मओवादी बैठकबाट १६ समसामयिक प्रस्ताव पारित [पूर्णपाठ]

काठमाडौँ, २३ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले आठौँ केन्द्रीय समितिको छैटौँ पूर्ण बैठक एकता र विजयको बैठक भएको बताउनुभएको छ ।

पार्टीको तीन दिनसम्म चलेको बैठकको अन्तिम सत्रलाई सम्बोधन गर्नुहुँदै उहाँले यो ऐतिहासिक र दूरगामी महत्त्वको बैठक भएको बताउनुभयो ।

बैठकले पार्टीभित्र विचार, कार्ययोजना र भावनामा एक रुपता कायम गरेको उल्लेख गर्नुहुँदै अध्यक्ष प्रचण्डले पार्टीलाई फेरि आफ्नो वर्ग र समुदायतिर फर्काएर यसले विजयको आधार तयार गरेको बताउनुभयो ।

बैठकका निर्णय कार्यान्वयनमा जाँदा समाजवादी क्रान्तिको लागि कोशेढुङ्गा बन्ने र यसले निरन्तरतामा क्रम भङ्ग गरेको उहाँले स्पष्ट गर्नुभयो ।

अर्को एक प्रसङ्गमा अध्यक्ष प्रचण्डले एकैदिन सुरु भएर एकै दिन सकिएको माओवादी केन्द्र र एमालेको बैठकलाई देश दुनियाँले हेरेर मूल्यांकन गर्ने अवसर पाएको उल्लेख गर्दै आफ्नो पार्टीले अरुलाई गालीगलौज होइन, आफ्नो पार्टीको मात्र होइन देशकै आगामी मार्गचित्र स्पष्ट गरेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले अब अभियानमार्फत् व्यापकरुपमा जनताको बीचमा गएर महाधिवेशनमा जाने बताउनुभयो । उहाँले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीले राजनीतिमा सक्रिय गराएको नभइ उहाँले सक्रिय हुने चाहना व्यक्त गरेकाले आमन्त्रित रुपमा बैठकमा सहभागी गराएको जानकारी दिनुहुँदै अन्य नेताहरुको कार्यविभाजन गर्दा उहाँको पनि गरिने बताउनुभयो ।

छ महिना अभियान, अर्को छ महिनापछि महाधिवेशन
बैठकले अब पहिलो छ महिना अभियानमा जाने र त्यसपछि अर्को छ महिनाको तयारी गरेर नयाँ विचार संष्लेषणका लागि महाधिवेशनमा जाने निर्णय गरेको छ । छ महिना अभियानमा गएर असारमा केन्द्रीय समिति बैठक आयोजना गरी अहिलेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा बदलेर महाधिवेशनको तयारीमा जाने अध्यक्ष प्रचण्डले घोषण गर्नुभएको छ ।

अभियानबाट व्यापक रुपमा जनताको सुझाव आउने भएकाले छ महिने अभियान पनि अन्ततः महाधिवेशनकै तयारी हुने उनले स्पष्ट गर्नुभयो ।

माघ महिनाभरि अभियानको तयारी गरेर फागुन १ गते जनयुद्ध मनाएर हुलाकी र पूर्वपश्चिम राजमार्गमा जनतासङ्ग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । त्यस्तै, चैतभरि तयारी गरेर वैशाख महिनाभरि हिमाली र मध्यपहाडी क्षेत्रलाई मध्यनजर गरी मध्यपहाडी लोकमार्गमा जनतासङ्ग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले सबै नेताहरुले जिम्मेवारी पाउने गरी कार्ययोजना प्रस्ताव पारित गरेको छ । सबै नेता पालिका र वडासम्म पुग्ने गरी केन्द्रीय कार्यालयले सबै नेताहरुको एक हप्ताभित्र कार्यविभाजनलाई अन्तिम रुप दिने र माघको पहिलो सातासम्म सर्कुलर गरिने अध्यक्ष प्रचण्डले जानकारी दिनुभयो ।

बैठकले विचार मिल्ने पार्टीसित एकताको तयारी गर्न उच्चस्तरीय पार्टी एकता संवाद समिति गठन गरेको छ ।
बैठकले अध्यक्ष प्रचण्डले प्रस्तुत गरेका पार्टी रुपान्तरण र पुनर्गठनको सङ्कल्प, आजको एतिहासिक आवश्यकता शीर्षकको राजनीतिक प्रस्ताव परिमार्जनसहित पारित गरेको छ । सो प्रस्तावमा पदाधिकारी र सदस्य गरी ११८ जनाले सुझाव दिनुभएको थियो ।

माओवादी केन्द्र केन्द्रीय समितिको छैठौ पूर्ण बैठक मा प्रस्तुत भएका समसामयिक प्रस्तावहरुः
१. संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय र राष्ट्रिय स्वाधीनताका निम्ति नेपाली जनताद्वारा सञ्चालित ऐतिहासिक जनयुद्ध, संयुक्त जनआन्दोलन, मधेस आन्दोलन लगायतका राजनीतिक एवम् सामाजिक आन्दोलनहरुका क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते अपाङ्गप्रति उच्च सम्मान प्रकट गर्दछ र उहाँहरुका आदर्शलाई पछ्याउदै अगाडि बढ्ने दृढ संकल्प व्यक्त गर्दछ ।

२। हालै कीर्तिशेष हुनुभएका हाम्रो पार्टीका केन्द्रीय सदस्य नेपाल सरकारका पूर्वमन्त्री पदम राई (भोजपुर), जेष्ठ कम्युनिस्ट मञ्चका केन्द्रीय सदस्य पार्वती दुलाल (कञ्चनपुर), लक्ष्मण यादव (सप्तरी), तुलसा बुढाथोकी (रुकुम पश्चिम) र इन्द्रविलाश पौडेल (चितवन)प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ तथा राष्ट्र, जनता, आन्दोलन र पार्टीको हितमा उहाँहरुले पुर्याउनु भएको योगदानप्रति कदर एवम् सम्मान व्यक्त गर्दछ ।

३. गत मंसिर १५ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा विजयी हुनुहुने नेकपा माओवादी केन्द्रका सबै सदस्यहरु सहित नेकपा (माओवादी केन्द्र)सँगको सहकार्यमा विजयी सबैलाई, हार्दिक बधाई ज्ञापन गर्दछ र उक्त निर्वाचनमा सहयोग, समर्थन र मतदान गर्ने मतदाताहरु प्रति आभार व्यक्त गर्दछ।

४. सार्वभौम संसद्लाई छलेर अध्यादेसमार्फत् राज्य संचालन गर्ने र देशलाई दुईदलीय तानाशाहीतर्फ लैजान खोज्ने सरकारको निरङ्कुश प्रवृतिको, घोर विरोध गर्दछ र तत्काल संघीय संसद र प्रदेशसभाहरुको हिउँदे अधिवेशन आव्हान गर्न सरकारसँग जोडदार माग गर्दछ । साथै, संघियताको कार्यान्वयन र मौलिक हकको कार्यान्वयनसँग सम्बन्धित निजामती सेवा, संघीय प्रहरी ऐन, विद्यालय शिक्षा लगायतका प्रस्तावित विधेयकहरु तत्काल पारित गर्न ध्यानाकर्षण गराउँदछ ।

५. सरकारको तर्फबाट नेपाल विद्युत प्राधिकरण, त्रिभुव विश्वविद्यालय लगायतका सार्वजनिक संस्थानहरु, र कर्मचारीतन्त्रमा भइरहेको चरम राजनीतिक हस्तक्षेपको, तीव्र विरोध गर्दछ र यस प्रकारका स्वेच्छाचारी क्रियाकलाप बन्द गर्न जोडदार माग गर्दछ ।

