‘जन्डिस भयो, के गरौं ?’

    ‘जन्डिस भयो, के गरौं ?’

    जन्डिस आम समस्या हो । धेरैले सोध्ने गर्छन्, यस्तो अवस्थामा के गर्ने ? के-के खानेकुरा बार्नुपर्छ ? कस्तो औषधि खानुपर्छ ? इत्यादि ।

    हामी पहिले सरल हिसाबले जन्डिसलाई बुझौं । जन्डिस भनेको रगतमा बिलिरुबिनको मात्रा बढेको अवस्था हो । नियमित रुपमा रातो रक्तकोषिका टुक्रिएपछि बिलिरुबिन नामक विकार तत्व बन्छ । कलेजोबाट उत्पादन हुने बिलिरुबिन पाचन प्रक्रियाको क्रममा निस्कने गर्छ । यदि कुनै व्यक्तिमा यसको मात्रा बढ्नुको मतलब कलेजोको समस्या हुनसक्छ ।

    जडिन्स पनि यस्तै एक समस्या हो । यो कलेजो सुन्निएको वा कलेजोमा केही समस्या भएको अवस्थामा हुने गर्छ । किनभने यसबेला कलेजोले रगतबाट निर्मित बिलिरुबिनलाई राम्रोसँग विसर्जन गर्न सक्दैन । र, बिलिरुबिन शरीरभित्र नै थुप्रिन्छ र जन्डिस हुन्छ ।

    किन हुन्छ जन्डिस ?

    पहिलो त सबैले बुझ्नुपर्ने जन्डिस आफैंमा कुनै रोग होइन । यो रोगको लक्षण मात्र हो । मानिसहरुले नबुझेर जन्डिस लाग्यो भनेर आत्तिने र खाना बार्ने गर्छन्, जुन एकदम गलत हो । जन्डिस हुनुको अर्थ शरीरभित्र कुनै न कुनै अंगमा समस्या आएको छ है भन्ने संकेत मात्र हो ।

    विशेषगरी कलेजोमा केही खराबी वा असर भएमा जन्डिस देखापर्छ । हेपाटाइटिस ए र ई भाइरसको संक्रमणका कारणले कलेजो सुन्निने हुन्छ । यो दुई-तीन हप्तापछि वा एक महिनामा आफैं हराएर जान सक्छ ।

    यसबाहेक अरु थुप्रै कारण छन्, जसले जन्डिस देखिन सक्छ । जस्तो अत्यधिक रक्सीको सेवन । कलेजोको क्यान्सर । औषधिको साइड इफेक्ट । यस स्थितिलाई ‘मेडिकल जन्डिस’ भनिन्छ ।

    पित्तथैलीमा पत्थरी भएमा पनि जन्डिस देखिन सक्छ । पित्तथैलीबाट पित्त बाहिर जाने बाटोमा कुनै रोकावट भएमा, पित्तथैलीको नलीमा ढुंगा भएमा वा मासु पलाएमा, पित्तथैलीको नलीमा क्यान्सर भएमा, प्यान्क्रियाज ग्रन्थीमा क्यान्सर भएमा पनि जन्डिस देखापर्छ, जसलाई ‘सर्जिकल जन्डिस’ भनिन्छ । अर्थात् यो पित्त बग्ने नलीको बाटो साँघुरिएर एक्कासी जन्डिस बढ्ने गर्छ । यस्तो परिस्थितिमा एक्कासी बिलिरुबिन बढेर जाने, सहन नसक्ने गरी माथिल्लो पेट दुख्ने, जिउ चिलाउने हुन्छ ।

    रगतको कुनै रोग भएमा पनि जन्डिस हुन सक्छ । सामान्य भन्दा धेरै मात्रामा राता रक्तकोषहरु टुक्रिंदा (जुन हेमोलाइटिक एनेमिया भनिने रगत अत्यधिक टुक्रिएर रक्तअल्पता हुने रोगहरुमा हुन्छ) पनि जन्डिस हुन्छ ।

    जन्डिस लागेमा के गर्ने ?

    ज्वरो जस्तै यो पनि एउटा लक्षण मात्र हो । त्यसैले ज्वरो के कारणले आयो त ? रुघाखोकीले हो कि ? भाइरल संक्रमण हो कि ? टाइफाइट, क्षयरोग के कारणले ज्वरो आएको त्यो पनि पत्ता लगाउनुपर्छ भनेजस्तै जन्डिस पनि के कारणले भएको हो त ? त्यो कारण पहिला पत्ता लगाउनुपर्छ । कारण केही पनि छैन हेपाटाइटिज ए र ईको कारणले भएको हो भने डराउनुपर्दैन । यो आफैं कम भएर जान्छ । सामान्य कारणले देखिएको जन्डिस आराम गर्ने, स्वस्थ खाना खाने, धेरै चिल्लो नखाने, प्रशस्त झोल पदार्थ पिउने, औषधिको कारण भए त्यो औषधि नखाने गरेमा आफैं निको हुन्छ ।

    जन्डिसका लक्षण छन् भने रगतमा बिलिरुबिनको मात्रा उच्च छ कि छैन जाँच गर्नुपर्छ । सामान्यतया रगतमा बिलिरुबिनको मात्रा एक मिलिग्रामसम्म हुनुपर्छ । यो भन्दा बढी भएमा जन्डिस हुनसक्छ । तर कहिलकाहीं जन्डिसको लक्षण नहुँदा पनि बिलिरुबिन केही उच्च देखिन्छ । यस्तो अवस्थामा मानिसहरु आत्तिएर विभिन्न जाँच गराउँछन् । यस्तो अवस्थामा रगतमा एलएफटी (कलेजोको काम गराई मूल्यांकन गर्ने) जाँचमा रगतको बिलिरुबिनसँगै एएलटी-एएसटी (एसजीपीटी-एसजीओटी) गरिन्छ । यो सामान्य छ भने आत्तिनुपर्दैन ।

    कतिपय अवस्थामा जन्डिसका लक्षणहरु केही पनि हुँदैनन् तर पटकपटक रगत जाँच्दा पनि बिलिरुबिन २–३ मिलिग्राम र एएलटी-एएसटी (एसजिपिटी-एसजीओटी) पनि सामान्य हुन्छ । यस्तो अवस्था धेरै भेटिन्छ । यो जन्डिस वा कलेजोको रोग होइन । जन्मजात नै कसैकसैको बिलिरुबिन अरुको भन्दा हलुका माथि हुन्छ । यिनीहरुमा जन्डिसको लक्षण केही पनि हुँदैन, तर रगत जाँच्दा बिलिरुबिन हल्का बढेपनि एएलटी-एएसटी एसजीपीटी-एसजीओटी) सामान्य हुन्छ ।

    कम पानी पिउँदा, अनिद्रामा, बढी मासु खाँदा, शारीरिक काम बढी गर्दा बिलिरुबिन अरु बेलाको तुलनामा बढ्न सक्छ । तर एएलटी-एएसटी (एसजीपीटी-एसजीओटी) सधैं सामान्य हुन्छ । यसलाई ‘गिल्बर्ट सिन्ड्रोम’ भनिन्छ । अरु बेला जस्तो जन्डिस भन्दै उपचार गराउँदै हिंड्नुपर्दैन । यस्तो अवस्था आएमा पानी बढी खाने बानी बसाल्नु राम्रो हुन्छ ।

    के–के जाँच गरिन्छ ?

    एलएफटी (कलेजोको कार्य परीक्षण) जाँच गर्ने : एलएफटी (कलेजोको कार्य परीक्षण) कलेजोमा के कति खराबी छ कि छैन ? कलेजो बिग्रेको छ कि छैन, काम राम्ररी भइरहेको छ कि छैन थाहा हुन्छ ।

    पेटको भिडियो एक्स–रे गर्ने : यसमा कलेजो, पित्तथैली, मिर्गौला, पिसाबथैली र अन्य अंगहरुको स्वास्थ्य अवस्था थाहा पाउन सकिन्छ ।

    रगतमा (सीबीसी) जाँच : यसले संक्रमण लगायत अन्य केही खराबी छ कि छैन, शरीरमा अक्सिजन पुर्‍याइरहेको छ कि छैन थाहा हुन्छ ।