नेपाल पत्रकार महासंघको अध्यक्षमा शर्मा निर्वाचित

काठमाडौँ, १ पुस । नेपाल पत्रकार महासंघको अध्यक्ष पदमा निर्मला शर्मा विजयी हुनुभएको छ । आइतबार राति महासंघ केन्द्रीय निर्वाचन समितिले शर्मा अध्यक्षमा निर्वाचित भएको घोषणा गरेको हो ।

प्रेस चौतारी नेपाल र प्रेस युनियन गठबन्धनबाट अध्यक्षको उम्मेदवार रहनुभएकी शर्मा ४ हजार २८२ मतसहित अध्यक्षमा निर्वाचित हुनुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्द्वी रमेश विष्टले ३ हजार २०३ मत प्राप्त गर्नुभएको छ ।

शर्माले विष्टलाई एक हजार बढी मतको अन्तरमा पराजित गर्नुभएको हो । अध्यक्षका अर्का उम्मेदवार देवीप्रसाद सापकोटाले २७० र लालसिंह लामाले ९६ मत पाउनुभएको थियो ।

वरिष्ठ उपाध्यक्षमा दीपक उपाध्याय विजयी हुँदा उपाध्यक्ष महिलामा निनु पण्डित उपाध्यक्ष समावेशीमा उमिद प्रसाद बागचन विजयी हुनुभएको छ । आचार्यले ४ हजार २३०, पण्डितले ४ हजार ७०५ र बागचनले ४ हजार २९२ मत पाउनुभएको छ ।

त्यस्तै, महासचिवमा रामप्रसाद दाहाल निर्वाचित हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी लेखनाथ न्यौपानेलाई पराजित गर्दै महासंघको महासचिवमा निर्वाचित हुनुभएको हो ।

विजयी भएका दाहालले ४ हजार ८४ मत प्राप्त गर्नुभयो भने न्यौपानेले १ हजार ९२९ मत गर्नुभयो । यसैगरी सोही पदमा उम्मेदवार जन्मदेव जैशीले १ हजार १५८ मत प्राप्त गर्दा प्रकाश थापाले ४८८ मत प्राप्त गर्नुभयो ।

खुला सचिवमा रमेश खतिवडा, सचिव महिलामा सोनी शर्मा, सचिव आदिवासी जनजातिमा सविन प्रियासन, सचिव मधेसीमा अशोक कुमार तिवारी, सचिव दलितमा प्रकाश धौलाकोटी र सचिव एसोसियटमा वैकुण्ठराज पराजुली विजयी हुनुभएको छ । त्यस्तै, कोषाध्यक्षमा रामकृष्ण अधिकारी विजयी हुनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *