एमाले केन्द्रीय कमिटी बैठकबाट पारित १४ विशेष प्रस्तावमा के के छन् ?

काठमाडौँ, २३ पुस । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलको सांगठानिक प्रतिवेदन पारित गरेको छ । आइतबारदेखि सुरु भएको बैठक उक्त प्रतिवेदन पारित गर्दै मंगलबार सकिएको पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘तीन दिनसम्म चलेको लगातारको बैठकमा पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन र महासचिव शंखर पोखरेलले प्रस्तुत गर्नुभएको संगठनसम्बन्धी जानकारी पारित भएको छ ।’

बैठकमा महत्त्वपूर्ण १४ वटा विशेष प्रस्तावहरु पारित गर्दै बैठक समापन भएको छ ।

बैठका प्रस्तुत समसामयिक प्रस्तावहरूः
१. राष्ट्रिय हितको रक्षा, राजनीतिक स्थायित्व, अर्थतन्त्रमा गतिशीलता, सुशासन, विकास र समृद्धिको मुख्य उद्देश्य राखेर नेकपा (एमाले) र नेपाली काँग्रेस सम्मिलित संयुक्त सरकार गठन भएसँगै देशमा राजनीतिक स्थायित्वको आशा जागृत भएको छ । मुख्य राजनीतिक दलहरूको नेतृत्वमा ७ दल सहभागी भएर बनेको यस सरकारसँग जनताका धेरै अपेक्षाहरू छन् । सरकारको काँधमा नेपालको संविधानले परिकल्पना गरेको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने दिशामा बलियो जग बसाल्ने ऐतिहासिक अभिभारा छ । सत्तारूढ दलहरूबीचको आपसी विश्वास तथा समझदारी अझ सुदृढ होस् र यो सरकार प्राप्त ऐतिहासिक अवसरलाई सदुपयोग गर्दै अर्थतन्त्रलाई गतिशील बनाउन, सुशासन, विकास र समृद्धिको अभिभारा पूरा गर्न एवम् राजनीतिक स्थायित्व सुनिश्चित गर्न सफल होस् भन्ने यो बैठक कामना गर्दछ । नेकपा (एमाले) यस सहमतिको कार्यान्वयन र सरकारको सफलताका लागि हरसम्भव योगदान गर्न प्रतिबद्ध छ ।

२. सशस्त्र द्वन्द्व, लामो सङ्क्रमणकाल, भूकम्प र महामारी जस्ता चुनौतीका बीचमा नेपालले गएको साढे तीन दशकमा हासिल गरेका उपलब्धिहरू महत्वपूर्ण छन् । यद्यपि, आज पनि सुस्त विकास, न्यून आर्थिक वृद्धि, बेरोजगारी र परनिर्भरता जस्ता चुनौतीहरू विद्यमान छन् । राष्ट्रिय पुँजीको निर्माण गर्दै र स्वाधीन अर्थप्रणालीको विकास गर्दै समाजवाद उन्मुख राज्य निर्माणमा हामी दृढ सङ्कल्पित छौं । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा अवश्य पूरा हुन्छ भन्ने आत्मविश्वास बलियो बनाउन र यस सामाजिक आर्थिक रूपान्तरण र समृद्धिको अभियानमा सहभागी हुन यो बैठक आह्वान गर्दछ ।

३. स्वदेशभित्र अवसर नदेखेर या भएको अवसर सदुपयोग गर्न नसकेर भइरहेको युवाहरूको ठूलो सङ्ख्यामा प्रवासनप्रति नेकपा (एमाले) चिन्तित र संवेदनशील छ । देशभित्रै केही गरौ भन्ने हुटहुटी बोकेका युवाहरूलाई प्रोत्साहन, सहयोग र साझेदारी गर्दै युवाहरूमा उद्यमशीलताको विकास गर्न, उनीहरूलाई उत्पादन, रोजगारी र स्वरोजगारीमा जोड्न र सूचना प्रविधि लगायत क्षेत्रमा प्राप्त अवसरलाई सदुपयोग गर्ने उपयुक्त वातावरण निर्माण गर्दै समृद्धिका संवाहकका रूपमा युवाहरूलाई परियालन गर्न यो बैठक सरकारको व्यानाकर्षण गर्दछ । ५० को दशकमा सशस्त्र द्वन्द्र, ६० को दशकमा शान्ति स्थापना र ७० को दशकमा संविधान निर्माण गर्दै अगाडि बढेको मुलुकमा ८० को दशकलाई समृद्धिको दशक र रोजगारी सिर्जनाको दशकको रूपमा अगाडि बढाउन सरकार सफल होस् भन्ने बैठक कामना गर्दछ ।

४. गम्भीर सामाजिक चुनौतीका रूपमा रहेको भ्रष्टाचारलाई नियन्त्रण गर्न सरकारले सुरु गरेका कदमहरू सकारात्मक छन् । यो बैठक भ्रष्टाचारको अनुसन्धान, अभियोजन र न्याय निरुपणका लागि स्थापित राज्यका निकायहरूलाई अझ अधिकारसम्पन्न र साधनस्रोतले युक्त बनाउन, भ्रष्टाचारका विरुद्ध सामाजिक जागरण वृद्धि गर्न, सहकारी बचतकर्ताहरूको रकम सुरक्षितसाथ फिर्ता हुने कुरा सुनिश्चित गर्न, अनियमिततामा मुछिएका जोसुकैका विरुद्ध निर्ममतापूर्वक प्रस्तुत हुन र भ्रष्टाचार भएको भनी घर्चामा रहेका सबै प्रकरणहरूको यथाशीघ्र छानबिन गरी निष्कर्षमा पुर्‍याउन सरकारको ध्यानाकर्षण गर्दछ । र, आफ्नो पङ्क्तिमा सदाबार, स्वच्छता र पारदर्शिता सुनिश्चित गर्ने गराउने दृढ सङ्कल्प गर्दछ ।

५. नेपालको संविधान कार्यान्वयनको दश वर्ष हुन लागेको छ । संविधान कार्यान्वयनको वस्तुनिष्ठ समीक्षा गर्दै यसका सबल र दुर्बल पक्षहरूलाई निक्र्योल गर्न र संविधानका प्रगतिशील अन्तरवस्तुहरूको संरक्षण र राजनीतिक स्थायित्वलाई सुनिश्चित गर्ने गरी वृहत् समझदारी र सहभागितामा संविधानको समयानुकूल संशोधनको प्रक्रिया अगाडि बढाउन पर्न यो बैठक सरकारसँग आग्रह गर्दछ ।

६. मिथ्यासूचना (मिसइन्फर्मेसन), दुराशययुक्त सूचना (डिसइन्फर्मेसन) र भुशुष्ठा सूचना (फेक इन्फरमेसन) आज विश्वव्यापी चुनौती बनेको छ । यसले समाजमा विभाजन, प्रदूषण र नैराश्य सिर्जना गरिरहेको छ । नेपाल पनि यो समस्यासँग जुझिरहेको छ । यो बैठक संविधानप्रदत्त प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई सुनिश्चित गर्दै मिथ्याप्रचारलाई रोक्न राज्यका नियामक निकायहरूको भूमिका थप प्रभावकारी बनाउन सरकारसँग आग्रह गर्दछ। पार्टी पक्तिलाई सूचना प्रविधिको सही सदुपयोग गर्न र सरकार तथा पार्टीले हासिल गरिरहेका सकारात्मक उपलब्धि, सफलता र अग्रगतिका सूचनामार्फत् जनतामा आशा र भरोसा जगाउन एवं दुराशययुक्त सूचनालाई खण्डित र निष्प्रभावी बनाउन आह्वान गर्दछ ।

७. गतवर्ष जाजरकोट र रुकुम (पश्चिम)मा गएको भूकम्पबाट प्रभावित भूकम्पपीडितहरूको पुनःस्थापना र पुनर्निर्माणका काममा भइरहेको ढिलाइप्रति यस बैठकको गम्भीर ध्यानाकर्षण भएको छ। यो बैठक अबिलम्ब बाँकी किस्ता राहत सहयोग उपलब्ध गराई पुनःस्थापना र क्षतिग्रस्त क्षेत्रमा पुनर्निर्माणमा तीव्रता दिन नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ । साथै, गएको असोज दोस्रो साता बागमती प्रदेश लगायत विभिन्न ठाउँमा आएको बाढी, पहिरो र डुबानबाट भएको क्षतिबाट प्रभावितहरूको पुनस्र्थापना र पुनर्निर्माणका लागि पनि बैठक सरकारसँग गम्भीर आग्रह गर्दछ ।

८. सुदूरपश्चिम र कर्णाली प्रदेशमा बारम्बार गइरहेका ससाना भूकम्पका धक्काहरूले त्यस क्षेत्रमा त्रास बढाएको छ । यही पुस ६ गते बिहान बाजुराको जगन्नाथ ५ गोत्री केन्द्रबिन्दु बनाइ गएको भूकम्पले सयौं घरहरू भत्काएको छ। आज चीनको तिब्बत केन्द्रबिन्दु बनाएर गएको भूकम्पले नेपालमा पनि केही भौतिक क्षति पुगेको छ । सम्भाव्य प्राकृतिक विपत्तिको पूर्वतयारीलाई प्रभावकारी बनाउन आवश्यक रहेको कुरामा जोड दिँदै यो बैठक यस विषयमा संघ, प्रदेश, स्थानीय तह र नागरिकहरूबीच बलियो साझेदारी निर्माणका लागि सम्बद्ध सबैको ध्यानाकर्षण गर्दछ ।

९. आज विहान चीनको स्वशासित क्षेत्र तिब्बतको सिगात्से नजिकै केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पले हालसम्म चीनमा ९५ जनाको ज्यान गएको र ठूलो भौतिक क्षति पुगेको छ । यस प्राकृतिक विपत्तिबाट पीडित चिनियाँ जनताप्रति गहिरो सहानुभूति व्यक्त गर्दछ ।

१०. निर्णायक राष्ट्रिय शक्तिको निर्माण मुलुकको आवश्यकता हो । यस्तो शक्तिको निर्माणबाट मात्रै राष्ट्रिय हित र स्वाभिमानको रक्षा, लोकतन्त्रको सुदृढीकरण, राजनीतिक स्थायित्वको सुनिश्चितता, र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाको परिपूर्ति र समाजवादको लक्ष्य हासिल गर्न संभव छ। यस्तो शक्तिको निर्माण नेकपा (एमाले) को नेतृत्वमा मात्रै संभव छ। यस यथार्थलाई मनन गर्दै निर्णायक राष्ट्रिय शक्ति निर्माणको यस अभियानलाई सफल बनाउन पार्टी विभाजन लगायत कारणले पार्टी बाहिर रहनु भएका सबै कमरेडहरू र स्वतन्त्र वड्गले क्रियाशील रहनुभएका मित्रहरूलाई नेकपा (एमाले)मा फर्कन, यसमा आबद्ध हुन र सक्रिय हुन यो बैठक आह्वान गर्दछ ।

११. यो बैठक श्रमजीवी जनता र विपन्न नागरिकहरूलाई केन्द्रमा राखेर दैनिक उपभोग्य बस्तुहरूको सहज आपूर्ति गर्न, महँगी नियन्त्रण गर्न, कालोबजारी, मिसावट नियन्त्रण गर्नका लागि बजारको प्रभावकारी अनुगमन तथा नियमन गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ । आफूले उत्पादन गरेको कृषि उपजहरूको उचित बजार र मूल्य किसानहरूले पाउने कुरा सुनिश्चित गर्न, बिचौलियाको बिगबिगी अन्त्य गर्न र स्वदेशी कृषि उत्पादनको संरक्षण गर्न यो बैठक सरकारको ध्यानाकर्षण गर्दछ ।

१२. यो बैठक पार्टीका विभागहरूका तर्फबाट तयार गरी सम्माननीय प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरिएका सुझावहरूको प्रभावकारी र क्रमबद्ध कार्यान्वयनका लागि नेपाल सरकारसँग माग गर्दछ ।

१३. यो बैठक विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाहरूमा भइरहेका बन्द, हडताल र अवरोधका घटनाहरूप्रति गहिरो चिन्ता व्यक्त गर्दछ। यस्ता गतिविधिले गुणस्तरीय शिक्षाको राष्ट्रिय लक्ष्यमा गंभीर नकारात्मक प्रभाव पार्नुका साथै विद्यार्थीहरूको वाय प्रवासनलाई बढावा दिइरहेको छ। यो बैठक त्यस्ता शैक्षिक संस्थाहरूलाई हडतालमुक्त क्षेत्र घोषणा गर्न र स्वस्थ प्राज्ञिक वातावरण निर्माणका लागि प्रभावकारी भूमिका खेल्न सरकारसँग आग्रह गर्दछ। सम्बद्ध विद्यार्थी, प्राध्यापक र कर्मचारी सङ्घसंस्थाहरूलाई यस अभियानमा सकारात्मक योगदान गर्न आह्वान गर्दछ ।

१४. गत २०८१ कात्तिक २४ गते पार्टीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य देविप्रसाद पोखरेलको दुःखद् निधन भएको छ । तत्काली सन्देश समूहमा आबद्ध हुँदै कोकेसँग एकीकरण गर्न र नेकपा (माले) र एमालेको विकासमा महत्त्वपूर्ण योगदान गर्नुभएका कमरेड देविप्रसाद पोखरेलको निधनप्रति गहिरो शोक व्यक्त गर्दै यो बैठक उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *