विराटनगरमाथि काठमाडौँको रोमाञ्चक जित

काठमाडौँ, ३० मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आइतबारको पहिलो खेलमा काठमाडौँ गुर्खाजले विराटनगर किंग्सलाई एक विकेटले पराजित गरेको छ ।

काठमाडौँ गुर्खाजले १८.१ ओभरको खेलमा ९ विकेट गुमाएर १२० रन बनाउँदै विराटनगरमाथि रोमाञ्चक जित हासिल गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले १९.४ ओभरको खेलमा अलआउट भएर ११७ रन बनाएको थियो ।

काठमाडौँका लागि प्रतीक श्रेष्ठले सर्वाधिक ३९ रन जोडे । उनले ३४ बलमा २ चौका र २ छक्का प्रहार गरे । १४औँ ओभरको तेस्रो बलमा अनिल खरेलको बलमा प्रतिक आउट भए । लगत्तै पहिलो बलका सामना गरिरहेका कप्तान करण केसीलाई पनि उनले नै बोल्ड आउट गरे ।

राशिद खानले १५ बलमा १ चौका र १ छक्काको सहयोगमा १४ रन जोडे । राशिद विराटनगरका कप्तान सन्दीप लामिछानेले बोल्ड आउट गराए । ओपनर माइकल लेभिट ६ बलमा १० रन बनाउँदै कप्तान सन्दीपकै बलमा आउट भए । अर्का ओपनर स्टेफन स्किनाजी १ रन बनाउँदै बसिर अहमदको बलमा आउट भए ।

तल्लो क्रमका ब्याटर दीपेश कँडेलले ५ बलमा नट आउट ११ रन जोड्दै रोमाञ्चक जित दिलाए । जेहार्ड एरास्मस ७ बलमा १२ रन जोड्दै विराटनरका कप्तान सन्दीपको बलमा आउट भए । विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले ३ तथा अनिल खरेल र क्रिस सोल, बसिर अहमदले समान २ लिए ।

विराटनगरका लागि राजेश पुलामी मगरले सर्वाधिक २५ रन जोडे । उनले २१ बलमा १ चौका र १ छक्का प्रहार गरे । उनी २०औं ओभरको चौथो बलमा कप्तान करण केसीद्वारा आउट भए ।

ओपनर दिपक बोहोराले २४ बलमा २ चौकाको सहयोगमा २० रन जोडे । दिपक नवौँ ओभरको अन्तिम बलमा दिपेश कंडेलको एलबिडब्लु सिकार हुन पुगे । स्कट एडवार्डस १४ बलमा १५ रन बनाउँदै जेहार्ड एरास्मसको बलमा बोल्ड आउट भए । बसिर अहमद १३ बलमा १३ बनाउँदै आउट भए ।

बसिरले १५औँ ओभरको दोस्रो बलमा छक्का प्रहार गरेका थिए । त्यसपछिको बलमा साहब आलमविरुद्ध ठुलो सटको प्रयास गर्दा बाउन्ड्रीमा भीम सार्कीबाट क्याच आउट भए ।

ओपनर लोकेस बम ९ बलमा ८ रन बनाउँदै डान डाउनवेथटको एलबिडब्लु सिकार भए । निकोलस किर्तन १९ बलमा १२ रन बनाउँदै रन आउट भए । इस्मात आलम ५ रन बनाउँदै दिपेश कंडेलको बलमा बोल्ड आउट भए ।

काठमाडौँका लागि जेहार्ड एरास्मसले ३, दीपेश कंडेलले २ तथा डान डाउथवेट, करण केसी र शाहब आलमले समान १ विकेट लिए ।

जितसँगै काठमाडौँले प्लेअफ सम्भावना कायमै गरेको छ । यसअघि लुम्बिनी लायन्स, विराटनगर, पोखरा एभेन्जर्स प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

पराजित विराटनगर यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो । यस संस्करणको अन्तिम खेल विराटनगरले हारका साथ प्रतियोगिता समाप्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *