काठमाडौँ, ११ मघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले सरकारले आफ्नो देशको नागरिकलाई सुरक्षा प्रदान गर्न नसकेको बताउनुभएको छ ।
शुक्रबार काठमाडौँमा आयोजित राष्ट्रिय सुरक्षा सभामा बोल्नुहुँदै उहाँले खुला सिमानाको कारण नेपालीहरु आफ्नै देशमा असुरक्षित रहेको भन्दै त्यसमा सरकारको ध्यान नगएको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘भारतसँग खुला सिमाना छ भनेर गर्व गरिन्छ । विशेष व्यवस्था पनि हो यो । हाम्रो अवस्था चाहिँ कस्तो छ भने सुरक्षा भन्ने चिज नै छैन । प्रष्ट के छ भने नेपालमा कति विदेशी बस्छन्, कहिलेदेखि बसेका छ्न्, भारतीय कति छन्, तीनको छोराछोरी कहिलेसम्म बस्छन् सरकारलाई केही अत्तोपत्तो छैन । ज्यान सुरक्षित छैन । कुनैपनि मानिस जुनबेला पनि मारिन सक्छ । मारिएको पनि छ । तर, मार्ने मानिस नेपाली होइनन् । त्यसैले हामी आफ्नै देशमा सुरक्षित छैनौँ । यो सरकारले आफ्नो देशको नागरिकलाई सुरक्षा प्रदान गर्न सक्दैन ।’
त्यस्तै, उहाँले सरकारले नागरिकको सुरक्षालाई भन्दा पनि पर्यटन विकासको बारेमा मात्र सोचेको भन्दै पर्यटन ठुलो कि देश ठुलो भन्दै प्रश्न गर्नुभयो । दक्षिणतिरको सिमाना जबसम्म खुला रहन्छ तबसम्म नेपाली स्वतन्त्र नहुने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो,‘दक्षिणतिरको सिमानामा नियमन हुनुपर्छ । जो पनि आएकै छ, सरकारले धेरै मान्छे आउन अनि हाम्रो पर्यटन विकास हुन्छ भन्छ । पर्यटन ठुलो कि देश ठुलो ? दक्षिणतिरको सिमाना जबसम्म खुला रहन्छ तबसम्म हामी स्वतन्त्र हुँदैनौँ । भनाई मात्र स्वतन्त्र हो । कुनै पनि बेला कुनै पनि भारतीयले आएर मार्दिन सक्छ ।’