केही प्रजातिका भालु जाडोयाममा महिनौँसम्म सुत्छन् । उत्तरी अमेरिका र क्यानडाका भालुहरू केही नखाइकन पनि ८ महिनासम्म सुत्छन् । विज्ञानको भाषामा यसलाई हाइबरनेशन भनिन्छ । हिउँ पर्ने ठाउँमा जाडोयाममा सिकार गर्न र खानेकुरा खोज्न निकै गाह्रो हुन्छ । त्यसैले यी स्थानमा बस्ने जनावर चिसोको मौसम पूरै निद्रा जस्तो अवस्थामा गुजार्छन्, ताकि आफ्नो ऊर्जा बचाएर जिउँदो रहन सकियोस् ।
जाडो बेलामा हामी मान्छेहरूलाई पनि चिसोले कक्रक्क बनाउँछ । निद्रा धेरै लाग्छ । त्यसो भए के शरीरलाई जाडोमा धेरै निद्रा चाहिन्छ ? यसबारे हालै एउटा अनुसन्धान भएको थियो । फ्रन्टियर्स न्यूरोसाइन्समा छापिएको एउटा अनुसन्धानअनुसार चिसोमा गहिरो निद्राको समय बढ्छ । अर्थात् यो बेलामा मान्छेहरू धेरै गहिरो निद्रा सुत्न सक्छन् । त्यसो भए कम निदाउनेहरुले जाडोमा आफ्नो निद्रामा हेरफेर गर्नु पर्छ ?
हाम्रो निद्रा कयौँ चरणमा पुरा हुन्छ । यिनै मध्ये एउटा हो आरईएम अर्थात् र्यापिड आई मुभमेन्ट स्लिप । यसमा आँखा छिटो छिटो यताउता गरिरहन्छ अनि निद्रा पनि सबैभन्दा गहिरो हुन्छ । सपनामा पनि हामी यही चरणमा आउँछौँ ।
हामीलाई कति निद्रा चाहिन्छ र किन ?
६ घण्टा सुत्ने मान्छे सडक दुर्घटनामा पर्न सक्ने खतरा ७ घण्टा सुत्ने मान्छेको तुलनामा ३३ प्रतिशत धेरै हुन सक्ने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले आफ्नो अनुसन्धानमा भनेको थियो । अर्थात् एक घण्टा मात्रै बढी निदाउँदा पनि दुर्घटनाको खतरा एक तिहाइ कम गर्न सकिने रहेछ ।
निद्रामा एक घण्टाको मात्रै कटौतीले हाम्रो एकाग्रतामा ठुलो असर पुर्याउँछ । निद्रा हाम्रो दिमागका लागि कति जरुरी रहेछ भनेर त तपाईँले थाहा पाउनु भयो नै होला । यति मात्रै होइन निद्रा गहिरो अनि बिना अवरोधको हुनु पर्छ । निद्राले हाम्रो ग्रोथ हर्मोनलाई सक्रिय पार्छ । दिमागलाई आराम दिन पनि निद्रा चाहिन्छ । निद्राले दिमागलाई डिटक्सिफाई गर्छ । शरीरको भित्री हिस्साको मर्मतको लागि पनि हामीलाई भरपूर गहिरो निद्रा चाहिन्छ ।
गहिरो निद्राका लागि अपनाउनुस् यी उपाय:
बेलायती लेखक तथा निद्रा वैज्ञानिक म्याट वाकरका अनुसार जो व्यक्तिमा निद्राको कमी हुन्छ उनीहरुको दिमागमा इमोशनल सेन्टर धेरै सक्रिय हुन्छ । जसका कारण उनीहरू धेरै इमोशनल हुन्छन् अनि नेगेटिभ इमोशन पनि धेरै आउँछ । निद्राको कमीले गर्दा डिप्रेशन, डिमेंशिया र अल्जाइमर्स जस्ता रोगको खतरा बढ्न सक्छ । स्लिप जर्नलमा छापिएको एउटा अनुसन्धानअनुसार ७–८ घण्टाभन्दा कम सुत्ने मान्छेमा असामयिक मृत्युको खतरा १२ प्रतिशत धेरै हुन सक्छ । योभन्दा धेरै सुत्नेहरूमा भने यो खतरा ३० प्रतिशत धेरै हुन सक्ने बताइएको छ ।
एउटै समयमा सुत्नुस्:
सप्ताहान्तबाहेकका दिनमा हामी प्रायः एउटै समयमा सुतेर एउटै समयमा उठ्छौँ । तर बिदाको दिनमा सुत्ने र उठ्ने कुनै ठेगान हुन्न । मेडिकल जर्नल स्लिपका अनुसार स्लिप हाईजीन अर्थात् दिनहुँ राम्रो निद्राको लागि सधैँ एउटै समयमा सुत्नु र उठ्नु जरुरी छ ।
साँझदेखि नै कफी नखाने:
केही मान्छेहरू आलस्य भगाउन चिया कफीको चुस्की लिन्छन् । तर क्याफिनले हाम्रो निद्रा बिगार्छ । त्यसैले राम्रो निद्रा चाहनु हुन्छ भने सकेसम्म धेरै कफी र चिया नपिउनुस् । अनि साँझ देखि नै कफी सेवन बन्द गर्नुस् ।
कोठामा शान्ति र अँध्यारो:
निद्राको स्तरलाई उज्यालोले पनि असर पुर्याउँछ । बिहानको उज्यालो निद्राको लागि राम्रो हो । तर रातमा धेरै उज्यालोले चाहिँ निद्रामा खलल पुर्याउन सक्छ । त्यसैले आफू सुत्ने कोठालाई प्रकाश र स्क्रिन दुबैबाट टाढा राख्नुस् ।