कांग्रेसको अबको मूल एजेन्डा आर्थिक रुपान्तरण हुनेछ : उर्मिला थपलिया

काठमाडौँ, १३ माघ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागकी प्रमुख उर्मिला थपलियाले मुलुकका उद्यमी एवम् व्यवसायीहरुको समस्याको सम्बोधन कांग्रेसले मात्र गर्न सक्ने बताउनुभएको छ ।

नेपाल न्यूज बैंकसँग विशेष कुराकानी गर्नुहुँदै उहाँले देशभरका उद्यमी, व्यवसायी एवम् नव उद्यमीहरुका समग्र समस्याहरुको सम्बोधन गर्न कांग्रेसले विशेष अभियान सुरु गर्ने पनि बताउनुभयो ।

उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले यही माघ १६ र १७ गते ‘नेपाल स्टार्टअप र एसएमई सम्मेलनको आयोजना गर्नुको उद्देश्य पनि उद्यमीहरुका समस्याहरु र सम्भावनाहरु एउटै मन्चमा खोजेर समाधानको बाटोमा लैजानुपनि रहेको उहाँले बताउनुभयो ।

‘खासगरी नव उद्योगीहरुका समस्याहरुलाई कांग्रेसले समाधान गर्छ भन्ने सन्देश हामीले दिनुपर्नेछ । धेरै युवाहरु पलायन भए भनेर भाषण मात्र गर्ने हाम्रो परिपाटी छ । तर, हामी स्वदेशमै अवसर सिर्जना गर्न पनि सक्षम छौँ भन्ने सन्देश पनि दिन चाहन्छौँ । युवा पलायनबारे भाषण गरेर समाधान हुन सकेन । नेपालमै युवाहरु बसुन् , रोजगारी पाएर काम गरुन भन्ने वातावरण बनाउन सम्मेलन आयोजना गरिएको हो,’ उहाँले भन्नुभयो ।

उहाँले साना तथा मझौला व्यवसायीहरुका थुप्रै समस्याहरु रहेकाले त्यसको सम्बोधन गर्न पनि कांग्रेसले सक्छ भन्ने सन्देश दिनुपर्ने आवश्यक्ता रहेको औँल्याउनुभयो । ‘व्यवसायीहरु असफल भयौँ भनिरहनुभएको छ । काम गर्दागर्दै असफल भएर विदेशतिर पलायन भएँ भनिरहनुभएको छ । तर, त्यसको समाधान गर्न सकिन्छ भनेर एउटै मन्चमा आवाजहरु संकलन गरेर एक्सनमा काम गर्न चाहेका छौँ,’ उहाँले भन्नुभयो ।

काम गर्ने शिलशिलामा साना तथा मझौला व्यवसायीहरुको स–साना धेरै समस्याहरु रहेकाले त्यसको सम्बोधन गर्न कांग्रेसले पहल गर्ने पनि उहाँले विश्वास दिलाउनुभयो । ‘जति साना तथा मझौला व्यवसायहरु दर्ता भए त्यसमध्ये ३० प्रतिशत व्यवसायहरु मात्र सफल भएका छन् भन्ने छ । व्यवसायहरु दर्ता गर्ने प्रणालीमा समस्या व्यहोरिरहनुपरेको छ । करमा समस्या छ । यस्ता धेरै समस्याहरु नेताहरुले बुझ्नुपर्छ । नेताले नबुझे समस्याको समाधान हुँदैन । नीति निर्माण गर्ने सम्बन्धित निकायहरुसँग पनि अन्तरक्रिया गर्नुपर्छ भनेर सम्मेलनको आयोजना गर्न तत्पर भएका हौं,’ थपलियाले सुनाउनुभयो ।

यसैगरी उनले नव उद्योगीहरुलाई प्रोत्साहन स्वरुप कांग्रेसले त्यसलाई सहयोग पनि गर्ने र छलफलको माध्यमबाट ल्याएर समग्र समस्याहरु सम्बोधन गर्ने प्रतिबद्धता पनि जनाउनुभयो । समस्याहरु जरोसम्मै पहिलाएर समाधानको बाटो खोज्ने उहाँले बताउनुभयो ।

उहाँले उत्पादित भएको वस्तुहरु सही ठाउँमा प्रयोग गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले कृषकहरुका धेरै समास्याहरु रहेको बताउँदै, कृषकहरुको समस्याको समाधान गर्ने पार्टी नै कांग्रेस भएको दाबी गर्नुभयो । उहाँले कृषक र उद्यमीहरुको समस्या समाधान गर्ने थलो भनेको काङ्ग्रेस हो भन्ने कुरा स्थापित गर्नुपर्ने भन्दै त्यसको सुरुवात गर्ने बताउनुभयो ।

उहाँले उद्यमीहरुको लागि नेपालमा दर्ता र करको साथै बजार व्यवस्थापनको पनि ठुलो चुनौती रहेको उल्लेख गर्नुभयो ।

‘पहिलो कुरा दर्ता प्रक्रियामा एकदमै समस्या छ । वडा, पालिका, प्रदेश सबैतिर जानुपर्ने झन्झटिलो प्रक्रिया छ । यस्तै करमा पनि समस्या छ । उत्पादनको बजार व्यवस्थापन भएको छैन । नेपालको सामानलाई प्रोत्साहन गर्नको लागि त हाम्रो बजार खुला हुनुपर्ने हो तर त्यो छैन। किनभने बाहिरबाट ल्याएका सामान सस्तो हुन्छ, नेपालभित्रै उत्पादन भएको सामान महँगो हुन्छ भन्ने सन्देश बाहिर गएको छ । बजार व्यवस्थापन पनि मुख्य चुनौतीको रुपमा देखा परेको छ,’ उहाँले अगाडि भन्नुभयो,‘यस्ता कुराहरुलाई मन्थन र गन्थन गरेर निचोड निकाल्न सकिन्छ की भनेर हामी क्रियाशील भएका हौँ । व्यवसायीहरुलाई विचलित हुन नदिन हाम्रो प्रयास हो । व्यवसायीहरुलाई पलायन हुन नदिन नीतिगत सुधार गरेर अघि बढ्न कांग्रेसले मात्र सक्छ भन्ने सन्देश प्रवाह गर्नुपर्ने छ ।’

उहाँले कुनै उद्योग खोल्नको लागि सरकारी, निजी बैंकले कारखाना धितो राखेर लोन दिने हो भने स्वतन्त्र भएर काम गर्न पनि बताउनुभयो । व्यवसाय फस्टाउनको लागि नीतिको आवश्यक हुने हुँदा कतिपय कुरामा नीतिले नै समस्या पारिरहेको पनि उहाँको भनाइ छ । उहाँले कांग्रेसको अबको मूल एजेन्डा आर्थिक रुपान्तरण हुनुपर्ने र त्यसका लागि उद्योगीहरुलाई सहज वातावरण बनाउनुपर्ने रहेको उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *