विद्यालयमा स्वास्थ्य सचेतना फैलाउन स्वास्थ्य दूत नियुक्त गरिने

काठमाडौँ, १८ पुस । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विद्यालयमा स्वास्थ्य सचेतना फैलाउनका लागि विद्यालय स्वास्थ्य दूत नियुक्त गर्ने निर्णय गर्नुभएको छ । विद्यालय नर्स कार्यक्रम लागु भइहेका विद्यालयमा स्वास्थ्य प्रवर्द्धनात्मक विद्यालय र विद्यालय स्वास्थ्य दूतसमेत रहनेगरी मन्त्री पौडेलले विद्यालय स्वास्थ्य सेवा तथा नर्सिङ कार्यक्रम सञ्चालन निर्देशिकालाई परिमार्जन गरी नयाँ निर्देशिका स्वीकृत गर्नुभएको छ ।

अब विद्यालय नर्सिङ कार्यक्रम लागु भएका विद्यालयमा कक्षा ७ र ८ मा अध्ययनरत विद्यार्थीले स्वास्थ्य दूतका रुपमा स्वास्थ्यसम्बन्धी आधारभूत जानकारी तथा स्वास्थ्य सजगतासम्बन्धी जानकारी फैलाउन विद्यालय नर्सलाई सघाउने छन् । यसैगरी, नियमित खोप कार्यक्रम तथा अन्य सचेतनामूलक कार्यक्रममासमेत विद्यालय स्वास्थ्य दूतलाई उपयोग गर्ने गरी मन्त्रालयले निर्देशिका परिमार्जन गरेको हो । विद्यालय स्वास्थ्य दूतलाई मन्त्रालयले दूतको परिचय र ब्याचका अलावा आवश्यक स्वास्थ्य जानकारीमूलक सामग्री पठाउनेछ ।

हाल देशका सातै प्रदेशका एक हजार ३८६ विद्यालयमा कार्यक्रम लागु भइहेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलले रोग निरोधात्मक कार्यक्रमका लागि विद्यालयलाई समेत सहभागी गराउने गत साउन २७ गते योजना तथा कार्यक्रममा घोषणा गर्नुभएको थियो । सोही कुरालाई मद्धत मिल्ने गरी हाल निर्देशिका परिमार्जन गरेर विद्यालय स्वास्थ्य दूत थप्न लागिएको हो ।

पाँच सय विद्यार्थी भएका विद्यालयमा एक छात्र र एक छात्रा स्वास्थ्य दूत बन्ने छन् । उनीहरुलाई मन्त्रालयको नर्सिङ महाशाखामार्फत् स्थानीय तह र विद्यालयका नर्सहरुले सचतेनामूलक कार्यक्रममा सहभागी र नेतृत्व दिलाउने छन् । ‘हामीलै नागरिकको स्वास्थ्य सुधार गर्न बालबालिका तहबाटै काम हुनुपर्छ भनेर यस्तो व्यवस्था गरेका हौँ,’ मन्त्री पौडेलले भन्नुभयो, ‘यसले बालबालिका र उनीहरुमार्फत समुदायको स्वास्थ्य जानकारी वृद्धि हुने अपेक्षा गरेका छौँ ।’

मन्त्रालयले यस वर्ष प्रयोगका रुपमा लागु गर्ने र अगामी वर्ष बजेटमा व्यवस्था गरेर कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । ‘विद्यालयमार्फत् सचेतना थप प्रभावकारी हुन्छ भन्ने मन्त्रीज्यूको विश्वास छ,’ उहाँले भन्नुभयो, ‘त्यसैलाई आधार मानेर नयाँ व्यवस्था गरिएको हो ।’

अहिले विद्यालय नर्स कार्यक्रमका लागि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरिरहेको छ । तीनवटै तह मिलेर बालबालिकाको तहसम्म सचेतना फैलउने काम गर्दा प्रभावकारी हुने विश्वासका साथ मन्त्री पौडेलले विद्यालय दूत कार्यक्रम अघि बढाएको उहाँको निजी सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *