आकांक्षा धामी
काठमाडौँ, १७ मंसिर । वायु प्रदूषणको समस्या बर्सेनी बढ्दो छ । यो समस्या जाडोमा झनै बढ्छ । वायु प्रदूषणबाट विशेषगरी काठमाडौँ उपत्यकाबासी हैरान छन् । वायु प्रदूषण नेपालमा मात्र नभइ विश्वमा तीव्र रुपमा बढिरहेको विज्ञहरु बताउँछन् ।
काठमाडौँमा वायु प्रदूषण बर्खामा कम र जाडोमा बढी हुने गरेको वातावरण विभागका वातावरण निरीक्षक गोविन्दप्रसाद लामिछाने बताउनुहुन्छ । पानी पर्दा वायुमण्डलमा भएको प्रदूषण पखालिन्छ । तर, जाडोमा पानी कम पर्ने र अन्य कारणले वायु प्रदूषण बढ्छ ।
खासगरी वायु प्रदूषण हिउँद याममा बढ्ने गरेको उहाँको भनाइ छ । नेपाल न्यूज बैंकले गरेको कुराकानीमा उहाँले विशेषगरी कात्तिकपछि वायु प्रदूषण बढ्न थालेको बताउनुभयो ।
उहाँले प्रदूषण चिसोले गर्दा पुस–माघसम्म धेरै हुने गरेको बताउनुभयो । साथै चैत–वैशाखमा समेत आगलागीका घटना र वनडढेलोका कारण पनि वायु प्रदूषण बढ्दै जाने बताउनुभयो । खासगरी काठमाडौँमा दसैँपछि र तिहारभन्दा केही अगाडिबाट वायु प्रदूषण बढ्न थालेको बताउनुभयो । उहाँले अलिकति शनिबार र बिदाको समयमा वायु प्रदूषण घट्ने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘विशेषगरी वायु प्रदूषण हिउँद याममा बढ्छ । कात्तिकपछि बढ्न थालेको छ । पुस माघसम्म चिसोले गर्दा वायु प्रदूषण बढ्छ । फेरि चैत–वैशाखमा आगलागीका घटनाहरु र वन क्षेत्रमा लाग्ने डढेलोलगायतका घटनाहरुले पनि चैत–वैशाखमा प्रदूषण उच्च हुने जोखिम हुन्छ ।’
यसैगरी पानी पर्न थालेपछि मनसुनको समयमा वायु प्रदुषण कम हुने गरेको उनको भनाइ छ । मुख्यतया सहरी क्षेत्र काठमाडौं र त्यसबाहेक ठूला ठूला सहरहरु पोखरा, र तराइमा बढी प्रदुषण हुने गरेको उनले बताए ।
उनले भने, ‘पानी पर्न थालेपछि मनसुनको समयमा वायु प्रदूषण कम हुने गर्छ । मुख्यतया नेपालको सन्दर्भमा सहरी क्षेत्र काठमाडौँ उपत्यका भइ नै हाल्यो, त्यसबाहेक ठुला ठुला सहरहरु पोखरा र तराई बढी प्रदूषण हुने क्षेत्रमा पर्छन् । पश्चिम तराइको तुलनामा पूर्वको तराईमा प्रदूषण अझ बढी हुने गरेको विगतका तथ्यांकहरुले देखाएको छ ।’
साथै एक्युआइको स्केल शून्यदेखि पाँचसयसम्म हुन्छ । जसमा शून्यदेखि ५० सम्म एक्युआई छ भने त्यो वातावरणका लागि राम्रो मनिने तथा ५० देखि एकसयको एक्यूआई मध्यम स्तरको मनिन्छ । साथै एकसयभन्दा माथि जतिपनि बढ्दै जान्छ त्यती नै प्रदूषणको तह उच्च हुँदै जाने बताउनुभयो । एकसयदेखि १५० को संवेदनशील वर्गको लागि हानिकारक मनिन्छ । तीन सयभन्दा माथि एक्युआई गयो भने त्यो अवस्था खतरनाक नै मानिने उहाँको भनाइ छ ।
साथै उहाँले देशभर २९ ठाउँमा वायु गुणस्तर मापन केन्द्रहरु रहेको बताउनुभयो । काठमाडौँसहित धुलिखेलमा समेत वायु प्रदूषण मापन केन्द्रहरु रहका छन् । साथै उहाँले देशको विभिन्न ठाउँहरुमा रहेका वायु प्रदूषण गुणस्तर मापन केन्द्रहरुबाट तथ्यांकहरु लिने गरिएको बताउनुभयो ।
वायु प्रदूषणको तथ्यांक घन्टा घन्टामा नै परिवर्तन भइरहेको हुन्छ । मसिनो धुलोका कणहरुले पनि काठमाडौँ उपत्यका सबैभन्दा बढी वायु प्रदूषण सहरको नाममा रहेको पाइन्छ ।
उहाँले भन्नुभयो, ‘काठमाडौँमा आर्थिक कारोबार र सवारी चाप बढी हुन्छ त्यहीँ कारणले पनि वायु प्रदूषण बढ्ने गर्छ । यहाँ यातायातका साधनहरु धेरै छन् । मुख्यतया यातायातका साधनहरु नै वायु प्रदूषणका मुख्य कारण हुन् । बाहिरबाट आउने वायु प्रदूषण पनि हुन्छ । जस्तै यस वर्षको वायु प्रदूषण नै हेर्ने हो भने काठमाडौँ बाहिर तराई क्षेत्रबाट र नयाँ दिल्लीबाट समेत काठमाडौँमा वायु प्रदूषणको असर परिरहेको हुन्छ ।’
उहाँले काठमाडौँ उपत्यका कचौँरा आकारको भएकाले पनि चिसो बढेसँगै उपत्यकाको हावा सजिलै बाहिर जान पाउँदैन र उत्सर्जन नहुने भएकाले उपत्यकामा बढी वायु प्रदूषणको जोखिम हुने गर्दछ ।
साथै उहाँले बाहिरको वायु प्रदूषण कम गर्न सवारी साधनको प्रणालीमै सुधार गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘उद्योगको सही तरिकाले व्यवस्थापन गर्नुपर्छ । फोहोर व्यवस्थापनको कुरा पनि मुख्य रुपमा आउँछ । धुलो–धुँवा बढी हुन्छ र वायु पदूषण बढाउँछ । ’
यसैबीच लामिछानेले वायु प्रदूषणले गर्दा मानव स्वास्थ्यमा धेरै असर पर्ने बताउनुभयो । उहाँले श्वास प्रश्वाससम्बन्धी रोगहरु र मुटुसम्बन्धी रोगहरुको मुख्य कारण नै वायु प्रदूषण भएको बताउनुभयो । उहाँले वृद्घ आमाबुबा, बच्चाहरुमा तथा मुटुका रोगीहरुलाई वायु प्रदूषणले धेरै असर पार्ने गरेको बताउनुभयो ।
यसरी वायु प्रदूषणलाई न्यूनीकरण गर्न सरकारी निकायको महत्त्वपूर्ण भूमिका रहने जिकिर गर्नुभयो । साथै, उहाँले सबैले सचेत भएर सावधानीका उपायहरु अपनाउन समेत आग्रह गर्नुभयो । वायु प्रदूषण उच्च भएको समयमा सधैँ मास्क लगाउनुका साथै खतरनाक अवस्थामा नै वायु प्रदूषण भएको छ भने सकेसम्म घरमै बस्नुपर्ने उहाँको सुझाव छ ।
उहाँले वायु प्रदूषणलाई कम गर्नका लागि सरकारले मात्रै चाहेर केही गर्न नसकिने बताउनुभयो । प्रदूषणका कारण यति धेरै छन् । त्यसमा काम गर्न सक्यौं भने मात्रै प्रदूषण घट्ने हो । त्यसैले वायु प्रदूषण भइसकेपछि घटाउने भन्दा पनि प्रदूषण हुनै नदिने तर्फ सोच्नुपर्ने समय आएको उहाँको भनाइ छ ।
उहाँले वायु प्रदूषण कम गर्नका लागि लागि सरकार सँगसँगै आम जनता स्वास्थ्यकर्मी, मिडियाकर्मी, विभिन्न एनजिओ, आइएनजिओ आ–आफ्नो तर्फबाट सक्दो पहल गर्न लाग्नुपर्ने बताउनुभयो ।
जस्तै, केही वस्तु जलाउँदा निस्किने धुँवाले प्रदूषण बढाउँछ भने फोहोरजन्य पदार्थ नजलाउने, हामीले चलाउने यातायातका साधन समय समयमा मर्मत गर्ने, वनजंगलमा आगो नलगाउने, सकेसम्म आफ्नो घर वरपर हरियाली वातावरण बनाउने यस्तै कुराहरुमा सबैले ध्यान दियौँ भने केही हदसम्म वायु प्रदूषण कम गर्न सकिने उहाँको भनाइ छ ।