बारम्बार टन्सिल सुन्निने समस्याले बच्चाको मुटुमा असर

    बारम्बार टन्सिल सुन्निने समस्याले बच्चाको मुटुमा असर

    बारम्बार टन्सिल सुन्निने समस्याले बच्चाको मुटुमा असर
    बालबालिकालाई टन्सिल भइरहेमा त्यसले मुटुमा समस्या ल्याउन सक्छ । यद्यपि हामीकहाँ धेरैजसो अभिभावक यसबारे त्यति सजग र सतर्क भएको पाइँदैन । त्यसैले समस्याले जटिल रुप लिइसकेपछि मात्र अस्पताल आउने गर्छन् ।

    बच्चाको टन्सिल सुन्निंदा त्यसले मुटुलाई कसरी असर गर्छ ? यसको जवाफ खोज्नुअघि टन्सिलबारे बुझ्न जरुरी हुन्छ ।

    टन्सिल खासमा घाँटीभित्र रहने एक अंग हो, यो आफैंमा रोग होइन । तर जब यो संक्रमित हुन्छ अर्थात् सुन्निन्छ, त्यस स्थितिलाई ‘टन्सिलाइटिस’ भनिन्छ । जसलाई बोलीचालीमा ‘टन्सिल भएको’ भनिन्छ ।

    टन्सिल भन्ने अंग घाँटीभित्र मुखको ठीक पछाडिपट्टि हुन्छ । यो अण्डाकार हुन्छ । यसको मुख्य काम बाह्य संक्रामक जीवाणु (ब्याक्टेरिया वा भाइरस)लाई फोक्सोतिर प्रवेश गर्नबाट रोक्नु हो ।

    टन्सिलमा पाइने एन्टिबडी (रोगसँग लड्नका लागि आवश्यक प्रतिरोधात्मक क्षमता)ले घाँटी र फोक्सोको संक्रमण रोक्न मद्दत गर्छ । यद्यपि कहिलेकाहीं बाह्य संक्रमणको कारण त्यो अंग आफैं सुन्निन्छ । यो समस्या जोकोहीलाई पनि हुन सक्ने भएपनि धेरैजो बालबालिकामा देखिन्छ ।

    टन्सिल सुन्निनुको कारण टन्सिलमा बाह्य जीवाणुको सम्पर्कमा आउनु हो । टन्सिलाइटिसको मुख्य कारण स्ट्रेप्टोकोकस पायोजेन्स (ग्रुप ए स्ट्रेप्टोकोकस) नामक ब्याक्टेरिया हो । यी भाइरस चिसो मौसममा बढी सक्रिय हुन्छन् ।

    को बढी जोखिममा ?

    सरसफाइको कमी, बाक्लो बस्ती, पोषणको कमी तथा स्वास्थ्य सेवा पहुँचको अभाव भएका क्षेत्रका बालबालिकामा बढी देखिन्छ । साथै, टन्सिल सुन्निंदा स्ट्रेप्टोकोकस कीटाणु सजिलै छिट्टै स्कुल, कार्यालय, भिडभाडमा फैलिन सक्छ । यस्तोमा प्रतिरोधात्मक क्षमता कम भएका बालबालिका यसको जोखिममा पर्छन् ।

    लक्षण

    टन्सिल सुन्निनु र रातो हुनु, घाँटी दुख्नु, खानेकुरा निल्न कठिन हुनु, ज्वरो आउने, टाउको दुख्नु र जोर्नी दुख्नु जस्ता लक्षण देखिन सक्छन् । यी लक्षण देखिने बित्तिकै उपचार भएमा निको हुन्छ । तर समयमा उपचार भएन र लामो समयसम्म टन्सिलाइटिस भइरहेमा बाथ ज्वरोसमेत हुन सक्छ ।

    बाथ ज्वरो के हो ?

    टन्सिलाइटिसको समस्याले जब बालबालिकाको बारम्बार घाँटी दुखिरहन्छ । त्यसको तीन साताभित्रमा ज्वरो आउनुका साथै हातखुट्टा सुन्निनु र जोर्नी दुखाइ हुनु बाथ ज्वरोका प्रारम्भिक लक्षण हो । चिकित्सकीय भाषामा बाथ ज्वरोलाई ‘र्‍युम्याटिक फिभर’ भनिन्छ । पाँचदेखि १५ वर्षसम्मका बालबालिकालाई यो रोगले धेरै सताएको पाइन्छ ।

    बाथज्वरोले एकपल्ट आक्रमण गरेपछि यसले संक्रमित व्यक्तिलाई छाड्दैन । पछि पनि बारम्बार आक्रमण गरिराख्छ । जतिपटक घाँटीमा संक्रमण भयो त्यति नै पटक बाथज्वरो फर्किन सक्ने सम्भावना हुन्छ । यस्तो जोखिम बढ्नु भनेको मुटु जोखिममा पर्नु हो ।

    बाथज्वरोले मुटुरोग

    बाथज्वरो आएमा मुटुको भल्ब बिग्रिएर स्वाँस्वाँ आउने, मुटु दुख्ने, मुटु सुन्निने, भल्ब साँघुरिने, शरीर कमजोर हुने, जोर्नीमा दुख्ने, छाला रातो हुने र शरीरमा गाँठागुठी देखिने हुन सक्छ । बाथज्वरो आएका ८० प्रतिशत बालबालिकामा बाथ मुटुरोग देखिन सक्छ । बाथज्वरोका कारण मुटुमा असर गर्नु भनेको बाथ मुटुरोग लाग्नु हो ।

    टन्सिल कसरी मुटु जोखिमको कारक बन्न सक्छ ?

    स्ट्रेप्टोकोकस कीटाणुले सुरुमै घाँटीमा संक्रमण गर्छ । जसकारण घाँटी दुख्ने, खसखस हुने जस्ता लक्षण एकपछि अर्कोगरी बढ्दै जान्छ ।

    शरीरमा प्रवेश गरेको ब्याक्टेरियासँग मिल्ने एन्टिजेन्स (स्वस्थकर घातक तत्व) हाम्रो मुटुमा पनि हुन्छ । यस्तोमा जब ब्याक्टेरिया शरीरमा प्रवेश गर्छ । तब शरीरले त्यससँग लड्न एन्टिबडी (प्रतिरोधात्मक क्षमता) बनाउँछ । सो एन्टिबडीले बाह्य ब्याक्टेरियालाई मार्नुका साथै मुटुमा हुने एन्टिजेन्सलाई पनि शत्रु सम्झेर पहिचान मार्न थाल्छ । जसकारण मुटुमा बिस्तारै असर गर्छ ।

    मुटुमा असर परेपछि देखिने लक्षण

    -मुटुको चालमा गडबड

    -सास फेर्न कठिन हुने

    -घुँडाको जोर्नी दुख्ने

    -कुर्कुच्चा र काँधको जोर्नी एकपछि अर्को गर्दै दुख्ने

    -छाती दुख्ने

    -हातखुट्टा सुन्निने

    -खानामा अरुचि हुने

    पहिचान

    टन्सिलको लक्षणका आधारमा पहिचान गर्न सकिन्छ । रगत परीक्षणबाट संक्रमण भए नभएको पत्ता लगाइन्छ ।

    त्यस्तै, बाथज्वरो र बाथ मुटुरोगको आशंका भएमा मुटुको इलेक्ट्रोकार्डियोग्राम (ईसीजी) र छातीको एक्स-रे गरिन्छ ।

    उपचार

    यसको उपचार लक्षणको आधारमा गरिन्छ । घाँटीको संक्रमण हुँदा सातदेखि १० दिनसम्म एन्टिबायोटिक औषधि खाएर उपचार गर्नुपर्छ । घाँटी दुख्दा, टन्सिल बढ्दा र पाक्दा बालबालिकाको ठीक तरिकाले उपचार गर्‍यो भने यो रोग पहिलो चरणमै रोकिन्छ ।

    त्यस्तै, टन्सिलले बाथज्वरो गराइसकेको खण्डमा चिकित्सकले एन्टिबायोटिक (सातामा एकपटक पेनिसिलिन इन्जेक्सन) दिइन्छ । मुटुमा भल्बहरूमा पटकपटक आक्रमण नगरोस् भन्नका लागि नियमित वा लामो सयय पेनिसिलिनको सुई समेत लिनुपर्ने हुन सक्छ ।

    यदि राम्रोसँग टन्सिल तथा बाथज्वरोको उपचार भएमा बाथ मुटुरोग र मुटुरोगको जोखिमबाट शतप्रतिशत बच्न सकिन्छ ।

    बाथ मुटुरोगको उपचार

    बाथ मुटुरोगले मुटुको भल्भमा पुर्‍याउने क्षति स्थायी खालको हुन्छ । बाथ मुटुको रोग भइसकेको छ भने केही समय औषधि दिएर हेरिन्छ । कतिपय बाथ मुटुरोगमा औषधि खाएर पनि निको हुन नसक्ने भएकाले शल्यक्रिया गर्नुपर्ने हुनसक्छ । अवस्था गम्भीर बनेको बाथ मुटुरोग भएकाहरूको भल्ब क्षतिग्रस्त भइसकेको खण्डमा भल्बहरू बदल्न वा मर्मत गर्न शल्यक्रिया आवश्यक पर्छ ।

    त्यस्तै, रोगको गम्भीरता अनुसार मुटु फेल वा मुटुको चालमा देखिएका असामान्य लक्षणहरूको उपचार गर्न औषधि दिन सकिन्छ । साथै, रगत जम्ने जोखिम कम गर्न रगतलाई पातलो बनाउने औषधि पनि आवश्यक पर्न सक्छ ।

    टन्सिलाइटिसबाट कसरी बच्ने ?

    -टन्सिलाइटिसबाट बच्न मुखको सरसफाइमा ध्यान दिनु आवश्यक छ ।

    यसबाहेक निम्न कुरामा ध्यान दिएर पनि टन्सिलाइटिसबाट बच्न सकिन्छ ।

    -खानामार्फत घाँटीको संक्रमणबाट बच्न हातखुट्टा सफा राख्नुपर्छ ।

    -बालाबालिकालाई खाना, पानीको गिलास वा बोतल कसैसँग साटासाट गर्न हुँदैन भनेर सिकाउनुपर्छ ।

    -बच्चाहरूलाई ब्याक्टेरिया वा भाइरल संक्रमणहरूबाट आफूलाई बचाउने उपायको बारेमा सिकाउनुपर्छ ।

    -झोलिलो खानेकुरा प्रशस्त मात्रामा खानुपर्छ ।

    -धुलो धुवाँजन्य वातावरणबाट बच्ने बाहिर निस्कँदा मास्कको प्रयोग गर्नु उपयुक्त हुन्छ ।

    -अत्यधिक चिसो, तातो र चिल्लो खाना खानु हुँदैन ।

    -टन्सिलसम्बन्धी कुनै समस्या देखिएमा तुरुन्तै सम्बन्धित चिकित्सकको सल्लाह लिनुपर्छ ।