नयाँ पाइपलाइन बिच्छाएका ठाउँमा चाँडै मेलम्चीको पानी पुग्छ : मन्त्री यादव

काठमाडौँ, २१ पुस । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा पछिल्लो समय खानेपानीका नयाँ पाइपलाइनहरु बिच्छाइएका ठाउँहरुमा चाँडै मेलम्चीको शुद्ध पानी वितरण गरिने बताउनुभएको छ ।

आइतबार मन्त्रालयमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्नुहुँदै मन्त्री यादवले काठमाडौँका अधिकांश ठाउँहरुमा खानेपानीका नयाँ पाइपलाइन बिच्छाउने कार्य करिब करिब अन्तिम चरणमा पुगेकाले चाँडै नै ती लाइनहरुबाट मेलम्चीको शुद्ध पानी वितरण गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नयाँ पाइपलाइन बिस्तारको कार्य करिब करिब सकिएर अहिले परीक्षणको काम हुँदै छ । केही दिन धैर्य गर्नुस् नयाँ पाइपलाइन बिस्तार भइरहेका ठाउँमा म आफैँ अनुगमनका लागि खटिँदै आएको छु । अब सबैको घरघरमा नयाँ पाइपलाइनबाट मेलम्चीको पानी पठाउने छौँ ।’

सोही क्रममा मन्त्री यादवले एक महिनाभित्र काठमाडौँ उपत्यकाभित्र जहाँ जहाँ नयाँ पाइप लाइन बिस्तार गरिएको छ । त्यो क्षेत्रमा मेलम्चीको पानी वितरण गरिने दाबी समेत गर्नुभयो ।

यसैगरी मन्त्री यादवले काठमाडौँ उपत्यकामा खानेपानीका पाइप लाइनबाट पानी चुहावट हुने कार्य तत्काल नियन्त्रण गर्नका लागि मातहतका निकायहरुलाई निर्देशन दिएको बताउनुभयो ।

सञ्चारकर्मीहरुसँगकै कुराकानीमा मन्त्री यादवले सडक मर्मत एवम् निर्माण गर्ने क्रममा अधिकांश ठाउँमा खानेपानीका पाइपहरु भत्काइएका र फुटाइएका भए पनि सम्बन्धित निर्माण कम्पनी र कार्यालयले मर्मत नगरी दिँदा काठमाडौँ उपत्यकामा खानेपानी वितरण प्रक्रियामा निकै कठिनाइ उत्पन्न भएको गुनासो गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *