लिने कुरा चल्यो । आयोजक ब्लुडायमण्ड सोसाइटी नै थियो। ‘उ एक्लै आउन नसक्ने, त्यही बेला म पनि बिडिएसमा जोडिएँ, त्यसपछि मेरो बिडिएसमा आउजाउ बढ्यो, म त्यहीँ इन्टर्नका लागि काम गर्न लागेँ, २०११।०१२ त्यतीबेला नै मैले गे, ट्रान्स भन्नेबारे बुझ्न थाले, त्यतिबेलासम्म म आफू गे हुँ भन्ने लाग्थ्यो,’ उहाँले सुनाउनुभयो ।

नीलहीरा समाजमा इन्टर्न गर्दै गएपछि पिटरले आफूले घरमा आफ्नो वास्तविक पहिचान बुझेको र आफूले प्रष्ट रुपमा परिवारसँग खोलेर कुरा गर्न पटकपटक प्रयास गरेको बताउनुभयो ।

‘जब मैले आफू ट्रान्सजेन्डर हुँ भन्ने थाहा भयो, त्यसपछि घरमा भन्ने आँट गरे, पटकपटक कोसिस गरे पनि सकिन, मलाई बाबाममीलाई भन्न एकदमै गाह्रो भयो, त्यसअघि फुपुदिदी र बहिनीलाई भनिसकेको थिएँ, उनीहरुले मलाई बाहिरबाट कपडा पठाउँदा केटीकै कपडा पठाउन थालिसकेका थिए, बाबाममीलाई नभने पनि केटीले नै लगाउने लुगा ल्याइदिन थाल्नुभयो,’ दिदीबहिनीले नै बाबाममीलाई भनेको हुन सक्ने संकेत गर्दै उहाँले भन्नुभयो,‘दिदीबहिनीले नै भनेको भएर होला, उहाँहरुले मलाई गर्ने व्यवहार फरक हुँदै गयो, छोरीकै व्यवहार गर्न थाल्नुभयो, मैले आफैँले मुखै खोलेर उहाँहरुसँग भन्न सकिन,’ उहाँले सुनाउनुभयो ।

पिटरको काम नीलहीरा समाजमा चल्दै थियो । इमाडोल घरबाट आउजाउ गाह्रो भयो । त्यसमाथि पनि केटीको कपडा लगाएर अफिस जान उहाँलाई सहज भएन, केटाको कपडा लगाउन मन भएन । त्यसपछि उहाँले इमाडोल नबसेर लाजिम्पाटमा कोठा खोज्नुभयो, घरबाट केटाको स्वरुपमा निस्किने, लाजिम्पाट पुगेर महिलाको पहिरनमा अफिस जाने उहाँको दैनिकी भयो ।

‘केही दिन घरबाटै आउजाउ भयो, झोलामा कपडा हालेर कोठामा पुगेर महिलाको पहिरनमा आफूलाई चेन्ज गरेर अफिस जान थालेँ,’ उहाँले सुनाउनुभयो। बाबाममी घरमा नहुँदा भने घरबाटै महिलाको पहिरनमा अफिस जाने गरेको उहाँले बताउनुभयो ।

‘उहाँहरु घरमा नहुँदा चाहिँ म घरबाटै महिलाको पहिरनमा अफिस आउन लागें, फेरि बाबाममी आएपछि म घरबाट केटाको लुगा लगाएर आए पनि लाजिम्पाट कोठामा पुगेर कपडा फेरेरै अफिस आउने गर्थे,’ उहाँले आफ्नो कथा सुनाउँदै जानुभयो,‘त्यसपछि मलाई विवाहका लागि घरमै केटा मान्छेको कुरा आउन थाल्यो, एक जना दिदीकै आफन्तकहाँबाट फेरि बाहिरै बस्ने केटाको कुरा आयो, मैले त्यो केटा मान्छेसँग कुरा पनि गर्न थालेँ, मलाई केटी बनेर विवाह गर्न त्यसबेला एकदमै रहर जाग्यो। मलाई विवाह भन्ने कुरा एकदमै ठुलो कुरा हो भन्ने लाग्न थाल्यो, तर भिसा पाइन, म ट्रान्स भएकै कारणले मलाई भिसा दिइएन, विवाह भएर पनि म जान पाइउँदिन की भन्ने लाग्न थाल्यो । एउटा केटी हुनु र ट्रान्स हुनुमा असर पार्दोरहेछ भन्ने त्यसबेला बुझेँ । एउटा डकुमेण्टले पनि कति असर पार्दोरहेछ भन्ने त्यसबेला बुझेँ ।’

यसवर्षको तिहार उहाँका लागि बाबाममीको अगाडि लक्ष्मी बन्न जुर्‍यो । बाबाममी घर बाहिरबाट फर्किँदा घरका भित्तामा पिटरले राखेका आफ्नो महिला पहिरनको तस्बिरले बाबाममीको मन तानिसकेको रहेछ । ‘राम्री देखिएकी छौँ, तिम्रो आइडेन्टीटी देखेँ’ भन्ने बाबाको बचनले पिटरलाई तिहारबाट बाबाममीका अगाडि छोरी स्वरुपमा खुलायो । उहाँले लक्ष्मी पूजाका दिन आफूलाई महिलाकै पहिरनमा बाबाममीका अगाडि उभ्याउनुभयो ।

