काठमाडौँ, १ पुस । नेपाल सरकार र चिनियाँ प्रतिनिधिबीच राँगाको मासु निर्यात गर्नेसम्बन्धी प्रोटोकल सम्झौतामा हस्ताक्षर भएको छ । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।
सोही क्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले यो सम्झौता नेपाल चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजीकरणका लागि कोशेढुङ्गाको रुपमा रहेको बताउनुभएको छ ।
नेपाल र चीनबीच भएको सम्झौताले नेपाली किसानलाई राँगा भैँसीपालनका लागि थप प्रोत्साहित गर्ने भन्दै नेपालमा राँगाभैँसी पालन समाजको अभिन्न अङ्गको रुपमा रहेकोले यसको दिगो उत्पादन तथा उपलब्धता सुनिश्चित भएको बताउनुभयो ।
यस्तै, उहाँले नेपाल सरकार नेपाली जनतालाई स्वदेशमा नै रोजगारी सिर्जना गर्न लागिरहेको सन्दर्भमा पशुपन्छी पालन रोजगारी सिर्जनाको एउटा महत्त्वपूर्ण क्षेत्रको रुपमा अगाडि आएको पनि बताउनुभयो ।
यसको साथै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पनि यो सम्झौताले नेपाललाई धेरै कुराहरुमा सहयोग पुग्ने भन्दै यसले दुई देशबीच अझ राम्रो सम्बन्ध स्थापित भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘लामो समयदेखि चीन र नेपालबीच राम्रो सम्बन्ध रहेको छ । आवश्यक परेको बेला एकअर्कालाई सहयोग गर्ने हाम्रो ऐतिहासिक परम्परा हो । आज जुन सम्झौता भयो, यसले हामीलाई धेरै कुराहरुमा सहयोग पुर्याउछ । एउटा विषयले धेरै कुरालाई छुने गर्छ त्यसैले यो सम्झौताले दुई देशबीच अझ राम्रो सम्बन्ध जोड्ने काम गर्छ ।’