काठमाडौँ, २३ पुस । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेतृत्व गर्नेहरुको मति ठिक नभएकाले गति पनि ठिक नभएको बताउनुभएको छ ।
मंगलबार काठमाडौँमा आयोजित नेपाल प्रजातन्त्र सेनानी संघ बागमती प्रदेशको प्रथम अधिवेशनको उद्घाटन कार्यक्रममा उहाँले सबैजना भ्रष्टाचारमा गाजिएको भन्दै जनताको विश्वास भए पनि ठिक तरिकाले विकास र परिवर्तन गर्न नसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेतृत्व गर्नेहरुको मति ठिक नभएको हुनाले गति पनि ठिक नभएको मलाई लागेको छ । मति ठिक नभएको कुरा खासगरी भ्रष्टाचारसँग जोडिएको छ । आम नागरिकले के सोच्छ भ्रष्टाचारकै कारणले गर्दा गति लिन सकेको छैन । नत्र हामीलाई विश्वास नगरेको हो र विश्वास भए पनि किन ठिक तरिकाले विकास र परिवर्तन गर्न सकिरहेका छैनौँ । भ्रष्टाचारले गर्दा, भ्रष्टाचारले यसरी गाज्यो की ठिक गति समात्न सकेनौँ । यही तीन वर्षभित्रमा नेपाली समाज भ्रष्टाचारका सन्दर्भमा अहिले जुन अवस्थामा छौँ । त्यसलाई न्यून गर्नेतर्फ काम गरेर देखाउनु पर्ने छ ।’
यसको साथै उहाँले जनताले सुनेका जति पनि काण्डहरू छन् त्यसको लामो लिस्ट बनाएर सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने भन्दै त्यसमा जतिसुकै शक्तिशाली प्रधानमन्त्री, मन्त्री भए पनि नेपालमा सार्वजनिक ओहोदामा बसेर भ्रष्टाचार गरेको मान्छेलाई नेपाली समाजले नछोड्ने बताउनुभयो ।