६. शान्ति प्रक्रियाका बाँकी कामहरु सम्पन्न गर्ने सन्दर्भमा देखिएको सरकारी उदासिनताप्रति, आपत्ति प्रकट गर्दछ र तत्काल सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका नागरिकहरुको छानबिनसम्बन्धी आयोगहरुको गठन प्रक्रिया अगाडि बढाइ शान्ति प्रक्रियाका बाँकी कार्य सम्पन्न गर्न जोडदार माग गर्दछ ।

७. जनताको दैनिक उपभोग्य वस्तुहरुमा भएको मूल्यवृद्धिको कारण जनजीवन थप कष्टप्रद बन्दै गएको अवस्थाप्रति, चिन्ता व्यक्त गर्दछ र तत्काल मूल्यवद्धि नियन्त्रण गर्न सरकारसंग जोडदार माग गर्दछ । र, किसानहरुले उत्पादन गरेको कृषि उपजको न्युनतम समर्थन मूल्य तोक्न तथा औपचारिक क्षेत्रका श्रमिकहरुको ज्याला वृद्धिका साथै अनौपचारिक क्षेत्रमा कार्यरत मजदूरहरुको न्यूनतम ज्याला निर्धारण गर्न सरकारसँग जोडदार माग गर्दछ ।

८. हाम्रो पार्टी नेतृत्वको सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र सम्वृद्धिको लक्ष्य हासिल गर्न वजेटमा प्रस्तावित त्रिभुज आर्थिक परियोजना, दलित समुदायको संविधानप्रदत्त अधिकार कार्यान्वयनका लागि प्रस्तावित दलित विशेष प्राधिकरण स्थापना, द्वन्द्वबाट प्रभावित जनताका लागि अघि सारिएको शान्ति कोष, प्रवासबाट स्वदेश फर्किएर उद्यमशीलता प्रवर्द्धनको उद्देश्य राखेर बजेटमा उल्लेखित रिटर्नी उद्यमशीलता कार्यक्रम, रेमिट हाइड्रो, कैलालीको गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयको स्थापना, कर्णाली, हिमाली क्षेत्रको समृद्धिलगायत दूरगामी महत्वका आयोजनाहरुलाई त्तत्काल कार्यान्यन गर्न जोडदार माग गर्दछ ।

९. उपत्यका लगायतका बाढी प्रभावित जिल्लाहरुमा अस्थायी आवाससहित निजी आवासहरु, सरकारी कार्यालयहरु तथा विद्यालय भवनहरुको पुनर्निर्माण तथा पुनस्थापनाको काम यथाशिघ्र अगाडि बढाउन जोडदार माग गर्दछ। गत वर्ष जाजरकोट र बझांग केन्द्रबिन्दु भई गएको भूकम्पबाट प्रभावित जिल्लाहरुमा अस्थायी आवास निर्माणको अन्तिम किस्ताको भुक्तानी गर्ने व्यवस्था अहिलेसम्म नहुनु सरकारको गैर जिम्मेवारिपूर्ण व्यवहार नभएको ठहर गर्दछ र तत्काल भूकम्प प्रभावित क्षेत्रहरुमा पुनर्निर्माण तथा पुनःस्थापनाको काम यथाशीघ्र अगाडि बढाउन जोडदार माग गर्दछ। साथै, यो बैठक, जलवायु परिवर्तनको प्रभावसँगै तराई मधेसका जिल्लाहरुमा बढ्दो सितलहर र हिमाली जिल्लाहरुमा हिमपातको कारण उत्पन्न हुन सक्ने जोखिमबाट सुरक्षित रहन आम जनसमुदायसँग विशेष अपिल गर्दछ र प्रकोपको जोखिम, रोकथाम र न्यूनीकरणका लागि आवश्यक तयारी तथा राहतको व्यवस्था गर्न सरकारसँग माग गर्दछ साथै जलवायु परिवर्तनका असरहरूको व्यवस्थापनमा हाम्रो पार्टी नेतृत्वको सरकारले थालेको अन्तर्राष्ट्रिय पहलकदमी र राष्ट्रिय कार्ययोजनाको प्रभावकारि कार्यान्वयनको माग गर्दछ।

