बर्दिबासका रतिश रेग्मीले ८ वर्षअघि मैतीदेवी चोकमा जुत्ता पसल चलाउन सुरु गरे । त्यहाँ पाँच वर्ष जुत्ता व्यापार गरेपछि उनी राम्रो व्यापार गर्न भन्दै गौशाला चोक सरे । तर गौशाला चोक सरेको तीन वर्षमै उनले सटर खाली गरे । सामानसहित पसल बेच्न खोज्दा खरिदकर्ता भेटेनन् । पछि उनले आफ्ना सामान उठाएर सटर मात्र छाडे । व्यापार नभएपछि सटर भाडा तिर्नसमेत बैंकबाट थप ऋण लिनुपर्ने बाध्यता भएको उनले सुनाए ।
‘व्यापार नभए पनि सटरको भाडा मासिक ४० हजार र गोदामको ५ हजार तिर्दै आएको थिएँ । भाडा तिर्न पनि नसकेपछि सामान गोदाममा राखेर सटर खाली गरें,’ रेग्मीले भने, ‘गोदामको जुत्ता अनलाइन अथवा व्यापारीलाई नै बेच्ने योजना छ । अवस्था सुधार भए पुनः व्यापारमै फर्किन्छु ।’ सटर भाडा तिर्नकै लागि थप ऋण लिनुपरेको उनको गुनासो छ । यी सबैको कारक कोभिड, बैंक ब्याजदर र आर्थिक मन्दी रहेको उनले सुनाए । गौशालामै भाडा लिएर बसेका रेग्मी पसल छोडेपछि भक्तपुर पुगेका छन् । करिब एक महिनादेखि उनी गोदामको भाडा तिरेर बसिरहेका छन् ।
‘व्यवसाय सञ्चालनका लागि लिएको बैंकको ८ लाख रुपैयाँ ऋण थियो, व्यापार नभएपछि भाडा तिर्न पनि छुट्टै ऋण लिनुपर्ने अवस्था आयो । त्यही कारण पसल बेच्न खोजें । तर सामानसहित पसल किन्ने कोही भेटिएनन्,’ उनले भने, ‘कोभिडपछि कम भएको व्यापारमा आर्थिक मन्दीले उठीबास लगाएको छ ।’
रेग्मी प्रतिनिधि पात्र मात्रै हुन्, पछिल्लो समय धेरै व्यवसायी सुस्त आर्थिक गतिविधिको चपेटामा छन् । ०७२ को भूकम्प र अघोषित भारतीय नाकाबन्दीबाट रिकभर भएका उनीहरू ०७६ चैतदेखि कोभिड, रुस–युक्रेन युद्ध, अन्तर्राष्ट्रिय बजारमा देखिएको महँगी र महँगो बैंक ब्याजदरका कारण समस्यामा छन् । मुलुक आयातमै निर्भर हुँदा धेरैजसो वस्तु महँगिएका छन् । जसले गर्दा व्यापार व्यवसाय सुस्त छ । आर्थिक गतिविधि सुस्त छ । त्यसैले सटर भाडा तिर्न सक्ने अवस्थामा नरहेको उनीहरू गुनासो गर्छन् । फलस्वरूप व्यवसायी सटर बन्द गरेर विदेश पलायन हुन थालेको व्यवसायी बताउँछन् । ‘ग्रिल तथा स्टिलमा स्वरोजगार बढी छन् । व्यवसाय चलाउन नसकेर १ सय २२ जनाले अनुभव पत्र लिएर पेसा छाडेका छन् । खर्च, परिवार पाल्न नसकेपछि खाडी मुलुक जान बाध्य छन्, खाडीबाट फर्केर आएपछि यहाँ व्यवसाय गरे । तर, बाध्य भएर फेरि विदेशिएका छन्,’ ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले भने, ‘कतिपय साथी तरकारी र किराना पसलतिर लागेका छन् । पेसाबाट पलायन भएका छन् ।’
बजारमा पैसा नहुनु र बैंकले ऋण नदिँदा पनि समस्या भएको उनको भनाइ छ । पछिल्लो समय काठमाडौं महानगरपालिकाले अस्थायी टहरो निर्माणमा पनि कडाइ गरेकै कारण पनि कतिपय पलायन भएको महासंघको दाबी छ । ‘विगतमा कर्मचारी पाउनै मुस्किल हुन्थ्यो, अहिले छ्यापछ्याप्ती पाइन्छ । तर, व्यापार छैन । सबैतिर सटर खाली भइरहेको छ,’ उनले भने ।
नयाँ बानेश्वर व्यवसायी संघका अध्यक्ष नवीन लुइँटेलको भनाइ पनि उस्तै छ । संघका सदस्यमध्ये २५ देखि ३० प्रतिशतले सटर बन्द गरेको उनले बताए । त्यसमा ५० प्रतिशत विदेश पलायन भएको उनको भनाइ छ । ‘संघमा १५ सय सदस्य छन् । धेरैजसो पसल बिक्री गर्ने मनसायमा छन्,’ उनले भने, ‘मन्दीका कारण भाडा बुझाउन सक्ने अवस्था छैन ।’ बानेश्वर क्षेत्रमा औसत भाडा दर ६० देखि ७० हजार रुपैयाँ छ । मुख्य–मुख्य व्यापारिक केन्द्रमा डेढ लाखभन्दा बढी पर्छ ।
भाडा दर अचाक्ली महँगो हुँदा थप पीडा भएको उनीहरू सुनाउँछन् । ‘व्यापार चल्दा/बजार चलायमान हुँदा भाडा तिर्न समस्या थिएन । तर असारपछि समस्या देखिएको छ, व्यवसायीमा नैराश्य देखिएको छ,’ अध्यक्ष लुइँटेलले भने, ‘कतिपय साथीले सटर बन्द गरेर सामान घरमा राखेका छन् । उधारो भएको ठाउँमा सामान नै छाडिदिने गरेका छन् ।’
मुलुकभर करिब ३५ प्रतिशत व्यवसायीले सटर खाली गरेको नेपाल राष्ट्रिय व्यवसायी महासंघले जनाएको छ । उपत्यकाकै हकमा पनि १५ देखि २० प्रतिशतले सटर खाली गरेको महासंघका निवर्तमान अध्यक्ष नरेश कटुवालले बताए ।
‘महासंघअन्तर्गत ३३/३४ वटा संगठन छन्, तिनमा करिब २० हजार सदस्य छन् । यी सबै व्यवसायी मन्दीमा छन्, जसले गर्दा बाध्य भएर सटर खाली गरिरहेका छन्,’ कटुवालले भने, ‘कोभिडकै कारण व्यवसायी समस्यामा परे । तर राज्यले सही नीति ल्याएन, संरक्षण गरेन ।’
नेपाल राष्ट्र बैंकले पनि नियमनकारी भूमिका निर्वाह नगर्दा व्यवसायी संकटमा परेको कटुवालको तर्क छ । ‘बैंकले मनोमानी ब्याजदर बढाउन हस्तक्षेप भएन । सटर भाडा पनि मनोमानी असुली भइरहेको छ, वैज्ञानिक भाडा दर लागू गरिएको छैन । प्रत्येक वर्ष १० प्रतिशतले भाडा दर बढाइन्छ,’ उनले भने, ‘यही कारण नयाँ व्यवसायी पलाएन हुने क्रम बढेको हो । पुराना व्यवसायी पनि हतोत्साहित छन् ।’
नेपाल व्यापार संघका अध्यक्ष हरि गौतम संघमा आबद्ध व्यवसायीले एक महिनादेखि सटर बन्द गर्न थालेको बताउँछन् । ‘संघमा २ हजारभन्दा बढी सदस्य छन्, २० देखि ३० सटर बन्द भइसके । नयाँ खुलेका पसल पनि केही दिनमै बन्द हुने अवस्थामा छन्,’ अध्यक्ष गौतमले भने, ‘उपत्यकाबाहिर पनि वर्षौंदेखि चलिरहेका पसल बन्द हुने क्रम बढेको छ ।’ सरकारले कर्फ्यु लगाएका बेला पसल खोल्दा हुने जस्तो चहलपहल रहेको गौतमको भनाइ छ । ‘बिहान चाबी बोकेर आयो, पसल खोल्यो, राति त्यसरी नै फर्केर जानुपर्ने अवस्था आएको छ,’ उनले भने, ‘ग्राहक नआउने र कहिलेकाहीँ बोहनी पनि नहुने अवस्था छ ।’ मन्दी र चर्को बैंक ब्याजकै कारण घरबेटीलाई भाडा तिर्न नसक्ने, पसल बन्द गरेर घरबेटीलाई चाबी बुझाउने, पसल छोडेर भाग्नेजस्ता प्रवृत्ति देखापरेको व्यवसायी बताउँछन् ।
भक्तपुर रेडिमेड व्यापार संघसँग आबद्ध २२ जनाले सटर छाडेको बताइएको छ । संघमा २ सय ८० जना सदस्य रहेको संघका अध्यक्ष राजेन्द्रकुमार प्रजापतिले जनाए । ‘व्यापार व्यवसाय एकदमै धराशायी अवस्थामा पुगेर पसल छाड्नेदेखि बिक्री गर्ने क्रममा बढेको छ । २० वटा पसल बिक्रीमा छन्,’ उनले भने ।
बत्तिसपुतली गौशाला व्यापार व्यवसायी संघले पनि पछिल्लो समय १० जना व्यवसायीले सटर खाली गरेको जनाएको छ । पसल खाली गर्नेमा नयाँ–पुराना सबै व्यवसायी रहेको संघका अध्यक्ष शेखरचन्द्र राईले बताए । रञ्जना व्यापार संघका अध्यक्ष बिना श्रेष्ठले पनि एक महिनाअघि १५ वटासम्म सटर खाली रहेकामा अहिले छाड्ने, आउने क्रम जारी रहेको बताइन् । ‘रञ्जना व्यापार संघमा ४ सय २७ भन्दा बढी व्यवसायी आबद्ध छन् । अलिअलि सटर बन्द हुन थालेका छन्,’ उनले भनिन्, ‘एक महिनाअघि १५ वटासम्म सटर खाली थिए । अहिले छोड्ने, आउने क्रम जारी छ । जहाँ पनि टु–लेट भन्ने बोर्ड देखिरहेका छौं ।’
आर्थिक गतिविधि सुस्त भएकै कारण सबैजसो क्षेत्रमा एउटै समस्या देखिएको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको भनाइ छ । सबै क्षेत्रको व्यापार व्यवसायको आकार घटेको र कारोबार घटेकै कारण भाडा तिर्न धौधौ हुने अवस्थामा पुगेको उनले जनाए । ‘तथ्यांक नभए पनि एकाध रूपमा सटर बन्द भएकै छन् । अर्थतन्त्र नकारात्मक भएका कारण यस्तो अवस्था आएको हो । भूकम्पबाट तंग्रिएपछि कोभिड सुरु भयो । कोभिडकै कारण अन्तर्राष्ट्रिय बजारमा महँगी बढ्यो,’ अध्यक्ष मल्लले भने, ‘त्यसमाथि बैंकको ब्याजदर महँगो छ, आर्थिक गतिविधि सुस्त हुँदा झन् चैतर्फी समस्या देखियो । कोभिडको असर अहिले बजारमा व्यापार देखिएको छ ।’
ekantipur बाट