‘धेरैपटक कोसिस गरेँ सकिन, बाबाममी बाहिर गएका बेला घरको भित्तामा छोरी बनेको फोटो राखेको थिएँ, त्यो फोटो पहिलेपहिले झिक्दै राख्दै आएको थिएँ, तर यसपटक हटाइन,’ उहाँले भन्नुभयो, ‘ओहो राम्री देखिएकी छौँ’ बाबाको प्रतिक्रिया पाएको भन्दै उहाँले सुनाउनुभयो, ‘मलाई ठुलो आँट आयो, छोरी बनेर आर्शिवाद मागेँ, पहिले छोरा भएर जन्मिएको अहिले छोरी भयौँ, आँटेको सोचेको पूरा होस् भनेर आर्शिवाद दिनुभयो ।’

उहाँले आफ्नो पहिचान र स्वअनुभूतिले जितेको त्यो दिनलाई सम्झँदै भन्नुभयो,‘त्यो दिन मेरा लागि विशेष दिन बन्यो, म घरमै पिटर भएँ, छोरी भएँ, ट्रान्सजेन्डर भएँ, मैले मेरो पहिचान पाएँ,’ उहाँले विजयउत्सवको झल्को दिने गरी सुनाउँदै जानुभयो ।

पिटरले २०२१ देखि नियमित हर्मोनको सेवन गर्दै आइरहनुभएको छ। ‘आफ्नो स्वरुपलाई परिवर्तन गर्न मैले हरेक दिन हर्मोन लिइरहेको छु, यो नखाए नशाहरु देखिने, अनुहार नरम नहुने हुन्छ, रेगुलर नै खाइरहेको छु,’ उनले भन्नुभयो ।

आफूले शरीरमा लगाउन एउटा ‘जेल क्रीम’ पनि प्रयोग गर्ने गरेको उहाँले जानकारी दिनुभयो । ‘जेलले फिमेल हर्मोन बनाउन सहयोग गर्छ, बडीमा लगाउने गरेको छु, सर्जरी गर्ने मेरो प्लान छैन, रहर छै,’ पिटर भन्नुहुन्छ ।

बेहुली बन्ने रहर
पिटरलाई अहिले बेहुली बन्न रहर लागेको छ । पहिले आफ्नो पहिचानको खोजीको लडाइँमा रहनुभएकी उहाँलाई अहिले विवाह गर्न मन छ । ‘मलाई बाबाले विवाह गर्ने प्लान के छ भनेर सोध्ने गर्नुहुन्छ । लाइफमा एक्लै होलिउ विचार गर भन्दै आउनुभएको छ, कसैलाई ज्वाइँँ बनाएर लगेँ भने स्वीकार्नु हुन्छ, अहिलेसम्म एक्लै छु, ४० वर्षसम्ममा विवाह गर्छु भन्ने छ, बेहुली बन्ने मन छ,’ उहाँले रहर खोल्दै भन्नुभयो ।

श्रीमानमार्फत् सर्जरीको अपेक्षा भएमा भने आफूले विवाहपछि सोच्न सक्ने बताउँदै उहाँले भन्नुभयो, ‘पर्फेक्ट हाउस वाइफ, पर्फेक्ट बुहारी भएर उसको घरमा रहन्छु, श्रीमान्‌लाई कम्फर्टेबल भएन र तिमी सर्जरी गर भन्ने सुझाव आयो भयो म त्यसका लागि पनि तयार हुनेछु, तर श्रीमान्‌लाई र परिवारलाई तेरो बुहारी यस्तो भन्ने कुरामा उहाँहरुले स्ट्याण्ड लिन सक्नुपर्छ, म हरेक कुरामा कम्परमाइज गर्न तयार छु ।’

आजको आजै यो समुदायका व्यक्तिले आफूलाई समाजमा खुलाउन नसक्ने उहाँ बताउनुहुन्छ । पहिले आफूले आफूलाई बुझ्नु पर्ने भन्दै उहाँले त्यसपछि मात्रै समाज र परिवारमा आफ्नो पहिचानका लागि लड्न सकिने आफ्नो अनुभवले सिकाएको उहाँले बताउनुभयो ।

‘म पहिल्यैदेखि फरक थिएँ, पहिलेदेखि नै भाँडाकुटी खेल्ने, भाडा माझ्न मन लाग्ने, फुटबलमा मन नै नजाने मेरो सानैदेखिको स्वभाव थियो, बाबालाई मैले त्यसपछि यी सब कुराहरु स्मरण गराएँ,’ उनले आफ्नो पहिचान पाएपछि बाबासँगको संवादलाई उल्लेख गर्दै भन्नुभयो। पिटरले आफ्नो पहिचानलाई अरुले स्वीकार्ने गरेर आफ्नो व्यवहार देखाउनु पर्ने र त्यसका लागि समुदायका व्यक्तिहरु पनि परिवर्तन हुन जरुरी रहेको बताउनुभयो । ‘अब कन्सेप्टलाई अलिकति चेन्ज गर्नुपर्ने बेला आइसकेको छ,’ उहाँले भन्नुभयो । (महेश गौतम–नेपाल न्यूज बैंक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *