दाङ, ११ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई बहुमत दिन अपिल गर्नुभएको छ ।
माओवादी केन्द्रले तुलसीपुर नगर कमिटीले तलसीपुमा आयोजना गरेको पार्टीको तेस्रो नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो ।
अध्यक्ष प्रचण्डले भन्नुभयो,‘यो पटक म देशभर अपिल र अनुरोध गर्न म देशव्यापी अभियानमा गएको छु । हामीलाई ०६४ मा मत दिनुभएका जनतालाई अनुरोध छ । आग्रह छ । हामी गल्ती कमजोरी सच्याउँछौँ । आफ्नै छोराछोरी त हुन् नि भनेर एकचोटी ०६४ मा जस्तै माया गरिदिनुभयो भने, बहुमत दिनुभयो भने ०८४ मा बहुमतमा आउनेछौँ । त्यो बहुमतले यो देशबाट भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्ने छ । सामाजिक विभेद्को अन्त्य गर्ने छ । न्याय स्थापित गर्ने छ । आर्थिक समृद्धिमा देश अगाडि बढ्ने छ । जनयुद्धमा साथ दिनुभयो, शान्तिप्रक्रियामा साथ दिनुभयो । अब भ्रष्टाचारविरुद्ध सामाजिक न्याय र आर्थिक समृद्धिको यो अभियानमा साथ दिनुहोस् । अब सुशासन सामाजिक न्याय र आर्थिक समृद्धिको लडाइँमा साथ चाहियो ।’
तेस्रो पटक सरकारको नेतृत्व गर्ने अवसर प्राप्त हुँदा आफूले यसअघिका कमीकमजोरीलाई सच्याएर जनताको पक्षमा भ्रष्टाचारविरुद्ध सुशासनको अभियान चालेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले सोही कारण जनतामा माओवादी पार्टीप्रति सकारात्मक धारणा बन्दै गएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सरकारबाट बाहिएपछि म जहाँ गएको छु । जनताको अपार माया पाएको छु । माया र विश्वासले खुसी भएको छु । म ७० वर्षको भए । मैले देश र जनताको पक्षमा काम गर्ने संकल्प लिएको छु । जसका कारण अहिले माओवादी केन्द्रमा प्रवेश गर्नेहरुको लहर आएको छ । देशभर विभिन्न पार्टीका नेता कार्यकता पनि प्रवेश गर्ने तयारी गरिरहनुभएको छ ।’
माओवादी केन्द्रको हालै सम्पन्न केन्द्रीय समिति बैठक र नेकपा (एमाले)को बैठकलाई जनताले तुलना गरेर हेर्ने गरेको उहाँले बताउनुभयो ।
माओवादी केन्द्रले पार्टीलाई लोकतान्त्रिक रुपमा सञ्चालन गर्नुका साथै माओवादी धारा र कम्युनिष्टहरुलाई एकताबद्ध गर्दै लैजाने उहाँले बताउनुभयो ।