हुलाक सेवालाई आधुनिकीकरण गर्न आवश्यक : मन्त्री गुरुङ

काठमाडौँ, १ पुस । सञ्चार तथा तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक सेवालाई आधुनिकीकरण गर्न आवश्यक रहेको बताउनुभएको छ ।

सोमबार काठमाडौँमा आयोजित हुलाक टिकटहरुको प्रथम दिवसीय आवरण टाँचा प्रदान कार्यक्रम २०८१ मा बोल्नुहुँदै उहाँले नेपालको आफ्नै कुरियर सेवालाई आधुनिकीकरण गरेर व्यवसायिक बनाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘नेपालको आफ्नै कुरियर सेवालाई आधुनिकीकरण गर्नुपर्छ । यसलाई व्यवसायिक बनाउनुपर्छ । आज लाखौँ कमाउने ठाउँमा भोलि आधुनिकीकरण भयो भने अर्बौँ राजश्व उठाउन सक्छौँ । यसका लागि व्यवसायीकरण बनाउन जरुरी छ । जनशक्तिका हिसाबले पनि यसलाई आधुनिक प्रविधियुक्त बनाउनुपर्छ । तर, हुलाक सेवा अहिलेसम्म डिजिटाइज हुन सकेको छैन । यसकारण सेवाको पनि आधुनिकीकरण गर्नुपर्छ । धेरै भन्दा धेरै राजश्व आर्जन गर्ने ठाउँ हुलाक सेवा पनि हो ।’

उहाँले सरकारले अब नेपाली जनताहरु कानुन मिचेर गएर लुक्ने ठाउँहरुको खोजी गरी त्यस्ता व्यक्तिहरुलाई समात्ने कुरामा गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘नेपाल सरकारले अब जहाँ–जहाँ यहाँको नेपाली जनताहरु कानुन मिचेर गएर लुक्ने ठाउँहरु छन् । तिनलाई कारबाही गर्न नसक्ने अवस्था रहेकाले ती धेरै देशहरुसँग सन्धि गर्नुपर्ने रहेछ । त्यसरी मात्रै त्यो देशमा लुकेर बसेका र खोजिरहेका व्यक्तिलाई समात्न सक्छौँ । यसमा सरकारको गम्भीर ध्यानाकर्षण भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *