काठमाडौँ, २२ मंसिर । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल आँखा अस्पताललाई खेलाडीहरुलाई उपचार खर्च मिनाहा गर्ने सम्झौता गर्ने प्रस्ताव राख्नुभएको छ ।
शनिबार नेपाल आँखा अस्पतालको २०औँ साधारणा सभालाई सम्बोधन गर्दै उहाँले अन्तर्राष्ट्रिय स्तरमा खेलेका खेलाडीहरुलाई सरकारले रोजगारी र स्वास्थ्य सुविधा दिन नसकेको भन्दै खेलाडीहरुलाई उपचार खर्च मिनाहा गर्ने प्रस्ताव राख्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘म युवा तथा खेलकुदमन्त्री भएको नाताले सभामा एउटा प्रस्ताव राख्न चाहन्छु । नेपालमा अन्तर्राष्ट्रिय स्तरमा खेलेको खेलाडीहरुलाई सरकारले न रोजगारी दिन सकेका छौँ, न स्वास्थ्यमा सुविधा दिन सकेका छौँ । राम्रो बीमा पनि गर्न सक्या छैनौँ । जसका कारण खेलाडीहरु अहिले विदेश पलायन भइसकेका छन् । त्यसैले कम्तिमा आँखा अस्पतालहरुले खेलाडीहरुलाई उपचार खर्च मिनाहा गर्ने सम्झौता गर्ने हो भने सजिलो हुन्छ कि ?’
यस्तै, उहाँले अस्पताल पहिलाभन्दा धेरै राम्रो अवस्थामा पुगे पनि अझै सुधार गर्न आवश्यक भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अस्पताल पहिलाभन्दा धेरै राम्रो अवस्थामा पुगिसकेको छ । तर, पनि केही प्रश्नहरु कहिले काहीँ उठ्ने गरेको छ । त्यस्तो प्रश्नहरुको सम्बोधन गर्दै जानुपर्छ ।’
यसका साथै यो एक वर्षको अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरुको लागि गंगालालले पूर्णरुपमा निःशुल्क उपचार गरिदिएको पनि उहाँले बताउनुभयो ।