काठमाडौँ, १२ माघ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले विधेयकहरुलाई कानुनमा परिणत गर्ने र बाँकी रहेका कामहरुलाई जोड दिएर अगाडि बढाउने पक्षमा लागि रहेको बताउनुभएको छ ।
बुद्धनगर टोल सुधार समितिको २२औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै उहाँले व्यवस्था परिवर्तन भए पनि अवस्थामा परिवर्तन भएन भन्ने खालका गलत प्रचारहरु भइरहेको भन्दै सरकारले धेरै परिवर्तनहरु गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले जुन सरकार बनेको छ । यो सरकारले खास गरेर विधेयकहरुलाई कानुनमा परिणत गर्ने कामदेखि सबै बाँकी कामहरुलाई जोड दिएर अगाडि बढेको छ । ०४६ सालपछि परिवर्तन आइसकेपछि कतिको फरक भएको छ भन्ने कुरा सबैले देखेका छौँ । तर, अहिले आएर व्यवस्था परिवर्तन भयो तर अवस्थामा परिवर्तन भएन भन्ने खालका गलत प्रचार भएको छ । यसमा बुझ्नु पर्ने कुरा के हो भने पहिला र अहिलेको अवस्थामा धेरै परिवर्तन आएको छ ।’
यसका साथै उहाँले सही र गलतको फरक गर्ने कुरामा संवेदनशील भएर सोच्नुपर्ने भन्दै अस्वस्थ्य प्रतिस्पर्धाको पछि लाग्ने हो भने देशले सही दिशा नपाउने बताउनुभयो ।