१०. सहकारी ठगी कारबाही सन्दर्भमा सत्ता गठबन्धन निकट व्यक्तिहरुलाई संरक्षण गर्ने सरकारको पूर्वाग्रहपूर्ण, र भेदभावपूर्ण रवैयाको विरोध गर्दछ । सहकारी क्षेत्रमा देखिएको अनियमितता र ठगीको निस्पक्ष छानबिन गरी दोषी उपर कानुनी कारबाही गर्न र सहकारी पीडितडहरुको बचत रकम फिर्ता गर्ने व्यवस्था मिलाउन तथा लघुवित्त पीडितहरूका माग सम्बोधन गर्न जोडदार माग गर्दछ ।

११. सुशासन र सार्वजनिक सेवा प्रवाहको क्षेत्रमा देखिएको सरकारी उदासिनताप्रति चिन्ता व्यक्त गर्दछ र भ्रस्टाचार नियन्त्रण लगायत सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारसँग माग गर्दछ ।

१२. सामन्तवादको पीडादायी अवशेषको रुपमा रहेको मिटरब्याजको समस्या समाधान गर्न कानुन निर्माण, उच्चस्तरीय आयोग गठन र जिल्ला प्रशासन कार्यालयहरुमा मिटरब्याज पडितहरुलाई सम्मिलित गरी सहजीकरण समिति गठन मार्फत हाम्रो पार्टी नेतृत्वक नरकारले अघि बढाएको छानबिन र न्याय निरुपणको काम बन्द भएकोमा गम्भीर आपि

१३. प्यालेस्टेनी जनताको आत्मनिर्णयको अधिकार सहितको स्वतन्त्र एवम सार्वभौम राज्यको मागलाई, उचित ठहर गर्दछ र संयुक्त राष्ट्र संघको ’दुई राज्य समाधान’ को प्रस्तावलाई समर्थन गर्दछ । इजरायलबाट गाजा क्षेत्रमा भइरहेको नरसंहारको भत्र्सना गर्दै पश्चिम एशिया र मध्यपूर्वलगायत विभिन्न क्षेत्रमा बढ्दै गैरहेको तनाव प्रति गहिरो चिन्ता व्यक्त गर्दछ। वार्ता द्वारा शान्तिपूर्ण ढंगले समस्या समाधानको लागि सम्बद्ध सबै पक्षलाई आह्वान गर्दछ साथै हमास समूहको कब्जामा रहेका विपिन जोशीको रिहाई एवम् मध्यपूर्व लगायतका ठाउमा रहेका लाखौँ नेपालीहरुको सुरक्षाको सुनिस्चितताको लागि थप कूटनीतिक पहल बढाउन सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ ।

१४. देशका विभिन्न भागमा देखिएका सीमा सम्बन्धी समस्याहरू समाधानका लागि कूटनीतिक पहल थप प्रभावकारि बनाउन माग गर्दछ।

१५. देशका विभिन्न क्षेत्रमा महिला तथा बालबालिकामाथि भएका हिंसाका घटनाको भत्र्सना गर्दछ । दोषीहरुमाथि कडा कारवाही, पीडितहरुको कानुनी उपचारको सुनिश्चिता तथा महिला एवं बालबालिकामाथि हिंसा अन्त्य गर्न सरकारसँग माग गर्दछ ।

१६. बेलायती सेनामा माम गरेका नेपालीहरूले लामो समयदेखि समान तलब, समान पेन्सन र सुविधाका लागि उठाउँदै आएको मागप्रति ऐक्यबद्धता व्यक्त गर्खछ । साथै बेलायत सरकारसँग कूटनीतिक पहल गर्न सरकारसँग माग गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *