सरकार अहिले ढल्छ, भरै ढल्छ भनेर धारे हात लगाइरहेका छन् : प्रधानमन्त्री ओली

काठमाडौँ, ३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठुला दलको सहकार्यमा नयाँ सरकार बनाउनु परेको बताउनुभएको छ ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा नेकपा (एमाले) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले अघिल्लो सरकारतर्फ लक्ष्य गर्दै कमिलाको आयु पुग्यो भने पखेटा पलाउँछ भने झैँ मुलुकका एमाले र कांग्रेसजस्ता पार्टी हुँदाहुँदै कस कसका के के नाँच चलेका हुन् भनेर जनताले भन्न थालेपछि स्थिरतातर्फ देशलाई फर्काउन आफूहरुले नयाँ सरकार बनाएको स्पष्ट पार्नुभयो ।

‘हामी सुशासन र विकास फेरि फर्काएर मुलुकलाई गन्तव्यमा लाने छौँ । हाम्रो सरकारलाई सराप्नेहरु पनि नभएका होइनन् । सरकार अहिले ढल्छ, भरै ढल्छ भनेर धारे हात लगाउनेहरु छन्,’उहाँले भन्नुभयो,‘यी दुई पुराना पार्टीले समाज सुधारको यात्रा सञ्चालन गर्दै आएक छन् । राजाका पालामा अनेक मुद्दा मामिला लगाएर जनतालाई फसाउने, जातीय विद्वेष फैलाउने काम भएका थिए । हामी मानिस हौँ र मानिस भनेको सबै बराबर हुन्छ । जातपात भन्ने नचाहिने कुरा हो । यसको अन्त्यका लागि हामी विद्यमान कानुनमा आवश्यक संशोधनका लागि पनि लाग्ने छौँ ।’

प्रधानमन्त्री ओलीले जातीय छुवाछुत र साम्प्रदायिकता घुणास्पद कार्य तथा समाज विकासको ऐजेरु भएकाले यसलाई फेदैमा उखेलेर फाल्न अहिलेको सरकार तत्पर रहेको र जातीय उत्पीडनको काँडा निकाल्न लागिपर्ने बताउनुभयो ।

असमानता, अन्याय, छुवाछुत र दुःख भोगेर कोही सुख हुन सक्दैन नसक्ने र सुखी हुन असमानता र छुवाछुत हटाउनुपर्नेमा जोड दिनुहुँदै प्रधानमन्त्री ओलीले संविधानमा आफूहरुले त्यही भएर सामाजिक न्याय र समानताको व्यवस्था गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘मान्छे एउटै हो । जन्मदै कोही पनि श्रेष्ठ हुँदैन । जन्मदै श्रेष्ठ वा ठुलो जातको हो भनिनु मान्य हुँदैन । सरकारले त्यस्ता कुराहरुलाई मान्यता दिँदैन ।’

कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समता र समन्वय नै मुलुकको विकासको पहिलो आधार हो भन्ने यर्थातलाई बुझेर सबैले गहिरोगरी आत्मसाथ गर्नुपर्ने आजको आवश्यकता रहेको बताउनुभयो । राज्यका सबै जातजाति, समुदाय र क्षेत्रको समतामूलक विकासले मात्रै मुलुकको समग्र विकास सम्भव रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो,‘समता र समन्वय नै मुलुकको विकासको पहिलो आधार हो भन्ने यर्थातलाई बुझेर सबैले गहिरोगरी आत्मसाथ गर्नुपर्ने आजको आवश्यकता हो भन्ने कुरामा कसैको पनि विमति छैन । राज्यका सबै जातजाति समुदाय क्षेत्रको समतामूलक विकासले मात्रै मुलुकको समग्र विकास सम्भव हुन्छ ।’

उहाँले जातीय समानताको स्थापनाका लागि संविधान र कानुनको पालनाका साथै सामाजिक सुधारका लागि पनि लाग्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *